विरासत जोगाउने दाउमा स्पेन र उरुग्वे, केप भर्डेको ऐतिहासिक प्रदर्शनले समीकरण रोचक
सारांश
- फिफा विश्वकप २०२६ को समूह 'एच' अन्तर्गत स्पेन र उरुग्वेबीचको खेल नेपाली समय अनुसार शनिबार बिहान ५ः४५ बजे हुनेछ ।
- स्पेन ४ अंकसहित शीर्ष स्थानमा छ भने उरुग्वे २ अंकसहित दोस्रो स्थानमा छ ।
- केप भर्डेको ऐतिहासिक प्रदर्शनले समूहको समीकरण रोचक बनेको छ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘एच’ अन्तर्गत आज निकै रोचक र निर्णायक खेल हुँदै छन्, जहाँ दुई पूर्व विश्व विजेता टोलीहरू स्पेन र उरुग्वे आमनेसामने हुनेछन् । मेक्सिकोको गुआडालाजारा स्टेडियममा हुने यो प्रतिस्पर्धा नेपाली समय अनुसार शनिबार बिहान ५ः४५ बजे सुरु हुनेछ ।
सन् २०१० को विश्व विजेता स्पेन र सन् १९३० को पहिलो विश्वकप आयोजक तथा विजेता उरुग्वे दुवैका लागि अघिल्लो चरण प्रवेश गर्न यो खेल वारपारको लडाइँ जस्तै बनेको छ।

स्पेनको जारी विश्वकप यात्रा केही उतारचढावपूर्ण देखिएको छ । आफ्नो पहिलो खेलमा नवप्रवेशी टोली केप भर्डेसँग गोलरहित बराबरीमा रोकिँदै अंक बाँडेको स्पेनले दोस्रो खेलमा भने साउदी अरेबियालाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै उत्कृष्ट पुनरागमन गर्यो ।
हाल २ खेलबाट ४ अंक जोडेको स्पेन समूहको शीर्ष स्थानमा छ । उता, पहिलो विश्वकपको फाइनलमा अर्जेन्टिनालाई ४–२ ले हराएर इतिहास रचेको उरुग्वे यस पटक भने आफ्नो लय खोजिरहेको छ । सुरुवाती दुई खेलमा बराबरी खेलेको उरुग्वे २ अंकका साथ दोस्रो स्थानमा छ र उसलाई अघिल्लो चरण पुग्न आजको खेलमा जित निकाल्नुपर्ने दबाब छ ।

यसै समूहमा पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले सबैलाई अचम्ममा पारेको छ । दुई पूर्व विश्व विजेताहरू स्पेन र उरुग्वे दुवैलाई बराबरीमा रोकेर ऐतिहासिक प्रदर्शन गरेको केप भर्डेको आत्मविश्वास अहिले उच्च छ । २ खेलबाट २ अंक नै जोडेको केप भर्डेले आजै हुने अर्को खेलमा साउदी अरेबियाको सामना गर्दैछ । केप भर्डेको यो सनसनीपूर्ण प्रदर्शनले गर्दा स्पेन र उरुग्वे दुवैलाई समूहको समीकरण मिलाउन निकै सकस परेको छ । साउदी अरेबिया भने १ अंकका साथ तालिकाको पुछारमा छ ।

अन्तिम ३२ को समीकरण हेर्दा, स्पेनका लागि आजको खेलमा बराबरी मात्रै पनि अघिल्लो चरण पुग्न पर्याप्त हुनेछ । तर, यदि स्पेन पराजित भयो र अर्को खेलमा केप भर्डेले साउदीलाई हरायो भने स्पेनको यात्रा जोखिममा पर्न सक्छ । यद्यपि, साउदीविरुद्धको फराकिलो जितले स्पेनको गोल अन्तर निकै राम्रो छ, जसले उसलाई केही राहत दिएको छ । उरुग्वेको अनुभव र केप भर्डेको बलियो चुनौतीका बिच स्पेन आज आफ्नो विरासत जोगाउँदै समूह विजेताको रूपमा नकआउट चरणमा पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण