आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पिताजीको स्वप्नबाटिका ‘नर्भिक’

आइतबार, १० वैशाख २०८०, १९ : ११
आइतबार, १० वैशाख २०८०

बसन्त चौधरी

नर्भिक अस्पतालको तीसौं वर्ष प्रवेशको यो सुखद उपलक्ष्यमा आज यहाँहरूमाझ म देख्दैछु– मेरा पिताजीले देख्नुभएको सपना, जसमा जीवनको दृढता, रोगमुक्ति, रोगसँग लड्न समर्थ नेपालको परिकल्पना र स्वस्थ जीवनका प्रणहरु साकार भएको ।

म देखिरहेको छु– मेरो पिताकोजीको स्वप्नबाटिका, जहाँ सुन्दर फूलहरु रोगमुक्त मुस्कान फिजाउँदै फूलिरहेका छन् । जहाँ रोगको प्रवेश बर्जित छ, रोगीहरु स्वस्थ हुने क्षणलाई नजिकबाट अनुभव गरिरहेका छन् ।

यस्तो स्वप्नबाटिकाको परिकल्पनाकार मेरा पुजनीय पिता स्व. लुनकरणदास चौधरीज्यूको आज १०१ औं जन्मजयन्ती पनि हो । म यसै मञ्चबाट उहाँलाई हार्दिक स्मरण गर्दै श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।

साथै, यहाँहरुको कृपापूर्ण उपस्थितिका लागि पनि कृतज्ञता व्यक्त गर्दै नव वर्षको आत्मीयतापूर्ण शुभकामना अर्पण गर्न चाहन्छु । यहाँहरुको नर्भिकप्रतिको स्नेहका लागि कृतज्ञता व्यक्त गर्न उचित शब्दहरु मसँग छैनन् ।

नर्भिक नामले मात्र होइन, आफ्नो कामले परिचित भएको छ । ३० वर्षअघि रोपिएको बिउबाट हुर्किएको नर्भिक आफ्नो लक्ष्यप्रति इमानदारिताका साथ अघि बढ्दै यो अवस्थामा पुगेको संस्था हो । भनिन्छ– सफल हुनु धेरै ठूलो कुरा होइन, तर सफलता जोगाउन सक्नु सबैभन्दा ठूलो कुरा हो । त्यो सबैभन्दा ठूलो चुनौती हो ।

यहाँहरु जस्ता संरक्षकहरुको सद्भाव र प्रेरणा, यहाँ कार्यरत दक्ष जनशक्तिको कर्मठता र कर्तव्यपरायणताका कारण नर्भिक आज यो उचाइसम्म पुग्न सफल भएको छ । म यहाँहरु सबैलाई विश्वास दिलाउन चाहन्छु, नर्भिक सदा इमानदारिताकापूर्वक आफ्नो लक्ष्यप्रति समर्पित भइरहनेछ ।

वास्तवमा भन्ने हो नर्भिकको बारेमा हामीले केही बोल्नुपर्दैन । बोल्छन् ती रोगीका असंख्य आँखाहरु, अनि आफन्तहरु जो यहाँबाट उपचारित भएर स्वास्थ्यलाभ गरिरहेका छन् । ती आशीर्वादका हातहरु, जुन यस स्वस्थ धामको कणकणमा फैलिएका छन् । आज नर्भिक भन्नासाथ सेवा, स्वास्थ्य, सहृदयताको जुन बोध हुन्छ, मैले त्यसैलाई आफ्नो जीवनको परम उपलब्धि ठानेको छु ।

उपलब्धिको कुरा गर्दा म तीस वर्ष पूर्वतिर फर्किएर जब हेर्छु, केही मीठा, केही तीता, केही घतलाग्दा, केही गौरवपूर्ण क्षणको पथमा हिँडेका ती पदचापहरुलाई देख्छु । धेरै मान्छेलाई कौतुहलता भइरहनसक्छ, एउटा व्यापारिक घराना किन स्वास्थ्य क्षेत्रमा प्रवेश गरेको छ ? यसको पछाडि पक्कै केही न केही कारण हुनुपर्दछ । कोही मलाई सोध्थे– केले तपाईँलाई स्वास्थ्य सेवामा लगानी गर्न प्रेरित ग¥यो ? तब म सम्झन्छु, मेरो बचपन (बाल्यकाल) । मेरो जीवन बाल्यकालदेखि नै कहिल्यै धेरै स्वस्थ रहेन । र, आकस्मिक स्वास्थ्योपचारका क्रममा भारत जाँदा आफूले देखेका, भोगेका ती क्षणहरु म कहिल्यै पनि बिर्सिन सक्दिनँ ।

त्यो बेला दिल्लीमा अल इण्डिया इन्स्टिच्यूट(एम्स)बाहेक त्यो स्तरको अरु अस्पताल नै थिएन । न त कर्पोरेट अस्पतालहरु नै आइसकेका थिए । यो करिब ५२ वर्ष अगाडिको कुरा गर्दैछु म ।

हामी जतिसुकै भए पनि सामान्य नागरिकभन्दा आफूलाई बाहिर लगेर उपचार गर्नसक्ने सामथ्र्य भएको ठान्छौं । मैले आफ्नै आँखाले देखेको छु, एम्समा जाँदा भर्नाका लागि मेरा पिताजीले डाक्टरहरुको अगाडि हात जोडेको, झण्डै खुट्टा नै समाउनुभएको । म सम्झिन्छु– एम्सको कम्पाउण्डभित्रै त्यहाँको रुखमुनि मेरी आमाले खाना पकाएर खुवाउनुभएको । र, म यो पनि सम्झिन्छु– रगतको टाटा भएको शय्यामा सुतेको ।

मैले अघि बिजको कुरा गरेँ । त्यही नै बिज मेरो हृदयमा थियो । हामी अलि सक्षम हुँदाहुँदै पनि जब यति धेरै दुःख पाउँछौं भने सामान्य नागरिकको के हालत हुँदो हो ? त्यो नै एउटा प्रण थियो कि म नेपालमा एक दिन अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउनेछु ।

र, आजभन्दा ३० वर्षअगाडि यसको सुरुवात गरेँ । त्यसका साक्षी डा. एसके भट्टाचार्य आज यहाँ मौजुद हुनुहुन्छ । म उहाँप्रति हार्दिक नमन गर्न चाहन्छु । उहाँहरुको साथ, उहाँहरुको हौसला त्यो बेला नभएको भए यो कार्यको थालनी गर्न त्यति सजिलो हुने थिएन होला ।

हामीले थालनी त ग¥यौं । आफ्नो निजी सम्पत्ति थिएन । लिज्ड प्रोपर्टीमा सर्भिसेज सुरु ग¥यौं । सुरु गरेको केही महिनापछि हामी लखेटियौं । किनभने जब हस्पिटल चल्न थाल्यो, नाम कमाउन थाल्यो, घरधनीहरुलाई लोभ बढेर गयो । त्यसपछि एकठाउँबाट अर्काे ठाउँमा, अर्काेबाट अर्को ठाउँमा सर्दै स्थायी रुपमा थापाथलीमा हामीले थप लगानी गरी आफ्नै जग्गामा हार्ट कमाण्ड सेन्टर स्थापना ग¥यौं, जसले कार्डियाक इमेरजेन्सीलाई विश्वसनीय स्तरमा आफूलाई विकास गरेको थियो ।

प्रविधिको हिसाबले पनि नर्भिक सधैं अगाडि रह्यो । ३० वर्षअघि नेपालमा पहिलोपटक निजी क्षेत्रमा इको मसिन ल्याउने पनि नर्भिक नै हो । क्याथब्लयाब सुरु गर्ने पनि नर्भिक नै हो भने बाइपास सर्जरी सुरु गर्ने पनि नर्भिक नै हो । नर्भिकले यस्ता धेरै प्रथम कार्य गरेको छ । त्यसको फेहरिस्त मैले अहिले पढ्न थालेँ भने धेरै समयको आवश्यकता पर्दछ ।

पैसा कमाउन योभन्दा धेरै ठूला बजार र विकल्पहरु मौजुद छन् । तर, एउटा चित्कार गरिरहेको रोगी, जब स्वास्थ्यलाभ गरिसकेपछि हाँस्छ, मुस्कुराउँछ, त्यो हाँसोको शीतलता जबजब म अनुभव गर्छु, मलाई संसारका सारा कुराहरु फिक्का लाग्छन् । र, आफूमा जन्म–जन्मान्तरको तृप्ति अनुभव गर्दछु ।

सफलता, असफलता सँगसँगै आउने प्रयत्नहरु हुन् । जब हामी ‘म’को अहम् बाँच्छौं, असफलता हाम्रो नजिकनजिक आउँछ । जब हामी ‘हामी’को महानतालाई बुझ्न थाल्छौं, तब हामी सफल हुँदै जान्छौं । स्वास्थ्य सेवा केवल डाक्टर मात्र होइन, नर्समात्र होइन, पारामेडिक्समात्र होइन । केवल अस्पतालको सुविधासम्पन्न भवनमात्र पनि होइन । प्राविधिक, प्रशासनिक एवम् चिकित्सकहरुको सन्तुलित र समर्पित समूहको देन हो । जब सबैको यो निःस्वार्थ भाव समान रुपले एउटै गन्तव्यतर्फ अगाडि बढ्छ, तब त्यस कार्यले श्रेय प्राप्त गर्छ । त्यसैले आज नर्भिकको ३० औं वार्षिकोत्सवको यो हर्षाेल्लासमय समयमा म सम्पूर्ण नर्भिक परिवारलाई उहाँहरुको यो सफलताका लागि बधाई ज्ञापन गर्दै हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

आज यस अवसरमा हामीले यस स्थापनाकालदेखि नै सेवा पु¥याउँदै आउनुभएका हाम्रा प्रिय सहकर्मी साथीहरुलाई सम्मान गर्न पायौं, अत्यन्त हर्ष लागेको छ ।

जसरी स्वास्थ्य विज्ञानमा नयाँ नयाँ सम्भावनाहरु प्रतिदिन थपिँदैछन्, त्यसरी नै स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको चुनौती पनि बढ्दैछन् । हामीले आफ्ना योजनाहरुलाई दृष्टिगत गर्दा विश्वभर भइरहेको उपचार पद्धतिको द्रूत विकाससँगै आफूलाई साथसाथै लैजानुपर्ने आजको आवश्यकता छ । त्यसैले हाम्रा जिम्मेवारीहरु विशाल छन्, गहन छन् । ती जिम्मेवारीहरुलाई आत्मासात् गर्दै, हामी राष्ट्रलाई समुन्नत चिकित्सा प्रणाली प्रदान गर्ने प्रण गर्दछौं । मानवीय सेवालाई व्यापकता दिन कटिबद्ध छौं । तर, सेवा विस्तारका नयाँ नयाँ चुनौतीसँगै ती चुनौतीसँग जुध्न नयाँ जोस र जाँगरको पनि आवश्यकता रहेको म निवेदन गर्न चाहन्छु ।

मैले मेरो जीवनको आधा समय नर्भिकलाई अर्पण गरेँ, र नर्भिकलाई आजको यो अवस्थामा लिएर आएँ । त्यसैले अब मलाई विश्वास छ, चौधरी परिवारका नयाँ जोस र जाँगर एवम् मेरी प्रिय पुत्री मेघाले ती चुनौतीलाई अवसरको रुपमा लिनेछिन् र नर्भिकलाई थप उचाई प्रदान गरी हामी सबैलाई गौरवान्वित तुल्याउनेछिन् ।

अन्त्यमा आजको दिनले र विशेषतः यहाँहरुको कृपापूर्ण उपस्थितिले मलाई आफ्नो मानवीय र सामाजिक प्रतिबद्धतामा अघि बढ्न ठूलो हौसला दिएको छ । साथै यस अवसरमा हामीलाई सधैं हौसला, सुझाव, सहयोग गरिदिनुहुने नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, मन्त्रालयका विशिष्ट अधिकृतहरु, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष एवम् सदस्यहरु, काठमाडौं महानगरपालिकाका मेयर, उपमेयर, महानगरका सदस्यहरु, वडानम्बर ११ का अध्यक्ष तथा सदस्यहरु, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकका उच्चपदस्थ अधिकारीहरु सबैमा हार्दिक नमन गर्दछु ।

यहाँहरुको माया, सद्भाव यसरी नै हामीले पाइरहनेछौं भन्ने पनि मैले विश्वास लिएको छु । साथै आगामी दिनमा नर्भिक अझ बढी व्यापकता, प्रविधि एवं दक्षताका साथ यहाँहरुको सेवा गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

(नर्भिक इन्टरनेशनल हस्पिटलका संस्थापक चौधरीले हस्पिटलको ३० औं वार्षिकोत्सव अवसरमा शुक्रबार साँझ काठमाडौंमा आयोजित समारोहमा व्यक्त विचारको सम्पादित अंश)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप