प्रधानमन्त्रीको सचिवालय : आकार ठूलो, प्रभावकारिता न्यून
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको चार महिना पुग्दासमेत प्रधानमन्त्रीको सचिवालयले पूर्णता पाएको छैन । सचिवालयमा नियुक्ति पाइसकेकाहरूको भूमिकाका सन्दर्भमा पनि प्रश्न उठ्न थालेको छ । जसले गर्दा सरकारले गरेका कतिपय महत्त्वपूर्ण निर्णयहरू आम जनताको नजरमा ‘कुहिरोको काग’ बनिरहेका छन् ।
सरकारले गरेका महत्त्वपूर्ण निर्णयको प्रचारमा मात्र नभएर सरकारविरुद्ध हुने गरेका प्रचारलाई समेत प्रधानमन्त्रीको सचिवालयले पूर्णतया बेवास्ता गर्दा जनमानसमा भ्रम सिर्जना भएको छ भने सरकारले जस पाउनुपर्ने विषयमा पनि आरोप र आलोचना खेप्ने गरेको छ ।
‘यी सचिवालय सक्रिय, सक्षम र प्रभावकारी हुन नसकेको हो कि भन्ने देखिएको छ ।’
प्रधानमन्त्रीका सल्लाहकार र सचिवालयका कर्मचारी गरी २० जना कार्यरत छन् तर उनीहरूले प्रभावकारी नतिजा देखाउन सकेका छैनन् । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा पार्टी उपमहासचिव हरिबोल गजुरेल, जनसम्पर्क सल्लाहकारमा देवेन्द्र पराजुली, प्रशासन सल्लाहकारमा रामदीप आचार्य, प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् । प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार, आर्थिक सल्लाहकार अझैसम्म नियुक्त भएका छैनन् । तर नियुक्ति पाइसकेकाहरूले पनि राम्रोसँग जिम्मेवारी निर्वाह गर्न नसकेको माओवादी केन्द्रकै नेता तथा कार्यकर्ताको भनाइ छ ।
सरकारले गरेको राम्रा कामको समेत प्रधानमन्त्री सचिवालय, मन्त्री र पार्टीका नेताहरूले प्रचार गर्न नसकेको पार्टी सचिव गणेश शाहले स्वीकार गरे । ‘प्रधानमन्त्रीज्यूको सचिवालयले सकारात्मक कुरालाई प्रमोट गर्ने र नकारात्मक कुरालाई न्युट्रल गर्ने सवालमा जति गर्नुपर्ने हो, त्यति क्षमता देखाउन सकेको छैन,’ उनले भने, ‘यी दुवै विषयमा सचिवालय सक्रिय, सक्षम र प्रभावकारी हुन नसकेको हो कि भन्ने देखिएको छ ।’
प्रधानमन्त्री तथा आफ्नो पार्टीका मन्त्रीले राम्रै काम गरिरहेको र आफ्नो भूमिका सक्रियतापूर्वक निर्वाह गरिरहेको भए पनि तिनलाई सकारात्मक ढंगले प्रवाह गर्ने काममा सचिवालय चुकेको महसुस भइरहेको उनको आशय थियो ।
सरकारले गरेका राम्रा कामलाई प्रचार गरेर स्थापित गर्नुपर्नेमा उनको जोड छ । ‘सरकारले गरेका राम्रा कामलाई पार्टीका नेताहरूले प्रचार गर्ने र त्यसलाई स्थापित गर्नुपर्ने हो तर त्यसतर्फ पटक्कै लागेको देखिएन,’ उनले भने, ‘सरकारले गरेको कामको प्रचार गर्न ऊर्जा कम भएजस्तो देखियो ।’
सरकारका काम कारबाहीले पार्टी बलियो हुने भए पनि नेताहरू कम सक्रिय भएको भन्दै शाहले दुःख व्यक्त गरे । पार्टीमा असन्तुष्ट भएर नेताहरू कम बोलेको हो कि भन्ने आफूलाई आभास हुन थालेको उनको भनाइ छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्रीको सचिवालय यति सङ्ख्यामा हुनुपर्छ भन्ने मापदण्ड नभएको बताए । ‘प्रधानमन्त्रीको क्षमता कति हो ? प्रधानमन्त्रीले सचिवालयबाट कसरी काम लिने हो ? विषय विज्ञको रूपमा सहयोगी कति जना चाहिने हो ? त्यसैमा सचिवालयको सङ्ख्या निर्धारण हुने हो,’ भट्टराईले भने ।
प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार देवेन्द्र पराजुली प्रभावकारी काम गर्ने गरी प्रधानमन्त्रीले चुस्त सचिवालय बनाएको दाबी गरे ।
प्रधानमन्त्रीले आर्थिक, जनसम्पर्क, राजनीतिक व्यवस्थापन, विद्युत् लगायत कुन कुन क्षेत्रलाई प्राथमिकतामा राख्नु भएको छ भन्ने कुराले पनि सचिवालयको आकार र सङ्ख्या निर्धारण गर्ने उनको भनाइ छ ।
मुलुकको अर्थतन्त्र कमजोर भएको बेलामा सचिवालयको सङ्ख्या सानो बनाउँदा राम्रो हुने भट्टराईले बताए । ‘प्रधानमन्त्रीले यो विषयमा यो व्यक्तिबाट सल्लाह लिनुपर्छ भन्ने आधारमा सल्लाहकार नियुक्त गरिन्छ,’ उनले भने, प्रधानमन्त्रीले सल्लाह नसुन्ने र प्रधानमन्त्रीलाई सल्लाह दिन नसक्ने अवस्थामा नाममात्रको सल्लाहकार बनेर बस्न हुँदैन भन्ने लाग्छ ।’
तर, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार देवेन्द्र पराजुली प्रभावकारी काम गर्ने गरी प्रधानमन्त्रीले चुस्त सचिवालय बनाएको दाबी गरे । ‘प्रधानमन्त्रीज्यूले सचिवालय चुस्त र व्यवस्थित हुने गरी सानो बनाउनु भएको छ । हामीले आवश्यक ठानेको अवस्थामा भेटेर सल्लाह दिने गरेका छौँ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले सल्लाह लिन आवश्यक ठान्नुभयो भने बोलाएर सुझाव सल्लाह लिनुहुन्छ ।’
पराजुलीका अनुसार अरू विज्ञ र सचिवालयमा रहेका कर्मचारीको कार्यविभाजन गरिएको छ । सचिवालयका कर्मचारीलाई कार्यविभाजन गर्दा के कति काम भएको छ भन्ने विषयमा प्रधानमन्त्रीले अपडेट लिने गरेको उनले बताए ।
गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस ११ गते शपथ लिएका थिए । प्रचण्ड नेतृत्वको सरकार बनेको एक सय २४ दिन पूरा भएको छ । प्रधानमन्त्री भएको चार महिना पुग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन भने सचिवालयसमेत अपूर्ण छ ।
प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल, गंगा दाहाल, स्वकीय उपसचिवमा ओमकुमारी पौडेल, रमेश गुरागाई, सावित्री अधिकारी, गोकर्ण भट्ट छन् ।
यस्तै जनसम्पर्क विज्ञमा बुद्धि जिसी, प्रेस विज्ञमा मनहरि तिमिल्सिना, प्रेस संयोजक सूर्यकिरण शर्मा, सूचना प्रविधि विज्ञ प्रकाश रायमाझी नियुक्त भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयमा निजामतीतर्फबाट सहसचिव नवराज ढुंगाना, शाखा अधिकृतहरू सागर केसी, सन्तोष ढुंगाना र मोहोदत्त अधिकारी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण