करोडौँमा बनेको लघु औद्योगिक ग्राम अलपत्र
सुर्खेत । कर्णाली प्रदेशमा ठुला तथा मझौला खालका उद्योग कलकारखाना छैनन् । अर्थतन्त्रको ठुलो हिस्सा ओगट्ने यस्ता खालका उद्योग कलकारखाना बनाउनतर्फ न सरकार नै अग्रसर बनेको छ, न त निजी क्षेत्र नै । अरू त त्यस्तै हो, बनेको एउटा लघु औद्योगिक ग्राम समेत सञ्चालनमा सरकार बेखबर छ । भाषणमा समृद्धि खोज्ने नेताहरू व्यवहारमा उदासीन बन्दा राज्यको करोडौँ रकममा निर्माण सम्पन्न भएको लघु औद्योगिक ग्राम अहिले अलपत्र अवस्थामा छ ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको ग्राम ०७६ जेठमा तत्कालीन संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले निर्माणाधीन अवस्थामै प्रदेश सरकारलाई हस्तान्तरण गरेका थिए । झण्डै ५५ प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा ग्राम हस्तान्तरण गरिएको थियो । ६ महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेशलाई हस्तान्तरण गरिए पनि अहिलेसम्म सञ्चालनमा आउन सकिरहेको छैन । ग्रामको निर्माण सम्पन्न ०७७ मै सकिएको थियो ।
_Sjq0U2xk1I.jpg)
लामो समय कार्यविधिमै अड्किएको थियो
औद्योगिक ग्राम सञ्चालनका लागि प्रदेश सरकार लामो समय कार्यविधिमै अड्कियो । ०७८ मै लघु औद्योगिक ग्राम सञ्चालनका लागि कार्यविधिको ‘ड्राफ्ट’ तयार गरियो । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले उद्योग मन्त्रालयमा पेस गर्यो । तर, मन्त्रालयले लामो समय थन्काइदियो । कार्यविधि पारित नभएकाले निर्माण सम्पन्न भए पनि औद्योगिक ग्राम सञ्चालनमा समस्या भइरहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले बताउँदै आएको थियो ।
अहिले भने सञ्चालनका लागि ऐन, नियमावली र कार्यविधि बनिसकेको छ । तर, पनि सञ्चालनमा आउन सकिरहेको छैन । ग्राम सञ्चालनका लागि प्रदेश सरकारले नै उदासीनता देखाएको सरोकारवालाहरूले बताउने गरेका छन् । यो ग्राम प्रदेशमै पहिलो पटक बनेको लघु औद्योगिक ग्राम हो ।
जर्मन अन्तर्राष्ट्रिय सहयोग नियोग (जीआईजेड) सँगको समन्वयमा निर्माण गरिएको ग्रामका चारवटा भवनमा ६२ वटा सटर रहेका छन् । १५ करोड १६ लाख रुपैयाँको लागतमा ग्राम निर्माण गरिएको थियो । एसबीए÷रविन जेभीले ०७४ फागुनबाट निर्माण कार्यको सुरुवात गरेर ०७७ मा सम्पन्न गरेको थियो ।
भाडादरमा अड्किएको छ हलो
ग्रामका स्वामित्व प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयलाई दिइएको छ । ०७८, जेठमा निर्देशनालयले स्वामित्व लिएको हो । यद्यपि सञ्चालनमा भने निर्देशनालयबाट नै ढिलाइ भएको देखिन्छ । निर्देशनालयले उद्यमी छनोटका लागि ०७९ असोज १३ गते मात्रै ३५ दिने सूचना जारी गरेको छ । जसमा तीन जना व्यवसायीले मात्रै प्रस्ताव दर्ता गराए । तर, सञ्चालन व्यवस्थापनका तालमेल नमिल्दा अहिलेसम्म औद्योगिक ग्राम सञ्चालनमा आउने–नआउने कुनै टुङ्गो छैन ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल भाडा दरमै समस्या भएको बताउँछन् ।कार्यविधिमा भाडादर निकालियो । तर, भाडादर महँगो भए पनि उद्यमीहरूले अनिच्छा देखाएको उनको भनाइ छ । ‘उद्यमीले महँगो भाडा भयो, यसरी हुन सक्दैन भन्ने सुझाव दिँदा समेत प्रदेश सरकारले सुनुवाइ गरेन,’ कँडेलले भने,‘ कार्यविधिमा न्यूनतम प्रति सटरको ५ हजार थियो । सरकारले उद्यमीलाई उद्यमशीलतातिर लैजानका लागि औद्योगिक ग्राम बनाएको हो । तर, भाडा महँगो बनाइयो ।’
_L20R2NcFmC.jpg)
उद्योगीहरूले प्रति सटरको न्यूनतम २ हजार भाडादर हुनुपर्ने माग गरेका थिए । तर, सरकारले त्यसको सुनुवाइ गरेन । जसका कारण अहिलेसम्म सञ्चालन व्यवस्थापनमा अन्यौलताका देखिएको छ । सञ्चालनका लागि सञ्चालक समिति भने बनिसकेको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको वाणिज्य आपूर्ति तथा औद्योगिक शाखाका तुलसी प्रसाद आचार्यले पनि भाडादारमै समस्या भएको स्वीकार गरे । उनले भने,‘कार्यविधि बनिसकेको छ, सञ्चालक समिति पनि बनिसकेको छ, तर, भाडादर महँगो भयो भन्ने कुरामा अड्किएको छ ।’
आचार्यले त्यसलाई सहज बनाउने तरिकाले अघि बढ्नुपर्ने बताए । यद्यपि त्यसका लागि पुनः कार्यविधिलाई सच्याइनुपर्ने हुन्छ ।
के थियो उद्देश्य ?
लघु घरेलु तथा साना उद्योगबाट उत्पादन हुने वस्तुहरूको बिक्रीका लागि एउटै केन्द्र बनाउने लक्ष्य अनुरूप लघु औद्योगिक ग्राम निर्माण गरिएको थियो । कर्णालीका विभिन्न जिल्लाका उद्यमीले उत्पादन गर्ने सामग्रीहरू एकै ठाउँ अर्थात् यही ग्रामबाट बिक्री गर्ने उद्देश्य राखिएको छ । आचार्य भन्छन्,‘ सोरुम जस्तो हो, उद्यमीहरूले सटर भाडामा लिने, बाहिरबाट उत्पादन भएका सामग्रीहरू यहाँ राख्ने, प्रदर्शन तथा बिक्री गर्ने हो ।’
_eBvQ3FBq8S.jpg)
तत्कालीन उद्योग मन्त्री यादवले औद्योगिक ग्रामको स्वामित्व तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई हस्तान्तरण गरेका थिए । बीचमा बुढा राजनीतिक विवादका कारण सरकारबाट बाहिरिए । पछि नयाँ मन्त्रीले भने ग्राम सञ्चालनमा ध्यानै दिएनन् । आर्थिक क्षेत्रको हबका रूपमा लिइएको औद्योगिक ग्राम सञ्चालनका लागि सरकारले ध्यान नदिएको उद्यम व्यवसायीहरूले बताउने गरेका छन् ।
उद्यमी कविराज खत्री भन्छन्,‘केन्द्र सरकारले आफै सञ्चालन गर, प्रदेशका आर्थिक गतिविधि सञ्चालन गर भनेर जिम्मा लगाएको थियो । तर, यतिका समयसम्म ग्राम सञ्चालनमा आउन सकिरहेको छैन । राज्य कति अनुदार छ, भन्ने कुरा यहाँबाट थाह हुन्छ नि ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण