शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

बजेट अगाडि नै कोशी प्रदेशको सरकार परिवर्तन हुन्छ : ज्ञानेन्द्रबहादुर कार्की

सोमबार, १८ वैशाख २०८०, १७ : ०७
सोमबार, १८ वैशाख २०८०

केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरुको नेतृत्वमा ७ मध्ये ६ वटा प्रदेशका सरकार निर्माण भएका छन् । गठबन्धन दलमध्ये सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गरिरहेको छ । कर्णाली र बागमती प्रदेशमा माओवादी र मधेस प्रदेशमा जनता समाजवादी पार्टीले सरकारको नेतृत्व गरिरहेको छ । कोशी प्रदेशमा भने एमालेको नेतृत्वमा सरकार छ । केन्द्रमा एमाले प्रतिपक्षको भूमिकामा छ ।

अब एमाले नेतृत्वको कोशी प्रदेश सरकार परिवर्तनको खेल जारी छ । तर, कोशी प्रदेशसभाको समीकरणले सत्ता गठबन्धनलाई अनुकुल परिस्थिति बन्ने देखिएको छैन । यद्यपि आगामी असार १ मा बजेट ल्याउनु अगाडि नै कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने कांग्रेसका एक प्रभावशाली नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । उनले अन्य प्रदेशमा जस्तै कोशी प्रदेशमा पनि सरकार परिवर्तन अपरिहार्य रहेको बताए । प्रस्तुत छ, कांग्रेस नेता कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंशः

कोशी प्रदेशमा सरकार परिवर्तनको कुरा चलिरहेको छ । नेपाली कांग्रेसले कसरी हेरिरहेको छ ?

प्रदेशका साथीहरू पनि सरकार परिवर्तनका निमित्त छलफल चलाइरहनु भएको छ । केन्द्रमा पनि यसबारे छलफल चलिरहेको छ । चाँडै नै बजेट ल्याउनु पर्ने दायित्व पनि भएको हुनाले सबै कुरालाई ध्यानमा राखेर केन्द्रमा छलफल चलिरहेको छ । निष्कर्षमा पुग्ने हिसाबले छलफल अगाडि बढ्छ ।

हप्ता दिनभित्र वा एक दुई दिनभित्रै कुनै निष्कर्ष निस्कन्छ ?

अहिलेको आवश्यकतालाई ध्यानमा राखेर छलफल अगाडि बढेको छ । त्यसअनुसार चाँडै नै परिणाम हासिल हुन्छ ।

भनेपछि कोशी प्रदेश सरकार परिवर्तन हुन्छ ?

अन्य सबै प्रदेश सरकार परिवर्तन भइसकेको छ । कोशी प्रदेशको अहिलेको सरकार पनि परिवर्तन गर्नु आवश्यक छ । किनभने हाम्रो गठबन्धनले हाम्र्रै नीति तथा कार्यक्रम लागू गर्न चाहन्छ । त्यसका निमित्त सरकार परिवर्तन अपरिहार्य छ । असारमा बजेट प्रस्तुत गर्नुभन्दा अगाडि नै सरकारको नेतृत्व परिवर्तन हुन्छ भन्ने मलाई लाग्छ । त्यही दिशातर्फ प्रदेशको राजनीति पनि अगाडि बढेको छ ।

प्रदेशमा कसको नेतृत्व हुन्छ ?

त्यो चाहिँ छलफलमै छौं ।

कोशी प्रदेशसभाको समीकरण अलिक जटिल देखिन्छ । बहुमत कसरी पु¥याउनु हुन्छ ?

हामी सहजताका साथ बहुमतमा लैजाने प्रयास गरिरहेका छौं । हामीले त्यस दिशामा छलफल केन्द्रित गरेका छौं ।

यसको मतलब राप्रपासँग छलफल भएको छ ?

सबै विषयमा छलफल भइरहेको छ । राप्रपासँग पनि छलफल भइरहेको छ ।

राप्रपाको प्रतिक्रिया के छ ? हामी एमालेबाहेक जानै सक्दैनौं भन्ने छ कि अरू कुनै शर्तमा नयाँ गठबन्धनमा पनि आउँछौं भन्ने छ ?

हामीले छलफल नै गरिरहेका छौं । हाम्रो पक्षमा निष्कर्ष आउँछ भन्ने विश्वास छ ।

राप्रपाले मुख्यमन्त्री मागेको छ ?

होइन, हामीले छलफल गरिरहेका छौं । हामीले विभिन्न विकल्पमा छलफल चलाउँछौं ।

यसको अर्थ राप्रपालाई मुख्यमन्त्री दिएर पनि सरकार बनाउन सक्ने एउटा विकल्प हुनसक्छ ?

अहिलेको आवश्यकता, सांसद संख्याको अवस्थालाई हेरेर पनि हामीले छलफललाई अगाडि बढाउन जरुरी छ ।

नेपाली कांग्रेस संसदीय दलमा पनि दलको नेता उद्धब थापालाई मुख्यमन्त्री बन्नबाट रोक्न अर्को पक्षले लागेको भन्ने छ । खास के हो ?

त्यस्तो हुँदैन । इच्छा सबैको हुन्छ । तर, जो संसदीय दलको नेता हुन्छ, उसैले सरकारको नेतृत्व गरेर अगाडि बढ्छ ।

कोशी प्रदेशको नेतृत्व कांग्रेसले नै गर्छ भन्ने विषय टुंगिएको छ र ?

टुंगिएको त छैन । यो विषय पनि छलफलकै क्रममा छौं । अहिले सबै साथीहरुको सोच पहिलो चरण नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश सरकार बन्नुपर्छ भन्ने छ ।

गण्डकी, लुम्बिनी, सुदूरपश्चिममा पनि कांग्रेसको नेतृत्व आएको कारणले कोशी प्रदेशमा अर्कोले पाउनु पर्छ भन्ने पनि त होला नि ?

हामी आलोपालोमा जान्छौं । अहिले पहिलो चरणमा कांग्रेसले पाउनु पर्छ । विगतमा पनि कांग्रेसले नेतृत्व गर्ने अवसर नपाएको हुनाले यस पटक पाउनुपर्छ भन्ने साथीहरुको धारणा छ ।

प्रदेशसभाको जटिल समीकरणका कारणले कोशी प्रदेश मध्यावधिमा जान्छ भन्ने पनि अड्कलबाजी भइरहेको छ । खास कुरा के हो ?

मध्यावधि अहिलेको आवश्यकता पनि होइन र मध्यावधितर्फ प्रदेशलाई लाने कसैको पनि उद्देश्य छ जस्तो मलाई लाग्दैन । मध्यावधिमा जानुपर्ने जरुरत नै छैन । मध्यावधि यसको समाधान होइन । जनताले भर्खरै निर्वाचित गरेको ६ महिना पनि भएको छैन । यस्तो अवस्थामा मध्यावधिमा जाने कुराले प्रदेशको अस्थिरतातर्फ जाने भएकाले मध्यावधिमा जाने कुरा सोच्न सकिँदैन ।

अलिकति राष्ट्रिय राजनीतितिर जाऔं । राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार सरकारप्रतिको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा निर्णय गर्ने भनेको छ, बाहिरियो भने के होला ?

त्यो उहाँहरुले निर्णय नगरेसम्म भन्न सकिँदैन ।

यदि त्यस्तो भयो भने के होला ?

यो गठबन्धनको सरकार पाँच वर्ष चल्छ ।

प्रचण्डको नेतृत्वमा चाहिँ कति वर्ष टिक्छ ? आधा कार्यकाल प्रचण्डले पाउनु हुन्छ ?

यो गठबन्धनको सरकार पाँच वर्ष चल्छ र जे हाम्रो बीचमा सहमति भएको छ, त्यही अनुसार हुन्छ ।

अनि एमाले र कांग्रेस मिलेर सरकार बनाउने भन्ने कुरा पनि आइरहेको छ नि ?

अहिले एमाले र कांग्रेस मिलेर सरकार बन्दैन । पाँच दलीय गठबन्धन अहिले १० दलीय भएको छ । केही समय अलिकति अलमल भयो । तर यो गठबन्धन अहिले ठिक दिशामा अगाडि बढेको छ । मुलुकको हितका निमित्त, संविधानको रक्षाका निमित्त र देशलाई अब स्थिरता र समृद्धिको दिशामा अगाडि बढाउन गठबन्धनको आवश्यकता छ र पाँच वर्ष यही गठबन्धन अगाडि बढ्छ । एमाले पाँच वर्ष प्रतिपक्षमा रहनेछ । यो गठबन्धनले नै जनताको आवश्यकतालाई सम्बोधन गरेर अगाडि बढ्छ ।

पछिल्लो समयमा उपनिर्वाचनको विषयलाई लिएर फरकफरक टिप्पणी भइरहेको छ । यसलाई कसरी लिनुहुन्छ ?

जनताले अभिव्यक्त गरेको मतलाई हामीले सम्मान गर्नुपर्छ । जनमत छिनछिनमा परिवर्तन भइरहनु पर्छ । यसलाई पनि हामीले एक ढंगले विश्लेषण गर्नुपर्छ र ठूलो दलहरुमाथि धेरै ठूलो झड्का हो भन्ने पनि आम जानताको सोचाई छ । यसको विषयमा पनि ठूला दलहरुले पनि आफ्नो आत्मनिरीक्षण गर्नु जरुरी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप