बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

अङ्ग्रेजविरुद्ध युद्ध जितेको स्मरणमा यसरी मनाइयो ‘जितगढी उत्सव’ (तस्बिरसहित)

बिहीबार, ०७ वैशाख २०८०, १७ : ३९
बिहीबार, ०७ वैशाख २०८०

रुपन्देही । नेपाल र अङ्ग्रेजको युद्धमा नेपालले विजय हासिल गरेको खुसीयालीमा बिहीवार बुटवलमा जितगढी उत्सव मनाइएको छ । वि.सं. १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही दिनको स्मरण गर्दै जितगढी उत्सव मनाइएको हो ।
सो अवसरमा गोरखादेखि पैदल यात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत गरिएको थियो । कार्यक्रममा कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गर्नुका साथै विभिन्न झाँकी र वीरताको प्रतिक नृत्यसमेत प्रदर्शन गरिएको थियो ।

बुटवल उपमहानगरपालिकाले आयोजना गरेको उत्सवमा पूर्वमन्त्री तथा संसाद भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल लगायतले जितगढी किल्ला वीरताको प्रतिक भएको उल्लेख गरे । जितगढीलाई विश्वभर चिनाउनुपर्ने उनीहरुको भनाइ थियो ।

सेनाको पदयात्रा सकियो
नेपाली सेनाले गोरखाबाट सुरु गरेको पदयात्रा बुटवलको जितगढीमा पुगेर समापन भएको छ । गत चैत २८ गते गोरखादेखि राज्य एकीकरण मार्ग हुँदै विजय उत्सव मनाउन हिँडेको सेनाको पदयात्रा टोली बिहीबार बुटवलको जितगढी आइपुगेको हो । नेपाली सेनाका क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा ४८ जनाको टोली गोरखाबाट जितगढीका लागि निस्केको थियो । नेपालको राष्ट्रिय झण्डाको साथमा ५ प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख) र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजा गाजासहित सेनाको टोली पदयात्रामा निस्किएको थियो ।

jetgadhi-bijayausab (1)

गोरखाबाट प्रस्थान गरेको टोलीले सतीघाट पुगेर तनहुँको टोलीलाई झण्डा हस्तान्तरण गरेका थिए भने तनहुँको टोलीले केलादीघाट पुगेर पाल्पालाई तथा पाल्पाले नुवाकोटगढी पुगेर रुपन्देहीलाई झण्डा हस्तान्तरण गरेको मध्यपश्चिम प्रितना हेडक्वाटर बुटवलका प्रितनापति याम ढकालले जानकारी दिए । रुपन्देहीको टोलीले जितगढी विजय उत्सवको दिन पारेर बिहीबार जितगढी पुर्याएपछि कर्णेल उजिर सिंहको शालिकमा माल्यार्पणपछि यात्रा समापन गरिएको हो ।

सेनाको टोलीलाई पुरानो बुटवलस्थित सिद्धिविनायक गणेश मन्दिरसम्म बुटवल उपमहानगरका प्रमुख खेलराज र पृतनापति यमप्रसाद ढकालसहितको टोली लिन पुगेको थियो । सो स्थानबाट विभिन्न जातीय तथा धार्मिक झाँकी र बाजागाजासहित जितगढी किल्लामा आएर पदयात्रा समापन गरिएको थियो । सम्वत् १८७१ मा स्थल मार्गबाट अंग्रेजले बृहत गोर्खा अधिराज्यसित ६–७ ठाउँबाट युद्ध सुरु गरे पनि जितगढी कमाण्डमा कर्णेल उजिरसिंह नेतृत्वको नेपाली फौजले कम्पनी सेनालाई पराजित गर्दै गोरखपुरसम्म लखेटेको थियो । अन्य स्थानहरुमा बहादुरी देखाउँदा देखाउँदै पनि नेपाली फौज असफल हुँदा जितगढी किल्लाको फौज भने युद्धमा अंग्रेज फौजलाई परास्त गर्न सफल भएको थियो ।

jetgadhi-bijayausab (2)

नेपाल–अङ्ग्रेज युद्धको पृष्ठभूमि र किल्ला
२१ पुस १८७१ देखि १८७२ सम्म नेपाल–अङ्ग्रेजका बीचमा युद्ध भयो । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडे पनि जित हात पार्न सकेको थिएन । कुमाउ–गडवाल (नाहान), मकवानपुरगढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाइँ भयो । तर बुटवलमा भने नेपालले जित हासिल गरेको थियो । जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले सेना पठाएको थियो ।

पाल्पा राज्य कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढेको थियो । अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भएको थियो । युद्धमा अंग्रेज टोलीले ठूलो क्षति व्यहोरेर फिर्ता गएको थियो । जनरल उडकै नेतृत्वमा तीन महिनापछि फेरि उनीहरूले बुटवलमा आक्रमण गरे । आक्रमणबाट बुटवलमा रहेको दरबार ध्वस्त भयो । दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेजहरूमाथि आक्रमण गरे । यो लडाइँमा पनि नेपाली सेनाले प्रतिकार गरी अंग्रेजहरूलाई पराजित गरे । अंग्रेजतर्फ ठूलो क्षति भयो ।

jetgadhi-bijayausab (3)

पाल्पा बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अङ्ग्रेज फौजमाथि ७ वैशाख १८७२ मा विजय हासिल गर्यो । युद्धमा विजय हासिल गरेपछि उजिरसिंहले पाल्पामा विजयोत्सव मनाएका थिए । दुईसय वर्ष अघिदेखि पाल्पाको तानसेनमा प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विजयोत्सव मनाइन्छ । जुन रणउजेश्वरी भगवती जात्राको नामले चिनिन्छ । 

jetgadhi-bijayausab (1)

यस्तो छ गढी
पाँच सय वर्गफिट इलाकामा फैलिएको यो गढी पूर्वपश्चिम लम्बाई २ सय ५ फिट छ र चौडाई करिब ५५ फिट छ । गढीको जग निकै फराकिलो छ र गढीको गाह्रो क्रमशः माथितिर साँघुरो हुँदै गएको छ । गढीको भित्री भागबाट पर्खालको उचाई ४ फुट ३ इन्च र १० इन्च चौडा रहेको भित्ताको मोटाई ८ फुट ४ इन्च रहेको र गढीको भित्री भाग खुल्ला छ । पुरातात्विक र ऐतिहासिक महत्व बोकेको यो गढी १६ औं शताब्दीतिर सेन कालमा निर्माण भएको मानिएको छ । तिनाउ नदीको दायाँ किनारमा अवस्थित गढीको नामकरण उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले पराक्रम र चलाखी देखाई यसै गढीमा बसेर कम्पनी सरकारको फौजलाई हराएकाले जितगढी भनिएको जनश्रुति छ । 

jetgadhi-bijayausab (3)jetgadhi-bijayausab (4)jetgadhi-bijayausab (7)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप