अमेरिका र साउदी अरबबिच ऐतिहासिक आणविक सम्झौता
सारांश
- अमेरिका र साउदी अरेबियाले शान्तिपूर्ण आणविक ऊर्जा कार्यक्रम विकास गर्न ऐतिहासिक आणविक सम्झौतामा हस्ताक्षर गरेका छन् ।
- यस सम्झौताले साउदी अरबको आणविक ऊर्जा क्षेत्रमा अमेरिकी कम्पनीहरूको सहभागिताको बाटो खोल्नेछ र भविष्यमा युरेनियम समृद्ध गर्न अनुमति दिन सक्ने व्यवस्था हुन सक्छ ।
- यो सम्झौता अमेरिका र इरानबीचको बढ्दो सैन्य तनावका बीच भएको हो र यसले मध्यपूर्वमा आणविक हतियारको प्रसारको जोखिम बढाउन सक्ने चेतावनी दिइएको छ ।
नयाँ दिल्ली । अमेरिका र साउदी अरेबियाले एक ऐतिहासिक आणविक (न्यूक्लियर) सम्झौतामा हस्ताक्षर गरेका छन् । यस सम्झौताले साउदी अरेबियालाई शान्तिपूर्ण उद्देश्यका लागि नागरिक आणविक ऊर्जा कार्यक्रम विकास गर्न सहयोग गर्ने बताइएको छ ।
अमेरिकी ऊर्जा विभागका अनुसार यो शान्तिपूर्ण आणविक सहकार्य सम्झौता हो, जसले साउदी अरबको आणविक ऊर्जा क्षेत्रमा अमेरिकी कम्पनीहरूको ठुलो सहभागिताको बाटो खोल्नेछ । सम्झौताको पूर्ण विवरण सार्वजनिक गरिएको छैन ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार भविष्यमा साउदी अरेबियालाई आफ्नै भूमिमा युरेनियम समृद्ध गर्न अनुमति दिन सकिने व्यवस्था हुन सक्छ । समृद्ध युरेनियमबाट आणविक विद्युत् उत्पादन गर्न सकिन्छ, तर यही प्रविधि आणविक हतियार निर्माणका लागि पनि प्रयोग हुन सक्छ । विशेषज्ञहरूका अनुसार यदि साउदी अरेबियालाई युरेनियम समृद्ध गर्ने अनुमति दिइयो भने यो अमेरिकाले पहिलो पटक यस्तो अनुमति दिएको घटना हुनेछ । यसले पहिले नै अस्थिर रहेको मध्यपूर्व क्षेत्रमा आणविक हतियारको प्रसारको जोखिम बढाउन सक्ने चेतावनी दिइएको छ ।
अमेरिकी ऊर्जा मन्त्रालयले मुख्य सहकार्य सम्झौतासँगै द्विपक्षीय सुरक्षा सम्झौतामा पनि हस्ताक्षर गरिएको जनाएको छ । विभागका अनुसार यी दुई सम्झौताले दशकौँसम्म चल्ने अर्बौं डलर बराबरको साझेदारीका लागि कानुनी आधार तयार गर्नेछन् । साथै, आणविक अप्रसार र दुवै देशका रणनीतिक तथा आर्थिक हितलाई अघि बढाउने उद्देश्य राखिएको छ ।
यो सम्झौता ऊर्जा क्षेत्रमा दुई देशबिच लामो समयदेखि रहेको सहकार्यको विस्तार भएको साउदी सरकारले जनाएको छ । साथै, गत वर्ष नोभेम्बरमा साउदी युवराज मोहम्मद बिन सलमानको वाशिङ्टन भ्रमणपछि यो सहकार्य अझ मजबुत भएको उल्लेख गरेको छ । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्झौताका लागि साउदी युवराज मोहम्मद बिन सलमानलाई इजरायललाई कूटनीतिक मान्यता दिनुपर्ने सर्त राखेका छैनन् ।
यो सम्झौता अमेरिका र इरानबीचको बढ्दो सैन्य तनावकै बीच सार्वजनिक भएको हो । साउदी अरेबियामा अमेरिकी सैन्य अड्डाहरू रहेका छन्, जसलाई हालै इरानले निशाना बनाएको थियो । साथै, यमनका हुथी विद्रोहीहरूले दुई दिनअघि साउदी अरेबियाविरुद्ध समुद्री नाकाबन्दी घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण