शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गरौँ : प्रधानमन्त्री

बिहीबार, ३० चैत २०७९, १७ : २०
बिहीबार, ३० चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठुला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गरेका छन् । लगानी बोर्ड नेपालको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दिगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको मुलुकमा स्तरोन्नति हुन ठुला लगानीको आवश्यकता रहेको बताएका हुन् । उनले वैदेशिक पुँजी तथा प्रविधि भित्राएर स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व बढाउने तथा आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्नेतर्फ लगानीलाई केन्द्रित गर्नु पनि उत्तिकै आवश्यक रहेको बताए ।  

‘दिगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको मुलुकमा स्तरोन्नति हुन हामीलाई ठुलो लगानीको आवश्यकता छ ।  तर सरकारसँग लगानीका सीमित स्रोतहरू रहेको हुनाले स्वदेशी तथा विदेशी निजी क्षेत्रको सहभागिता अपरिहार्य छ’, प्रधानमन्त्रीको भनाइ छ ।   वैदेशिक पुँजी तथा प्रविधि भित्र्याई स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व बढाउने तथा आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्नेतर्फ लगानीलाई केन्द्रित गर्नुपर्ने प्रधानमन्त्रीले जोड दिए ।

नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता र लगानी प्राप्तिमा ठुलो अन्तर रहेको भन्दै यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध सबै निकायले गम्भीरतापूर्वक ध्यान दिन पनि प्रधानमन्त्रीको आग्रह छ । ‘परियोजना विकास र कार्यान्वयन नेपालमा असाध्यै जटिल हुँदै गइरहेको देखिएको छ । विशेष गरी परियोजनाको लागि जग्गा प्राप्ति, स्थानीयका मागका सम्बोधन जस्ता विषयहरूका कारण परियोजना समयमै सम्पन्न हुन नसकी परियोजनाको लागत बढ्ने क्रम बढिरहेको हुनाले यस सम्बन्धमा सबै मन्त्रालय र निकायहरूले एकीकृत भएर कार्य गर्न निर्देशित गर्दछु’, प्रधानमन्त्रीको निर्देशन छ ।  

उनले मुलुकको प्रधानमन्त्री नै अध्यक्ष रहने गरी गठन भएको बोर्डको निश्चित अर्थ रहेको भन्दै बोर्डको सफलतासँग प्रधानमन्त्रीको समेत सफलता जोडिने बताए । ‘त्यसैले ठुला पूर्वाधार परियोजनाको विकास गर्ने, ढाँचा तय गर्ने, लगानीका स्रोत जुटाउने, परियोजनाको कार्यान्वयन, अनुगमन र सहजीकरण जस्ता विषयमा सम्बद्ध निकायको सहयोग आवश्यक पर्दछ र यस्ता महत्त्वपूर्ण विषयहरूको सम्बन्धमा नीतिगत तथा कानुनी सुधारमा मन्त्रीज्यूहरूले विशेष ध्यान दिनुपर्ने र प्रशासनिक विषयमा मुख्यसचिवज्यू र मन्त्रालयका सचिवहरूले लगानी बोर्डको कार्यालयसँग समन्वय गरी अघि बढ्न निर्देशित गर्दछु’, प्रधानमन्त्रीको भनाइ छ ।  लगानी बोर्डले सहजीकरण गरेका परियोजनाहरूमा भरपुर सहयोग गर्न र अन्य कार्यालयभन्दा पृथक् भएकोले स्रोतको अभाव हुन नदिन बोर्डका उपाध्यक्ष तथा अर्थमन्त्रीलाई प्रधानमन्त्रीले विशेष ध्यानाकर्षण पनि गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप