मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले

सोमबार, २५ जेठ २०८३, २० : ३०
सोमबार, २५ जेठ २०८३

पोखरा । केही दिनअघि लेखनाथबाट पोखरा आउने क्रममा गाडीले नरोकेपछि बौद्धिक र श्रवण अपाङ्गता भएका कृष्ण थापाले आफ्नो समस्या सामाजिक सञ्जालमा पोस्ट गरे । 

उनले तत्कालीन समयमा आफूले महसुस गरेको अनुभवलाई साङ्केतिक भाषाबाट पनि प्रस्ट पारे । त्यसपछि उनको पोस्ट एकाएक भाइरल भयो । गाडीवालालाई कारबाही गर्नुपर्ने दबाब बढ्यो ।

घटना ५ दिनअघिको हो । लेखनाथमा बस रोक्ने सङ्केत गर्दा पनि चालकले कृष्णको अपाङ्गतालाई बेवास्ता गर्दै बस हुइँक्याएका थिए । उक्त दृश्य भिडियोमै प्रस्ट देखिन्छ । त्यसपछि कृष्णले सामाजिक सञ्जालमा प्रश्न गरे, ‘के मलाई सार्वजनिक यातायात प्रयोग गर्ने अधिकार छैन ? के म यो देशको नागरिक होइन ?’ अनि उनले गरेको प्रश्न सञ्जालैभरी भयो ।

कृष्णले सामाजिक सञ्जालमा राखेको भिडियो र गुनासोलाई सुनुवाइ गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले तत्काल कारबाही प्रक्रिया अगाडि बढायो । प्रहरीले सीसीटीभी फुटेजका आधारमा ग २ ख २२५५ नम्बरको बसलाई नियन्त्रणमा लियो । ट्राफिक प्रहरी कार्यालय कास्कीले चालकलाई नियन्त्रणमा लिएर जरिवाना गरायो र आगामी दिनमा फरक क्षमता भएका तथा वृद्ध वृद्धालाई प्राथमिकता दिन चालक र यातायात व्यवसायीलाई सचेत गरायो ।

घटना त्यतिमा मात्रै सीमित भएन । प्रहरीको कारबाहीपछि पनि पोखरा महानगरपालिका वडा नम्बर २६ ले विशेष चासो देखायो । कृष्ण सोही वडाका नागरिक हुन् । वडाध्यक्ष नरेन्द्र थापा (नरेन) को पहलमा सरोकारवाला निकाय र कृष्णलाई गाडी नरोक्ने बेगनासताल पोखरा यातायात प्रालिका प्रतिनिधिसँग छलफल आयोजना भयो ।

छलफलबाट नयाँ नजिर स्थापित गर्ने निर्णय भएको छ । कृष्णको सुरक्षा र पहिचानका लागि वडा कार्यालयले उनलाई डिसेबल ड्रेस उपलब्ध गराउने निर्णय गरेको छ । उक्त ड्रेस विशेष रिफ्लेक्टरसहितको हुनेछ । सोही पोसाक लगाएको आधारमा बेगनासताल पोखरा यातायातका सबै बसमा कृष्णले निःशुल्क र सुरक्षित यात्रा गर्न पाउने व्यवस्था गरिएको छ ।

यस्तै, आगामी दिनमा यस्ता दुर्व्यवहार दोहोरिन नदिने र अपाङ्गता भएका नागरिकलाई सम्मानजनक व्यवहार गर्ने प्रतिबद्धता यातायात व्यवसायीले जनाएका छन् । छिटो न्याय पाएकोमा कृष्णले वडा कार्यालयलाई धन्यवाद दिएका छन् । ‘ढिलै भए पनि न्याय र सम्मान पाएको छु । मन निकै खुसी छ,’ उनले भने, ‘म जस्ता व्यक्तिहरूलाई समाजमा सम्मानका साथ बाँच्ने वातावरण बनाइदिनुहुने वडाध्यक्ष ज्यू, यातायात प्रालि र सम्पूर्ण सरोकारवालाहरू प्रति हृदयदेखि नै आभार प्रकट गर्दछु ।’

वडाध्यक्ष थापाले सबै नागरिकले सुरक्षित र सम्मानित महसुस गर्न पाउने ज्ञारेन्टी गर्न आफूहरू तत्पर रहेको प्रतिक्रिया दिए । ‘भौतिक विकास मात्र विकास होइन रहेछ । 

समाजका सबैभन्दा विशेष अवस्थाका नागरिकले सुरक्षित र सम्मानित महसुस गर्न पाउनु नै असली विकास हो,’ उनले भने, ‘कृष्णमाथि भएको दुर्व्यवहारबाट हामी गम्भीर छौँ । अब उनले सडकमा असुरक्षित महसुस गर्नु पर्दैन ।’ आफूहरू यस्ता घटनामा थप गम्भीर रहेको थापाले बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप