शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

म्यानमारका सेना प्रमुखले भने, ‘हाम्रा विरोधी आतङ्कवादी हुन्, निर्णायक कारबाही गर्नेछौँ’

सोमबार, १३ चैत २०७९, १४ : ०३
सोमबार, १३ चैत २०७९

म्यानमारको सैन्य सरकारका प्रमुख जनरल मीन आङ लाइङले आफ्नो शक्तिविरुद्ध लडिरहेका समूहहरू आतङ्कवादी भएको बताएका छन् । उनले यस्ता समूह विरुद्ध निर्णायक कारबाही गरिने बताए ।

सेनाको वार्षिक परेडमा मीन आङ लाइङले भने, ‘जो देश मानवाधिकारको मुद्दा र २०२१ मा भएको सैन्य 'कू'का लागि हाम्रो आलोचना गरिरहेका छन् ती सबै आतंकवादको समर्थक हुन् ।’ यस परेडमा सहभागी थुप्रै सैन्य एकाइहरूमा नरसंहारको आरोप पनि छ ।

यो परेड सेना स्थापनाको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो । दोस्रो विश्वयुद्धको बेला जापानसँग लड्न सन् १९४५ मा म्यानमार सेना गठन भएको थियो ।

आङ लाइङ २०२१ मा सत्तामा आएका थिए । सेना सत्तामा आएदेखि मुलुकमा गृहयुद्धको अवस्था छ । यो सङ्घर्षमा अहिलेसम्म हजारौँले ज्यान गुमाएका छन् भने लाखौं घरबारविहीन भएका छन् ।

जनरल मीन आङ लाइङले भने, ‘शासनको विरोध गर्नेहरू विरुद्ध म्यानमारको सेनाले जस्तो सुकै अवस्थामा पनि युद्ध जारी राख्नेछ ।’

लाइङले म्यानमारमा चुनाव गराउने कुरा पनि गरे । लाइङले भने, ‘निर्वाचन हुनेछ र विजयी दललाई सत्ता हस्तान्तरण गरिने छ ।’

तर, म्यानमारमा जारी द्वन्द्वलाई ध्यानमा राख्दै उक्त देशमा कहिले चुनाव हुन्छ भन्ने स्पष्ट छैन ।

हालै अमेरिकाले नरसंहारको आरोपमा म्यानमारको सेनामाथि फेरि प्रतिबन्ध लगाएको छ । यद्यपि म्यानमारले रुस र चीनजस्ता देशसँग मिलेर काम गरिरहेको छ ।

सैनिक परेडमा रुस र चीनका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो । योसँगै रुस र चीनबाट ल्याइएको हतियार पनि परेडमा प्रदर्शन गरिएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप