सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘संसद्को नियमावली पक्ष विपक्ष भएर पास गर्नुहुँदैन’

एमाले संसद्मा सशक्त ढङ्गले प्रस्तुत हुन्छ : पदम गिरीसँगको अन्तर्वार्ता
शनिबार, १८ चैत २०७९

नेकपा एमालेका युवा नेता एवं सांसद पदम गिरीले स्वास्थ्य मन्त्रालयमा ४२ दिन काम गरेर बाहिरिएपछि पार्टीमा अर्को सशक्त जिम्मेवारी पाएका छन् । एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिका पाएका उनी अहिले सो पदको अभ्यासमा लागि परेका छन् ।

निर्वाचनपछि झन्डै डेढ महिना सत्तापक्ष दल बनेको एमाले अहिले प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको छ । प्रस्तुत छ एमालेले अव संसद्मा कसरी आफूलाई प्रस्तुत गर्छ, एमालेको अबको राजनीति कसरी अगाडि बढ्छ लगायतका विषयमा एमाले प्रमुख सचेतक पदम गिरीसँग रातोपाटीले गरेको यो कुराकानी : 

मानिसहरूले पछिल्लो समय टिप्पणी गर्ने गरेका छन्, पदम गिरीले दुई पटक सांसदको टिकट पाए, त्यसपछि मन्त्री बने, मन्त्री खुस्किए लगतै प्रमुख सचेतक बने । यो पार्टी अध्यक्षसँग राजनीतिक सम्बन्ध मात्रै भएर सम्भव भयो कि पारिवारिक सम्बन्ध पनि छ ? 

विद्यार्थी राजनीतिदेखि आजसम्मको मेरो राजनीतिकको जुन इतिहास छ, त्यसमा मैले पार्टी र राजनीतिलाई इमानदारिताका साथ, निष्ठापूर्वक देश र जनताका लागि र पार्टीको आन्दोलनका लागि केन्द्रबिन्दूमा राखेर मैले काम गर्दै आएको छु । व्यक्तिगत स्वार्थलाई मैले कहिले पनि प्राथमिकतामा राखिनँ । त्यसकारण पार्टी नेतृत्वले पनि मलाई विश्वास गरेको हुनुपर्छ । पार्टीले टिकट दिएपछि जनताले पनि विश्वास गर्नुभएकोले म पार्टीको आन्दोलनप्रति पनि सजग छु, जिम्मेवारी बोधका साथ काममा जुटिराखेको छु । अर्कोतर्फ जनताप्रति उत्तरदायी भएर, जवाफदेही भएर उहाँहरूका समस्यासँग जोडिएर पनि काम गरिरहेको छु । त्यसले गर्दा नै पार्टीले मलाई विश्वास गरेको हो जस्तो लाग्छ । त्यो भन्दा थप अन्यथा केही पनि छैन । 

अहिले एमालेमा प्रश्नहरू उठिराख्ने गरेको छ कि आन्दोलनमा निरन्तर रूपमा लागिरहेको, पार्टीको नीति विचार, सिद्धान्त बोकेर हिँड्ने राजनीतिक इमानदारिताका साथ काम गर्नेले चाहिँ त्यति अवसर पाउँदैनन्, तर पार्टी अध्यक्षसँग निकट हुनेहरूले मात्र बढी असर पाउँछन् । यसमा तपाई अपवाद हुनुभयो भन्न खोज्नुभएको हो ? 

नेकपा एमालेमा परिस्थिति अनुसार अवसर पाउन कसैलाई छिटो हुन सक्छ कसैलाई ढिलो हुनसक्छ । तर एमालेमा वास्तविक कार्यकर्ताको योग्यताको, क्षमताको, योगदानको मूल्याङ्कन हुने नै परिपाटी हाम्रो पार्टीभित्र स्थापित छ । कसैले बारम्बार अवसर पाइरहेका व्यक्तिहरूले पनि फेरी अवसर नपाउँदा खेरी मैले केही पनि पाइन, फलानोले पायो भनेर गुनासो गर्ने, बाहिर विचारहरू छताछुल्ल पार्ने, पोख्ने गरेको पनि भेटिन्छ । 

तर यसो सर्सती हेर्ने हो भने एमालेभित्र जिम्मेवारी नपाएर, जिम्मेवारीबाट विमुख भएर बस्नुपर्ने अवस्था छैन । केही व्यक्तिहरूको हकमा विभिन्न परिस्थितिका कारण केही अगाडि पछाडि हुन सक्छ । धैर्यताका साथ आन्दोलनमा लाग्नुपर्‍यो, जुट्नुपर्‍यो कार्यकर्ता पंक्तिलाई विश्वास नगर्ने भन्ने कुरा हुँदैन । कार्यकर्ताको योगदानलाई कदर गर्ने प्लेटफर्म एमालेमा छ जस्तो मलाई लाग्छ । 

padam giri

तपाईं छोटो समय स्वास्थ्यमन्त्री पनि रहनुभयो । कस्तो भयो अनुभव ? 

नेपालमा स्वास्थ्य क्षेत्र धेरै नै भद्रगोल छ, अस्तव्यस्त छ । निकै ठूला डरलाग्दा चुनौतीहरू छन् । आम निमुखा गरिब जनताहरूमा स्वास्थ्य सेवा छैन । दुर दराजमा स्वास्थ्य सेवा पुग्न सकेको छैन । काठमाडौँमा भएका अस्पतालहरूमा पनि आईसीयूको व्यवस्था छैन, ईसीयू छैन, एनआईसीयू छैन । आवश्यक मात्रामा ल्याबहरू छैनन् । आवश्यक जनशक्ति छैन । अस्पताल सहरमा केन्द्रित भएको छ, गाउँमा छैन । यस्ता थुप्रै समस्याहरू छन् । 

स्वास्थ्य बीमाका कार्यक्रमहरु पनि एक किसिमले अलपत्र अवस्थामा रहेको छ । अहिले राज्यले स्वास्थ्य बीमाको भुक्तानी दिन नसक्दा खेरी अस्पतालहरूले बिमितहरुलाई उपचार गर्न सक्ने अवस्था छैन । अर्कोतिर खरिद प्रक्रियामा पनि अपारदर्शिता छ भन्ने आम जनगुनासाहरु छन् । त्यसकारण स्वास्थ्य क्षेत्रमा धेरै ठूला समस्या र चुनौतीहरू रहेका छन् । स्वास्थ्य क्षेत्रमा यी कुनै पनि समस्याहरूलाई कठोर निर्णय गरेर त्यसलाई सुधार गर्ने आँट नगर्ने हो भने झन् अझै बिग्रँदो स्थितितिर जान्छ । ४२ दिनको अवधिमा मैले कहाँ कहाँ कस्तो खालको समस्या छन् भनेर गम्भीर ढङ्गले अध्ययन गरेँ । सुधारको प्रक्रियाहरूको पनि सुरुवात गरेको थिएँ । सुधार गर्ने खाका तयार भइसकेको थियो । जब मैले गियर बदलेर हिँड्ने बेला भएको थियो त्यही बेलामा म मन्त्रीबाट बाहिरिएर हिड्नुपर्‍यो । 

अब नयाँ जिम्मेवारीको बारेमा कुरा गरौँ । प्रमुख सचेतक भन्ने कस्तो जिम्मेवारी रहेछ । तपाईंका लागि पनि नयाँ होला नि यो त ? 

अवश्य पनि नयाँ हो । एमाले जस्तो प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक भइसकेपछि संसद्भित्रको लागि त यो निकै नै महत्त्वपूर्ण जिम्मेवारी भयो । प्रत्येक सांसदहरूसँग र संसदीय प्रक्रियाहरूसँग यो विषय जोडिने र धेरै नै समय दिएर असाध्यै मेहनतपूर्वक जिम्मेवारीका साथ काम गर्नुपर्ने भूमिका हो । त्यसकारणले गर्दा यसलाई मैले निकै नै गह्रुङ्गो जिम्मेवारीको रूपमा महसुस गरेको छु । त्यही हिसाबले कसरी संसदीय भूमिकालाई प्रभावकारी बनाउन सकिन्छ ? एमाले संसदीय दलले सदनभित्र कस्ता भूमिका खेल्नुपर्छ, कस्ता मुद्दाहरू उठाउनुपर्छ, इत्यादि विषयमा गहिरो ढङ्गले काम गरिरहेका छौँ । 

एमाले १० सिटको कारणले पहिलो दल हुन नसकेको मात्र हो । यति ठुलो दल भइकन पनि संसद्मा अलि प्रभावकारी भूमिका भएन भनेर कुरा उठाउने बेला भयो कि अलि हतारो हो जस्तो लाग्छ ? 

अहिले नै अलि हतारो हो । अहिले त्यो कुरा उठाउने बेला भइसकेको छैन । एमालेले सदनभित्र जनताका मुद्दाहरू सशक्त ढङ्गले आगो पर्ने गरी उठाउँछ । त्यसमा कुनै शङ्का नै नगरे हुन्छ । जनताका मुद्दाहरू अवश्य पनि उठाउँछौँ । 

padam giri 3

संसद्मा एमाले अहिले छ कि छैन जस्तो अवस्था छ हैन ? 

निश्चित रूपमा हो । सरकारले संसद्लाई बिजनेस दिन सकिरहेको छैन । आजसम्म संसद्को नियमावली पास भएको छैन । संसद्मा समितिहरू बनेका छैनन् । यस्तो अवस्थामा सदन छ कि छैन भनेको अवस्थामा छ यो कुरा साँचो हो । त्यसकारणले हामीले संसद्का नियमावलीहरू छिटो भन्दा छिटो पारित हुनुपर्‍यो, संसदीय समितिहरू छिटो भन्दा छिटो गठन हुनुपर्‍यो । आएका जति पनि विधेयकहरू छन्, समितिमा लगेर छलफल गर्न सुरु गर्नुपर्‍यो । त्यो भयो भने पो संसद प्रभावकारी बन्न सक्छ । 

संसदीय समितिहरू बन्न सकेका छैनन् । यहाँसम्म कि सभामुखको स्वविवेकी अधिकारहरू जे जे राखिएका छन्, त्यसलाई कटौती गर्ने हिसाबले संशोधन प्रस्तावहरू आएका छन् । सरकार त्यसलाई पास गर्ने तयारीमा छ भनेपछि यहीँनिर एमालेको भूमिका भएन भन्ने होला नि त ? 

संसद्को नियमावली पक्ष विपक्ष भएर पास गर्नुहुँदैन, त्यसले गलत नजिर बस्छ । त्यसमा हामी अलि बढी जिम्मेवार भएका छौँ । किनभने यो सर्वसम्मतिका साथ नै पास गरेर जानुपर्छ । संसद् चलाउनका लागि सबै दलहरूलाई सर्वसम्मतिमा लिएर चलाउनुपर्ने हुन्छ । त्यसका लागि हामी गम्भीरतापूर्वक सबै दलका सचेतकहरू छलफलमा बसेका छौँ । औपचारिक अनौपचारिक धेरै छलफल चलेका छन् । अब हामी सहमतिको नजिक पुग्न लागेका छौँ । हामी यो बारेमा अन्तिम बिन्दूमा पुगिसकेका छौँ छिटै सहमतिमा पुग्नेछौँ । नियमावली पारित भएर गएपछि संसद्को गति अगाडि बढ्छ । 

अर्को कुरा अहिलेको सरकार जनताको हित हुने हिसाबले विधेयक निर्माण गर्ने, जनताको पक्षमा काम गर्ने भन्दा पनि अरू अरूतिर सरकारको ध्यान केन्द्रित भएको छ । अरूको हितको लागि काम गर्दैछ । त्यसकारण सदनमा जस्ता विधेयकहरू पेस हुनुपर्थ्यो त्यस्ता विधेयकहरू आउन सकेको परिस्थिति छैन । सरकारले भोलिका दिनमा यही ढङ्गले जान थाल्यो भने यी विषयहरूलाई सदनमा सशक्त ढङ्गले उठाउनुपर्ने हुन्छ । सरकार ठिकै ढङ्गले प्रस्तुत भयो, रचनात्मक ढङ्गले प्रस्तुत भयो भने हाम्रो साथ र सहयोग रहन्छ । रचनात्मक रूपमा हामी प्रतिपक्षको भूमिकामा रहन्छौँ ।

बाँकी भिडियोमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया