शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले मिटरब्याजी पीडितको समस्या छिटो सामाधान गर्नुपर्छ : नैनसिंह महर

शनिबार, १८ चैत २०७९, ११ : १३
शनिबार, १८ चैत २०७९

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत मिटरब्याजी पीडितका समस्या सम्बोधनमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। स्कुल अफ डेमोक्रसीद्वारा बानेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेरै काठमाडौंमा आई न्यायका लागि छटपटाउनु सुखद नभएको बताए ।

‘अहिले मधेश प्रदेशका मिटरब्याजी पीडितको पीडामात्रै देखिएको छ। तर, भित्रभित्रै देशभर नै मिटरब्याजीहरू सक्रिय छन् । सोझासाझा आर्थिक अवस्था कमजोर भएका जनतालाई खाली पानामा औठाछाप गर्न लगाइ मन लाग्दी रकम राख्ने र ब्याज लगाउने टाठाबाठाहरू सक्रिय छन्। त्यसैले सरकारले भविश्यमा जनता नठगिने गरि मिटरब्याजविरुद्ध आवश्यक कडा कानुन ल्याउनु पर्छ,’ महरले भने।

सरकारले मिटरब्याजका नाममा तराई–मधेशका जिल्लामा व्यापक रूपमा भइरहेको ठगी नियन्त्रण गर्न मुलुकी अपराधसंहिता कानुन संशोधन गर्ने निर्णय गरिसकेको भए पनि यसको प्रभावकारी कार्यान्वयन जरुरी छ । मिटरब्याज पीडितहरूले दोषीलाई कारबाहीसँगै तमसुक व्यवस्था खारेज हुनुपर्ने, साहुकारको अवैध ठहरिएको सम्पत्ति जसको नामबाट आएको हो उसैको नाममा फिर्ता हुने व्यवस्था गर्नुपर्ने, बैंकबाट सरल र सहज कर्जाको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेको र ती माग जायज रहेको महरको भनाइ छ।

‘अहिले एउटा शक्तिशाली आयोग गठन र तमसुक खारेज लगायतका उनीहरूका मागप्रति सरकार संवेदनशील हुनुपर्छ,’ महरले भने। पीडितहरूले पनि यस्ता लेनदेनका कामगर्दा कानुनसम्मत तरिकाले सरकारको उपस्थितिमा गर्नुपर्ने महरको धारणा छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप