एमब्लिसेप्स वाइखोमी : विराटनगरमा फेला परेको नयाँ प्रजातिको माछा
विराटनगर । विराटनगरको पूर्वी सिमाना भएर बग्ने सिंघीया नदीमा नयाँ प्रजातिको माछा भेटिएको छ । यो माछा नेपालमै पहिलो पटक भेटिएको अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् ।
गत साल मङ्सिर महिनादेखि ०७९ असोजसम्म झापा र मोरङका पाँच वटा नदीहरूमा खोज—अनुसन्धानका क्रममा नयाँ प्रजातिको माछा पञ्जीकरण गरिएको हो । यो नयाँ माछाको नाम एम्ब्लिसेप्स वाइखोमी हो ।
विराटनगरकै अनुसन्धानकर्ताहरू जसहाङ लिम्बू, दीपक राजवंशी, भरतराज सुब्बा, अस्मित सुब्बा तथा विदेशीहरू जीनक्वान याङ र चेनहोङ लीको समूहले उक्त माछा विराटनगरको तल्लो भाग जहदा पुल र बुधनगर गरी दुई वटा अध्ययन विन्दुहरूमा रेकर्ड गरेका थिए ।
उनीहरूले पत्ता लगाएको माछा नेपालको लागि नयाँ रेकर्ड भन्दै अमेरिकाबाट प्रकाशित हुने इन्टरनेशनल जर्नल अफ जुलोजीमा २०२३ को भोल्युममा यही अप्रिल महिनामा प्रकाशित भएको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार एमब्लिसेप्स वाइखोमी प्रजातिको माछा दक्षिण एसियातिर विरलै भेटिन्छ । सन् २०१६ मा मात्रै भारतमा पनि ब्रह्मपुत्र नदीको सहायक नदीमा अरुणाचल प्रदेशमा पहिलो पटक रेकर्ड गरिएको थियो । यसको जनसङ्ख्या पनि अति नै कम र जताततै नपाइने भएकोले धेरै विवरण नपाइने अनुसन्धानकर्ताहरूको भनाइ छ । अनुसन्धान अवधिभरिमा सिंघीया नदीमा पनि पाँच दस वटा मात्र भेटिएको थियो ।
यो माछा निकै सानो हुन्छ, यसको लम्बाइ चारदेखि नौ सेन्टिमिटर र तौल ३० ग्रामभन्दा कम हुन्छ । यसका आनीबानी, आहारबिहार, प्रजनन आदिको गहिराइमा अध्ययन भएको छैन । यसबाट मानिसले के कति फाइदा लिन सक्छ भन्ने पनि यकिन हुन सकेको छैन ।
सिंघीया नदीको पानीका भौतिक तथा रासायनिक विशेषताहरूसमेत अनुसन्धानका क्रममा परीक्षण गरिएकोले कस्तो जलीय वातावरणमा बस्दो रहेछ भन्नेसम्म खुलेको छ ।
हाल चीनमा माछाकै विषयमा विद्यावारिधि गरिरहेका प्रमुख अनुसन्धानकर्ता लिम्बूले भने, ‘हामीले सिंघीया नदीका जलचर अनुसन्धानका क्रममा नयाँ किसिमको माछा भेट्यौँ अनि यसका बाहिरी बनावट र पखेटा (फिन)हरूको नापजाँच गर्यौँ, अरू प्रजातिसँग तुलना गर्यौ, तब निष्कर्षमा पुग्यौँ कि यो नयाँ प्रजाति नेपालमा पहिलो पटक भेटिएको हो ।’
उनीहरूको उक्त निष्कर्षलाई जर्नलमा प्रकाशित भएपछि विश्वका माछा विशेषज्ञहरूको समुदायले सार्वजनिक पुष्टि गरेको ठहर्छ ।
एमब्लिसेप्स जातिका जम्मा २६ वटा प्रजाति संसारमा छन् । अघिल्लो वर्ष मात्रै यसको २६ औँ प्रजाति अरू कुनै देशमा पत्ता लागेको थियो । नेपालका लागि अहिले पत्ता लागेको यो नयाँ प्रजातिसँगै अब दुई सय ७० प्रजातिका माछा भए । लिम्बुका अनुसार मोरङ जिल्लामा पाइने एक सय १८ प्रजातिमध्ये सिंघीया नदीमा ६२ प्रजातिका माछा पाइन्छन् ।
एमब्लिसेप्स वाइखोमीको अस्तित्वले नेपालमा माछाको संसारमा एक नयाँ आयाम थपिएको छ भने विराटनगर सहर र सिंघीया नदीको नाम पनि राखेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण