मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

झारफुकले निम्त्याएको हत्या : परिवारदेखि मलामी जानेसम्म प्रहरी हिरासतमा

आइतबार, १२ चैत २०७९, १८ : ५७
आइतबार, १२ चैत २०७९

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका– १० मा झारफुकले निम्त्याएको हत्याको घटनामा मृत्तकको परिवार नै प्रहरी हिरासतमा रहेका छन् । सैनामैनाको झिमझिमे बस्ने १४ वर्षीया सीता ज्ञवालीको उपचार गर्ने बहानामा झारफुक गर्दा मृत्यु भएको घटनमा मृतकका आमाबुबादेखि हजुरआमासम्म अहिले प्रहरी हिरासत रहेका छन् । 

स्थानीय ताराप्रसाद ज्ञवाली र लीला ज्ञवालीकी कान्छी छोरी सीता बिरामी भएपछि माघ २० गते उपचार गर्नेको लागि स्थानीय माता भनिने संज्ञा रेग्मीकोमा लगिएको थियो । रेग्मीले झारफुक गर्ने क्रममा मृत्यु हुँदा अहिले मातासहित १८ जनालाई प्रहरीले हिरासतमा राखेको छ । अनुसन्धानको लागि परिवारलाई हिरासतमा राख्दा अहिले मृतकको घर सुनसान रहेको छ । मृतकका ५ जना परिवारमध्ये उनको भाइलाई दिदीले गुल्मीमा लगेर राखेकी छन् । 

सीताको मावलीतिरकी हजुरआमा कमला पोखरेल पनि नातिनीको मृत्यु भएको थाहा पाएपछि घटना भएको माता कहाँ पुगेकी थिइन् । उनलाई समेत प्रहरीले हिरासतमा राखेको छ । हजुरआमालाई मोटरसाइकलमा राखेर घटनास्थलसम्म हेर्नको लागि पुराइदिने स्थानीय विष्णु पोखरेल पनि आज २१ दिनसम्म प्रहरी हिरासतमा रहेका छन्। 

विष्णुका बुवा प्रकाश पोखरले आफ्ना छोराले मृतकका आफन्तले गरेको आग्रहमा घटनास्थलसम्म बुढी आमा पुराइदिँदा फसेको गुनासो गरे । उनले भने, ‘तपाईंले हजुरआमालाई ल्याइदिनुपर्‍यो भन्दै फोन गरेपछि पुर्‍याइदिएका हौँ। त्यही बाहानमा हिरासत राख्ने काम भएको छ।’ विष्णु बुटवल बहुमुखी क्याम्पस बीएमा अध्ययन गर्दै थिए भने शिक्षा सेवा आयोगको तयारी पनि गरिरहेका थिए। 

प्रहरीले सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएकोले अब कानुनअनुसार अदालतमा मुद्दा दर्ता गराएर  थुनछेक लागि बहस गराउने तयारी रहेको इलाका प्रहरी कार्यालय सालझन्डीले जनाएको छ ।

माताले बिरामीलाई कुटपिट गर्दा कोठामा रहेका, मृत्यु भएपछि बाहिर हेर्न पुगेका तथा मलामी गएकासमेत गरी १८ जनालाई प्रहरीले पटक–पटक म्याद थप गर्दे हिरासतमा राखेको छ । सीताको मृत्यु भएपछि मामा ईश्वरी प्रसाद पोखरेलसहितले शवलाई राति नै कपिलवस्तुको लक्ष्मण घाटमा लगेर सतगत गरेका थिए । प्रहरीले मलामी गएका ५ जनालाई समेत अनुसन्धान गर्नको लागि अदालतको आदेश लिएर हिरासतमा राखेको छ  । 

सुरुमा कुटपिट गर्ने मातालाई मात्रै पक्राउ गरेपछि त्यसपछि अदालतबाट पक्राउ आदेश लिएर अनुसन्धानको लागि अन्यलाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सालझन्डीका मुद्दा फाँटका इन्चार्ज सई मधु मरासिनीले बताए ।

माताले बोक्सी लागेको भन्दै कुटपिट गर्दा सीताको मृत्यु भएको भिडियो सार्वजनिक भएकी थियो । उक्त भिडियो बाहिर आएपछि प्रहरीले घटनाबारे छानबिन सुरु गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप