शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
प्रदेश सरकार

वाम–लोकतान्त्रिक गठबन्धन बनाउन नेकपाको पहल, अझै बनेन खाका

शुक्रबार, ०८ साउन २०८३, १४ : ३०
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलहरूसँग सत्ता सहकार्यको विषयमा छलफल गरिरहेको छ ।
  • संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सर्वदलीय मोर्चा वा वाम-लोकतान्त्रिक गठबन्धन बनाउन पहल भइरहेको छ ।
  • प्रदेश सरकार गठनमा निर्णायक देखिएको नेकपालाई कांग्रेस र एमालेले सत्ता सहकार्यका लागि तानातान गरिरहेका छन् ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले नेपाली कांग्रेस र नेकपा एमाले सहितको सत्ता सहकार्य गर्ने कि कुनै एक पक्षसँग मिलेर सरकारमा जाने विषयमा निरन्तर छलफलमा छ । 

साउन ५ गते नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग करिब दुई घण्टा छलफल गरेका थिए । छलफलको क्रममा प्रचण्डले संविधान, लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सर्वदलीय मोर्चा बनाउनुपर्ने प्रस्ताव गरेका थिए । 

प्रदेशमा कम्तीमा पनि नेपाली कांग्रेस, एमाले र नेकपा मिलेर सर्वदलीय सरकार बनाउनुपर्नेमा उनले जोड दिएका थिए । ओलीसँग छलफल गरेसँगै प्रचण्डले कांग्रेसका पदाधिकारीसँग पनि छलफल गर्ने तयारी गरेका छन् । तर शुक्रबारसम्म भेट नभएको वार्ता टोलीका सदस्य प्रमेश हमालले जिकिर गरे ।  

‘सुरुदेखि नै हाम्रो प्रस्ताव वाम–लोकतान्त्रिक गठबन्धन बनाउने छ । यसै सिलसिलामा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल भएको छ । आज–भोलिसम्म कांग्रेसका पदाधिकारीसँग पनि छलफल हुन्छ । अहिल्यै नै प्रदेशमा सत्ता सहकार्यको विषयमा ठोस सहमति भएको छैन,’ रातोपाटीसँग हमालले भने ।  

मूलभूत रूपमा सत्ता सहकार्यको ‘वे आउट’ बनेपछि मात्र सहमतिको खाका तयार हुने उनले बताए । हमालले कार्यदलस्तरमा कांग्रेस र एमालेसँग निरन्तर छलफल भइराखेको जानकारी दिए ।

‘कार्यदल स्तरमा हामीले दुई पक्ष र बहुपक्ष छलफल जारी राखेका छौँ । वे आउट नबनेसम्म सत्ता सहकार्यका लागि सहमतिको खाका बन्दैन’, उनले भने, ‘त्यसपछि मात्र सहमतिको ड्राफ्ट बन्छ । सहमति नभएसम्म प्रदेशमा सत्ता सहकार्य हुँदैन ।’

कांग्रेस र एमालेबिच आलोपालो सत्ता सहकार्य गर्ने पूर्वसहमति भत्किएपछि प्रदेशमा सत्ता सङ्कट देखिएको छ । मधेस प्रदेश बाहेक बागमती, गण्डकी र सुदूरपश्चिममा कांग्रेसले नेतृत्व गरेको छ । कोशी, लुम्बिनी र कर्णालीमा एमाले नेतृत्वको सरकार छ । 

मधेस प्रदेशमा अहिले कांग्रेसकै नेतृत्वमा सरकार रहे पनि तीन दल सरकारमा सहभागी भएकाले समस्या देखिएको छ । नेकपाले सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेश दाबी गर्ने सम्भावना देखिन्छ । तर एमालेले बागमती, लुम्बिनी र कर्णाली नेकपालाई दिने पक्षमा देखिँदैन । 

प्रदेश सरकार गठनमा निर्णायक देखिएको नेकपालाई कांग्रेस र एमालेले तानातान गरिरहेका छन् । नेकपाबाट वर्षमान पुन, प्रमेश हमाल, एमालेबाट उपाध्यक्ष रामबहादुर थापा, महासचिव शंकर पोखरेल, कांग्रेसबाट उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरेले पहल गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप