मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगारी

वैदेशिक रोजगारीमा पटक पटक ठगिँदै सम्झना, तैपनि हराएन विदेश मोह

आइतबार, २६ चैत २०७९, ०८ : ५४
आइतबार, २६ चैत २०७९

काठमाडौँ । बुटवलकी सम्झनालाई (नाम परिवर्तन) फोन आयो । ‘तुरुन्तै काठमाडौँ आउनु, तपाईंको भोलिको फ्लाइट छ ।’ खबरपछि उनी सबै तयारी गरेर काठमाडौँ आइन् । 

सबै सामान तयार पारेर काठमाडौँस्थित ग्राण्डी टावरमा रहेको अर्पाटमेन्टमा पुगिन् । अर्पाटमेन्टमा पुगेपछि उनलाई भनियो, ‘माफ गर्नुहोला, तपाईंको भिसा क्यान्सिल भयो ।’

जापानको सपना बोकेर आएकी सम्झना छाँगाबाट खसेझैँ भइन् । भिसा लागेर टिकट पनि काटिसकेको भनेर अन्तिममा भिसा नै रद्द हुनु उनको भाग्यको दोष थिएन, यो त दलालले उनीमाथि गरेको अन्याय र अत्याचारको दुष्परिणाम थियो । 

उनलाई नक्कली भिसा, नक्कली टिकट देखाएर दलालले पैसा कुम्ल्याउने मेसो गरेका थिए । त्यसैको शिकार बनिन् उनी । र, जापानको सपना बोकेर घरबाट हिँडेकी सम्झनाको सपना सम्झनामा मात्र रह्यो । 

‘घरबाट टीका लगाएर बाआमालाई खुसीको सपना देखाएर म हिँडेकी थिएँ । तर, काठमाडौँ पुग्दा ती सबै खरानी भए ।’ रातोपाटीसँगको कुराकानीमा सम्झनाले भनिन् ।

विगत कोट्याउने हो भने चितवनकी संगीता थापाले सम्झनालाई जापानको सपना देखाएकी थिइन् । आफ्नै बहिनी बनाएर जापान लैजाने भनेकी थिइन् । त्यसका लागि उनलाई १२ लाख रुपैयाँ खर्च लाग्ने भनियो । यतिसम्म कि उनको अर्को नागरिकता बनाउने सम्मको योजना बन्यो । उनकी आमाकी कान्छी छोरी भनेर नागरिकता बनाउने र आफूले जापान भिजिट भिसामा लैजाने भनिन् । त्यसका लागि संगीताको मामा सुरज थापालाई ८० हजार तिरे । 

‘तर, त्यो त फगत ठग्नको लागि मात्र रहेछ ।’ सम्झनाले भनिन् । बुटवलमा पार्लर खोलेर बसेकी सम्झनालाई जापान जाने भनेपछि उनले तुरुन्तै ४ लाख रुपैयाँ संगीता थापालाई पठाई दिएकी थिइन् । त्यस्तै उनका दाइ हरि भण्डारीले १ लाख ५० हजार पठाइदिए । 

जापानको चक्करमा ऋण खोजखाज गरेर उनको ७ लाख जति खर्च भयो । सन् २०१८ को मार्चमा पैसा पठाएकी उनले ऋणको अहिलेसम्म पनि ब्याज तिर्दै आएकी छिन् । 

संगीता जापानमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएकी छिन् । जापानी केटासँग नै बिहे गरेर उतै बसेकी उनले नेपालमा धेरै जनासँग ठगी गरेको सम्झनाको भनाई छ । 

नेपालमा छुट्टी मनाउन आउँदा उनले सम्झनालाई जापानको सपना देखाएकी थिइन् । त्यसो त त्यसअघि सम्झनाको ठूलो आमाको छोरालाई पनि भिजिट भिसामार्फत् जापान लगेर विश्वास जितेकी थिइन् । 

बुटवलतिरका धेरैलाई त्यसरी नै भिजिट भिसामा जापान लैजाने भनेर लाखौँ रुपैयाँ ठगी गरेको सम्झनाको भनाई छ । 

विदेश यात्रामा सम्झनाको अनेक हण्डर

सम्झनाको विदेश मोह पहिलो थिएन । त्यसअघि पनि उनी विभिन्न देशमा गइसकेकी थिइन् । १८ वर्षको हुँदा उनी सुरुमा साउदी अरब गएकी थिइन् । जहाँ हाउसवाइफको रूपमा दुई वर्ष बसिन् । कक्षा ८ सम्मको पढाई गरेकी सम्झनाको पहिलो विदेश यात्रा निकै नै पीडादायी रह्यो । 

घरमा आमा बुबा र भाइको जिम्मेवारी लिएकी सम्झनाले आफ्नो पछिल्ला १८ वर्ष विदेशतिर नै बिताइन् । 

साउदीबाट नेपाल फर्किएपछि उनी ५ वर्ष दुबई बसिन् । त्यसपछि पनि उनी मलेसिया गइन् । मलेसियामा ३ वर्ष बसिन् ।

जापानमा लैजाने भनेर ठगेपछि उनले माल्टाका लागि प्रक्रिया अगाडि बढाइन् । त्यहाँ पनि उनको भिसा आएन । र, दलालले १ लाख त्यत्तिकै खाइदियो । 

माल्टाका लागि वर्क परमिट आयो । तर, भिसा लागेन । त्यसपछि माल्टामा रहेको कम्पनीले किन नआएको भन्दै फोन पनि गरेको थियो । भिसा नै रिजेक्ट भएको भनेपछि कम्पनीले फेरि ट्राई गर्न भनेको थियो । तर, उनले गरिनन् । 

बुटवलका रवि अर्यालले उनलाई माल्टाका लागि ८ लाख रुपैयाँ खर्च लाग्ने भनेका थिए । त्यसका लागि उनले सुरुमा १ लाख १२ हजार रुपैयाँ दिए । दिल्ली गएर उनले भिएफएस गरिन् । तर, भिसा लागेन । 

त्यसपछि अर्यालले उनलाई ५० हजार रुपैयाँ मात्र फिर्ता दियो । बाँकी रुपैयाँ खर्च भएको भन्दै फिर्ता नदिएको सम्झनाको भनाई छ । 

उनलाई कहिले पनि दुबई प्रवेश गर्न नपाउने भनेर रोक लगाइएको थियो । तर, साथीभाइ तथा दलालको लहलहैमा लागेर दुबई गइन् । दुबई पुगेकी उनलाई एयरपोर्टबाटै नेपाल फिर्ता पठाइदियो । 

यसअघि नै ५ वर्ष बस्दा इलिगल भएकाले उनलाई नेपाल फिर्ता पठाइएको थियो । ‘म जान पाउँदिन भन्ने त थाहा थियो । तर, डेढ लाख लिएको कमलपोखरीमा रहेको ट्राभलवालाले हामी सबै सेटिङ मिलाएर पठाउँछौँ भनेपछि पत्याएर गएँ । एयरपोर्टबाटै फिर्ता पठाइदियो ।’ उनले भनिन् । 

जापान, माल्टा र दुबईबाट पीडित बनेकी सम्झना यतिबेला कुवेतको लागि ट्राई गर्दैछिन् । पार्लरको काममा लागि उनले कुवेत जान खोजेकी हुन् । त्यसका लागि उनले सबै डकुमेन्ट पेस गरेकी छिन् । 

पटक पटक कसरी ठगिदैछिन् सम्झना ?

आफ्नो जीवनको आधा समय विदेशमा बिताएकी सम्झनालाई धेरै कुरा थाहा छ । उनले कसरी विदेश जाने ? कसरी काम गर्ने भनेर उनी व्यवहारिक भइसकेकी छिन् । तैपनि उनी आफैँ दलालहरूबाट ठगिने गरेकी छिन् । 

यसको पछाडिको कारण हो– विदेशिनु बाध्यता र प्रलोभनमा पर्नु । जापानमा छोरी बनाएर लैजान्छु भन्नेको पनि उनी प्रलोभनमा परिन् । ‘तिमीले केही गर्नुपर्दैन । सबै म मिलाउँछु । तिमीलाई जसरी पनि जापान लैजान्छु भनेपछि होला त नि भनेर विश्वास गरे । अन्तिममा फसाइन् ।’ सम्झनाले भनिन् ।  

घरकी जेठी छोरी भएकाले उनको काँधमा पुरै परिवारको जिम्मेवारी छ, विदेश जानु उनको रहर नभएर बाध्यता हो । राम्रो घर बनाउने, आमा बुबालाई सुखमा राख्ने सपनाले बोकेकी उनी ३८ वर्षको उमेरसम्ममा पनि अविवाहित छिन् । उनी जस्ता हजारौँ नेपाली दलालहरूबाट ठगिइरहेका छन् । उनी एक प्रतिनिधि पात्र हुन् । 

‘गाउँमा बस्न गतिलो घर थिएन । त्यसैले विदेश जाने सोच आयो । र, यत्रो वर्ष विदेशमा बसे । तर, अवस्था उस्तै छ । घर परिवारको बारेमा सोच्दा सोच्दै बिहेबारे सोच्ने फुर्सदै भएन ।’ उनले भनिन् । 

आफू पटक पटक ठगिएकोमा उनी वैदेशिक रोजगार विभागमा उजुरी गर्ने मनसायमा पुगेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप