शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !

शुक्रबार, २२ जेठ २०८३, १८ : ४४
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशमशेर राणाबीच नयाँ राजनीतिक शक्ति निर्माण गर्ने सहमति भएको छ।
  • नयाँ पार्टीले संवैधानिक राजसंस्थाको पुनर्स्थापना र वैदिक सनातन हिन्दु अधिराज्यलाई मुख्य आधार बनाउनेछ, जसमा ६० प्रतिशत युवा तथा महिलाको सहभागिता सुनिश्चित गरिनेछ।
  • यस नयाँ दलको घोषणा मलमास सकिएपछि गरिनेछ, जसले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपालाई दबाबमा पार्ने विश्लेषण गरिएको छ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशमशेर राणा र राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँबिच नयाँ राजनीतिक शक्ति निर्माण गर्ने औपचारिक सहमति भएको छ।

वृहत् राष्ट्रवादी एकता कायम गरी देशलाई नयाँ दिशा दिने उद्देश्यका साथ दुई पक्षबिच शुक्रबार ११ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको राणा पक्षका युवा नेता रञ्जन कार्कीले रातोपाटीलाई जानकारी दिए । 

‘संवैधानिक राजसंस्थाको पुनर्स्थापना र वैदिक सनातन हिन्दु अधिराज्य’ लाई मुख्य आधार बनाएर बन्न लागेको नयाँ पार्टी  युवा पुस्ता (जेनजी) र राष्ट्रवादी तप्कालाई समेट्ने लक्ष्य राखेको कार्कीको भनाइ छ ।

११ बुँदे सहमति पत्रमा नेपालको भू–अखण्डता, सांस्कृतिक मौलिकता र धार्मिक स्वतन्त्रताको संरक्षणलाई केन्द्रमा राखिएको छ । 

12

सम्झौताको पहिलो बुँदामै किराँत र बौद्धसहितको वैदिक सनातन हिन्दु अधिराज्य’ निर्माण गर्ने उल्लेख छ । त्यस्तै, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई मार्गदर्शक दर्शन मान्ने र राष्ट्रिय स्वाभिमान सहितको सुधारमुखी सङ्घीयताको वकालत गर्ने उल्लेख छ ।

आर्थिक एजेन्डाका रूपमा लघुवित्त, सहकारी, बैंक र मिटरब्याजीका कारण समस्यामा परेका र कालोसूचीमा रहेका भूमिहीन सुकुम्बासी नागरिकको समस्या समाधान गर्ने प्रतिबद्धता जनाइएको छ । 

साथै, ‘एक पटकको नेपाली सधैँको नेपाली’ हुने व्यवस्था गर्दै दोहोरो नागरिकताको प्रावधानका लागि पहल गर्ने र असंलग्न परराष्ट्र नीति अङ्गीकार गर्ने सहमति भएको छ ।

 नयाँ बन्ने दलमा ६० प्रतिशत युवा तथा महिलाको सहभागिता सुनिश्चित गरिने दाबी गरिएको छ।

मलमासले रोकियो घोषणा

नयाँ पार्टी गठनको गृहकार्य अन्तिम चरणमा पुगे पनि नामबारे अन्तिम टुङ्गो लाग्न बाँकी रहेको कार्कीले बताए । अहिले मलमास पनि रहेकाले सबै विषय टुङ्ग्याउन हतार नगरिएको उनको भनाइ थियो । 

शास्त्रअनुसार जेठ ३ गतेदेखि सुरु भएको मलमास जेठ ३० गतेसम्म रहने भएकाले शुभ कार्यका लागि त्यसपछिको समय पर्खिएको उनको भनाइ थियो  ।

यसैगरी नेता दिलनाथ गिरीले नयाँ पार्टीको स्वरूप परम्परागत दलभन्दा फरक र ’मेक नेपाल’ को मूल मन्त्रमा आधारित हुने बताए । 

'हामी ज्योतिष र वास्तु विज्ञानलाई समेत ध्यानमा राखेर, असफल नहुने गरी नाम र झन्डा तय गर्दैछौँ,’ गिरीले भने। 

राप्रपा दबाबमा

व्यवसायी समेत रहेका दुर्गा प्रसाईँ र धवलशमशेर राणाको मिलनसँगै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा दबाबमा पर्ने कतिपयको भनाइ छ । अहिले राजावादी समूह धेरै भएपनि मूल प्रवाह लिङ्देन नेतृत्वको राप्रपा भएकाले राणा र प्रसाईँको नयाँ पार्टीले चुनौती दिनसक्ने राप्रपाकै नेताहरू बताउँछन् ।

 यसमा पूर्वराजाको सद्भाव कता रहन्छ भन्नेले पनि विशेष अर्थ राख्ने राप्रपाका एक नेताले बताए । पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहले लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि पोख्दै आएको स्रोतको दाबी छ । त्यही असन्तुष्टिकै कारण राजतन्त्रको पक्षमा माहौल सिर्जना गर्न पूर्वराजाकै सद्भावमा विगतमा नवराज सुवेदीको नेतृत्वमा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ गठन गरिएको थियो। सो समिति गठनका बेला लिङ्देनले सार्वजनिक असन्तुष्टि नै पोखेका थिए। पछि लिङ्देनले सो समितिलाई सघाउन राजी भएपनि खुलेर साथ नदिएको स्वयम् राणाले बताउँदै आएका छन् । 

यस्तो स्थितिमा अहिले प्रसाईँले चलाउँदै आएको ‘नागरिक बचाउ महाअभियान’ को जनशक्ति र राणाका साथै राप्रपा छाड्नेहरूको राजनीतिक अनुभवलाई फ्युजन गरेर नयाँ पार्टी बनाउन लागिएको हो । 

सोहीअनुसार बिहीबार मात्रै राणाले राजधानीमा पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा पार्टी परित्यागको घोषणा गरेका थिए भने सोही क्रममा करिब २०० जना राप्रपा नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका थिए। 

लिङ्देनको कटाक्ष

राणाले राप्रपा नेतृत्वले पार्टीको मूल एजेन्डा जोगाउन नसकेको र आन्तरिक लोकतन्त्रलाई उपेक्षा गरेको आरोप लगाउँदै विद्रोह गरेका हुन् । ‘मैले घर छोडेको होइन, एउटा बलियो राष्ट्रवादी घर निर्माण गर्न लागेको हुँ,’ राणाले बिहीबारको पत्रकार सम्मेलनमा भनेका थिए । 

उनले राप्रपालाई ‘खोटा सिक्का’ को संज्ञा दिँदै अबको विकल्प नयाँ शक्ति नै भएको जिकिर गरेका थिए।

यता राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने राणाको बहिर्गमनलाई ‘ऐंजेरु’ झरेको संज्ञा दिएका छन्। शुक्रबार गोरखामा आयोजित एक कार्यक्रममा लिङ्देनले भने, ‘खुट्टामा पलाएको ऐंजेरुले हिँड्न अप्ठ्यारो पार्छ, त्यो काटेर फाल्दा केही समय दुखे पनि अन्ततः हिँडाइ सहज हुन्छ ।’ लिङ्देनले राणामाथि निर्वाचनका बेला आफ्नै उम्मेदवारलाई असहयोग गरेको आरोप समेत लगाए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप