शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित

शुक्रबार, २२ जेठ २०८३, १८ : ३८
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • उत्तर-पूर्वी जापानको फुकुसिमा सहरस्थित एक इलेक्ट्रोनिक्स कारखानाभित्र पसेर चार जनालाई आक्रमण गरेको भालु झ्याल आफैँ खोलेर रातको समयमा भागेको छ ।
  • भालुले झ्यालको चुक्कुल खोलेर पानी पिएको र पासोमा नफसी चारा मात्र खाएको देखिएको छ ।
  • भालुलाई नियन्त्रणमा लिने प्रयास असफल भएपछि बिहीबार ड्रोनमार्फत खोजी अभियान सुरु गरिएको छ ।

टोकियो । उत्तर–पूर्वी जापानको फुकुसिमा सहरस्थित एक इलेक्ट्रोनिक्स कारखानाभित्र पसेर चार जनालाई आक्रमण गरेको भालु झ्याल आफैँ खोलेर रातको समयमा भागेको स्थानीय अधिकारीहरूले बताएका छन् । 

अधिकारीहरूका अनुसार भालुले झ्यालको चुक्कुल खोलेर झ्याल धकेलेको देखिएको छ । भाग्नुअघि उक्त भालुले आफ्नो अगाडिका खुट्टाको प्रयोग गरेर धारा खोलेर पानी पिएको दृश्य पनि देखिएको थियो ।

फुकुसिमाका मेयर युकी बाबा ले भालुलाई अत्यन्त बुद्धिमान भन्दै त्यसको व्यवहारले अधिकारीहरूलाई समेत आश्चर्यचकित बनाएको बताएका छन् । भालु मंगलबार राति फुकुसिमाको एक इस्पात कारखानामा प्रवेश गरी चार जनामाथि आक्रमण गरेपछि नजिकैको इलेक्ट्रोनिक्स कारखानातर्फ गएको थियो । त्यसपछि अधिकारीहरूले त्यहाँ नियन्त्रणमा लिन प्रयास गरेका थिए ।

भालुलाई बेहोस बनाउन ट्रान्क्विलाइजर डार्ट प्रयोग गरिए पनि प्रयास असफल भएको थियो । त्यस्तै फलफूल र मह राखेर बनाइएका पासोहरू पनि प्रभावकारी हुन सकेनन् । जापानी सञ्चारमाध्यमका अनुसार भालुले पासोमा नफसी चारा मात्र खाइदिएको थियो ।

बुधबार राति अधिकारीहरूले भालुलाई पासोतर्फ आकर्षित गर्न कारखानाका बत्तीसमेत बन्द गरेका थिए । तर भालु पासोमा फस्ला भन्दा झ्याल खोलेर भाग्यो ।

भालुमाथि गोली चलाउने अनुमति भए पनि कारखानाभित्र ज्वलनशील पदार्थ रहेकाले प्रहरीले त्यसो नगरेको जनाएको छ । भालु फरार भएपछि बिहीबार फुकुसिमा प्रशासनले ड्रोनमार्फत खोजी अभियान सुरु गरेको छ । 

सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्यालयहरूले एक दिनका लागि अनलाइन कक्षा सञ्चालन गरेका छन् । जापानमा पछिल्ला वर्षहरूमा भालुको आक्रमणका घटना बढ्दै गएका छन् । गत वर्ष मात्र यस्ता घटनामा सात जनाको मृत्यु भएको थियो, जुन हालसम्मकै उच्च हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप