आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना सङ्क्रमित गर्भवतीको सफल शल्यक्रिया

शुक्रबार, ०१ वैशाख २०८०, २२ : १५
शुक्रबार, ०१ वैशाख २०८०

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि पहिलोपटक आज तुलसीपुर उपमहानगरपालिका–४ दाङ निवासी २१ वर्षीया सङ्क्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुुरमा कोरोना सङ्क्रमण पुष्टि भएपश्चात भेरी अस्पतालमा प्रेषण भएकी महिलाको शल्यक्रियामार्फत छोरा जन्मिएको छ । दुई दिनदेखि बेथा लागेर उपचारका लागि दाङका विभिन्न अस्पताल हुँदै शिक्षण अस्पताल कोहलपुरमा आउँदा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

भेरी अस्पतालमा उपचारका लागि ल्याउँदा गर्भवतीको अवस्था जटिल हुन पुगेको थियो । यसअघि अस्पतालमा कोरोना सङ्क्रमणको दोस्रो लहरका बेला सङ्क्रमित गर्भवतीको शल्यक्रिया गरिएपनि त्यसयताको यो शल्यक्रिया पहिलो भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी दिए ।

धेरै अस्पतालबाट प्रेषण हुँदै आउँदा गम्भीर अवस्थामा पुगेको सङ्क्रमित गर्भवतीको तत्काल शल्यक्रिया गरिएको बताउँदै उनले आमा र बच्चालाई अस्पतालमै आइसोलेशनको व्यवस्था गरेर राखिएको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप