सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
खानेपानीका लागि हर्क साम्पाङको दबाब

संघले योजना नछुट्याए सांसदलाई धरान प्रवेश गर्नै नदिने चेतावनी

आइतबार, ०३ वैशाख २०८०, १९ : २४
आइतबार, ०३ वैशाख २०८०

विराटनगर । धराने जनतालाई खानेपानी पर्याप्त दिने एजेण्डा लिएर निर्वाचन जितेका धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले संघ सरकारलाई खानेपानीको लागि योजना पार्न दबाब दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कोशीको पानी ल्याउने योजना संघ सरकारले नपारे सांसदहरुलाई धरानमा निषेध गर्ने उल्लेख गरेका छन् । ‘यसपालीको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरुलाई धरानमा निषेध गरिनेछ,’ उनले लेखेका छन्, ‘तल तीनकुने मै बोर्ड राखिनेछ फोटोसहितको ! ख्याल नठान्नु होला ! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु !’

उनको स्टाटसमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले ‘पूर्ण समर्थन’ भन्दै कमेन्ट गरेका छन् । ‘पूर्ण समर्थन, गर्ने नै यसै हो’, बालेन शाहले भनेका छन् । साम्पाङको उक्त पोष्ट १९ घण्टामा भाइरल नै बनेको छ । हालसम्म साम्पाङको स्टाटसमा ४९ हजारले लाइक, ६ हजार बढी कमेन्ट र ९ सय शेयर भएको छ ।

बालेन शाहले दिएको समर्थनको स्टाटसमा मात्रै २९ हजारले लाइक गरेका छन् भने १ हजार ३ सयले कमेन्ट गरेका छन् । स्टाटसको कमेन्टमा अधिकांशको समर्थन छ ।

साम्पाङले सामाजिक सञ्जालमा लेखेको कुरा आफूलाई थाहा नभएको सोही क्षेत्रका प्रदेश सांसद विजयकुमार राईले बताए । सुनसरी क्षेत्र नम्बर १ (२)बाट निर्वाचित राईले आफूहरुले खानेपानी ल्याउने विषयमा प्रमुख हर्क साम्पाङलाई सहयोग गर्ने पनि बताए । ‘उहाँले के भन्नुहुन्छ, त्यो सरोकारको विषय भएन, राम्रो कामलाई हामी सहयोग नै गर्छौं,’ सांसद राईले भने, ‘धराने जनतालाई खानेपानी ल्याएर खुवाउने कुरामा हामी सकारात्मक सहयोग गर्छौं ।’

धरानकै क्षेत्रबाट निर्वाचित संघीय सांसद भने अशोक राई हुन् । जसपाका वरिष्ठ नेतासमेत रहेका उनी हाल संघीय सरकारका शिक्षामन्त्री पनि हुन् ।

श्रम अभियानले खानेपानी समस्या टर्दै

साम्पाङको श्रम अभियानकै कारण धरानमा खानेपानी समस्या समाधान भएको देखिन्छ । हरेक चैत/वैशाखमा यहाँ खानेपानीको चरम अभाव हुनेगर्थ्यो । तर, यस पटक त्यस्तो अभाव छैन । धरानमा दैनिक ३ करोड लिटर खानेपानी आवश्यक पर्छ । तर, यसअघि धरानमा आपूर्ति हुँदै आएको खानेपानीको परिमाण दैनिक डेढ करोड लिटरमात्रै थियो । त्यही कारण चैत महिनामा धरानका मानिस काकाकुल जस्तै बन्दथे ।

हर्क साम्पाङ प्रमुख भएपछि भने पकुवा खोला, निशाने खोला, सर्दु, खर्दु र भालुखोलाबाट धरानमा पानी थप्ने श्रम अभियान चल्यो । त्यही कारण अहिले धरानका सडकमा खानेपानीको ट्याङ्कर कुदेका छैनन् ।

खोलाबाट थपेका पानीको मापन ठ्याक्कै नगरे पनि दैनिक ५० लाख लिटर पानी थपिएको धरानको खानेपानी बोर्डको अनुमान छ । डेढ करोड लिटर पहिलेदेखि नै आपूर्ति हुन्थ्यो । त्यसमा ५० लाख लिटर थपिएपछि धरानमा दैनिक २ करोड लिटर खानेपानी उपलब्ध छ । यसले धेरै सहज भएको छ । तर, यही अभियान खानेपानी समस्या समाधानको दीर्घकालीन उपाय नभएको मेयर साम्पाङको भनाइ छ ।

उनको दीर्घकालीन योजना भनेको धरानमा कोशीको पानी लिफ्टिङ गरेर ल्याउने नै हो । त्यही कारण उनी भन्छन्, ‘यस पटक संघीय सरकारले कोशीको पानी ल्याउने योजना नपारे, सांसदलाई धरान प्रवेशमा निषेध गरिनेछ ।’

धरानका प्रमुख साम्पाङले भने शनिबार पनि कोकाहा खोलाबाट पानी ल्याउने अभियान चलाएका थिए । अभियानमा धरानका सयौं मानिस सहभागी देखिन्छन् । उनीहरूको फोटो पोष्ट गर्दै साम्पाङले स्टाटस लेखेका छन्, ‘सक्छु भन्नुपर्छ ! हुन्छ भन्नुपर्छ ! यो पाइप उठाएसरी यो देशलाई जुरुक्कै उठाउने हो ! जय श्रमदान !’

साम्पाङ आफैं पनि खानेपानीको पाइप तानिरहेका छन् । उनीसँगै स्थानीयहरुको लर्को लामै देखिन्छ । 

Harka Storry

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप