शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
साहित्य वार्ता

‘मैले राजाको देखासेखी गर्ने कुरा आएन’

जसका लेखरचना पुस्तकमा समावेश भए, ती २ सयलाई नइ कीर्ति रत्न दिइएको होः नरेन्द्रराज प्रसाईं
शनिबार, २५ चैत २०७९, १० : ४७
शनिबार, २५ चैत २०७९

नेपाली साहित्यको क्षेत्रमा काम गर्ने धेरै संस्था छ । त्यस मध्येको एक हो नइ प्रकाशन । साहित्यकारद्वय नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसाईंको नामको पहिलो अक्षरलाई जोडेर २०५२ माघ १५ गते यो संस्था विधिवत् स्थापना भएको देखिन्छ । करिब २८ वर्षदेखि यस संस्थाले नेपाली साहित्यकार र साहित्यका क्षेत्रमा प्रशंसा र आलोचनाबीच निरन्तर सक्रिय छ । 

यही क्रममा नइ प्रकाशनले नेपाली साहित्यको संरक्षण र संवर्द्धनमा समर्पित २ सय जना स्रष्टाहरूलाई नइ कीर्ति रत्न प्रदान गर्ने घोषणा गरेको छ । यो रत्न पाउनेमा प्राडा वासुदेव त्रिपाठी, डा. जगमान गुरुङ, अशेष मल्ल, भद्रकुमारी घलेदेखि लिएर देशविदेशका अन्य साहित्यकार छन् । यति धेरैलाई कीर्ति रत्न किन दिनु पर्‍यो लगायत विविध सवालमा सो संस्थाका सदस्य सचिव नरेन्द्रराज प्रसाईंसँग शिखर मोहनले गरेको सङ्क्षिप्त कुराकानी:  

–नेपाली साहित्य क्षेत्रमा योगदान दिने करिब २ सय जना कवि, लेखकहरूलाई पदक दिँदै हुनुहुन्छ, खासमा यो कस्तो पदक हो ?

यो सत्यमोहन जोशीको १०४औँ जन्मजयन्तीका अवसरमा प्रदान गर्न लागिएको हो । 

आगामी वैशाख ३० गते काठमाडौँ, टङ्गालको अम्रपाली सभाकक्षमा दिउँसो २ बजे ‘नइ कीर्ति रत्न’ अलङ्कार समर्पण गरिने कार्यक्रम छ । सोही समारोहमा २ सय जना स्रष्टाद्वारा लिखित ‘नइ कीर्ति लय’ र ‘नइ प्रकाशनः कीर्ति र आकृति’ नामक दुईवटा ग्रन्थको उपस्थित सम्पूर्ण लेखक-कविहरूबाटै सामूहिक लोकार्पण गर्ने कार्यक्रम पनि छ । 

–छनोटका आधार के के थिए ?

नइ प्रकाशनको २५औँ वर्षको अवसर पारेर ‘नइ कीर्ति’ र ‘नइ प्रकाशन कीर्ति र आकृति’ भनेर दुईवटा पुस्तक प्रकाशन भएका छन् । ती कृतिका लागि नइ प्रकाशनको फेसबुकबाट लेख रचनाका लागि तीन पटक सूचना प्रकाशित गरेर अनुरोध गरेका थियौँ । 

त्यस अनुरोधका आधारमा नइ प्रकाशनलाई नजिकबाट चिन्ने अथवा परबाट बुझ्नेहरूले कसरी चिन्नुभएको छ ? ती लेखहरू पठाउनुस् भनेर तीन पटक आह्वान गरेका थियौँ । त्यस क्रममा थुप्रै लेखहरू आए । तीमध्ये सकेसम्म सम्पादन गर्नै नपर्ने खालका लेख छान्यौँ । लेखहरू १३९ वटा अनि कविता ६१ वटा छनोटमा परे । 

रजत महोत्सवमा पहिला सत्यमोहन जोशी आयोजक हुनुहुन्थ्यो । उहाँ बितेपछि हामीले के के काम गरेछौँ भनेर हामीले एउटा निर्णयात्मक ग्रन्थ निकाल्न खोजेका हौँ । 

त्यसको छनोट कमिटीमा डा. हरिप्रसाद पोखरेललाई संयोजक राखेका छौँ । उहाँले नै सोधखोज गर्नुभयो । उहाँले नै सम्मान गर्न पाए हुने थियो भन्नुभयो । अनि हामीले नइ कीर्ति राख्ने रत्नहरूको नाम सर्वेक्षण गर्‍यौँ । यो सर्वेक्षण गर्न पनि हामीलाई २, ३ महिना लाग्यो । सर्वेक्षणबाट नइ कीर्ति रत्न नै सर्वेक्षणले पास गर्‍यो । अनि हामीले २ सय जना कवि लेखकलाई नइ कीर्ति रत्न समर्पण गर्ने निर्णय गर्‍यौँ ।  

–यो पदक पाउनेहरूलाई पनि जानकारी दिएर प्रदान गर्नु भएको हो कि ? 

मैले कसैलाई सोधेको छैन । हामीले आह्वान गर्दा लेख रचना पठाउनु हुने सबैलाई प्रदान गरिएको हो । जसका लेखरचना पुस्तकमा समावेश भए उनीहरूलाई मात्र दिने हो । अरू बाहिरकालाई दिइएको छैन । यो अलङ्कार मात्र हो, यसमा नगद राशि छैन । 

–नेपाली साहित्यमै समर्पित प्राडा रामप्रसाद ज्ञवालीले तपाईंहरूले यो अलङ्कार घोषणा गरेकै भोलिपल्ट निकै लामो स्टाटस लेख्नुभएको थियो, यहाँले हेर्नुभयो ?  

यस बारेमा मलाई केही थाहा छैन । विरोध गर्नुपर्ने के कारण छ र ? आआफ्नो तरिकाले कार्यक्रम गर्ने हो । नराम्रो काम गर्दा पो विरोध गर्नुपर्छ त ।  राम्रो कामका लागि विरोधको आवश्यकता नै छैन । 

नराम्रो कुरा जसले गर्छ, त्यसको खुलेर विरोध गर्नु आवश्यक छ । मैले उहाँले लेखेको पढेको त छैन तर उहाँले विरोध गर्नुहुन्छ जस्तो लाग्दैन । 

–ज्ञवालीले राजामहाराजाले रैतीलाई दिए जसरी स्रष्टालाई लाइन लगाएर पुरस्कार दिइँदा वास्तविक स्रष्टाको सम्मान नहुने भनेर लेख्नु भएको छ नि ? 

एउटा कुरा के बुझ्नु पर्‍यो भने हामी हरेक वर्ष ३० वटा पुरस्कार समर्पण गर्छौं । २५ देखि ३० लाख रुपियाँ त्यसमा नगद राशि हुन्छ । ती ३० जनालाई हामीले पुरस्कार दिँदा कुर्सी कुर्सीमा लगेर दिने कुरा पनि भएन । उहाँहरूका घरघरमा लगेर दिने कुरा भएन । त्यो लाइन लागेर र नलाइन नलागी भन्ने कुरा के हो, मलाई थाहा भएन । 

असक्त, शारीरिक रूपमा नसक्नेहरूलाई मञ्चमा आउनै पर्छ भनेर बोलाउँदै बोलाउँदैनौँ, घरमै पुर्‍याइदिन्छौँ । उदाहरणका लागि प्रेमविनोद नन्दनचाहिँ केही वर्षदेखि शिथिल हुनुहुन्थ्यो । उहाँले पोहोर एक लाख रुपियाँ राशिको पहिलो चोटि पुरस्कार पाउनु भयो । हामीले घोषणा गरेपछि उहाँले ‘म त आउन सक्दिनँ भाइ, त्यत्रो ठूलो पुरस्कार दिनुभएको छ, मलाई आउन मन छ, तर भुइँमा खुट्टा टेक्न पनि सकेको छैन भन्नुभयो ।  त्यसैले उहाँलाई घरमै पुरस्कार रकम पठाइ दियौँ ।

त्यसैले आवश्यकताअनुसार हुन्छ लाइन बस्ने, नबस्ने कुरा । अनि एक जनालाई मात्र पुरस्कार दिँदा पनि त मञ्चमा जानुपर्‍यो, शिर निहुराएर माला थाप्नुपर्‍यो । अनि उनलाई उभ्याएको भन्न मिल्छ ? 

त्यसैले ३० जनालाई लाइन लगाउने, २ सय जनालाई लाइन लगाउने पनि त्यही हो कुरा हो । 

त्यसैले सक्नेहरूले पुरस्कार पाउँदा परिस्थितिअनुसार उभिएर या लाइन लागेरै लिनुपर्छ । तर राजाले के काम गरेका थिए, रैतीले के गर्छन् भन्नेतर्फ मैले जानुभएन । मेरो संस्थाले के काम गर्नुपर्छ, कुन आवश्यक छ भन्ने कुरा बुझ्नुपर्छ । मैले राजाको देखासेखी गर्ने कुरा पनि आएन, मेरा समर्थक र विरोधीका सल्लाह हेर्नुपर्छ भन्ने कुरा पनि आएन । संस्थाले त नीतिमा हिँड्ने हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप