शरणार्थीको नाममा ठग्नेहरूको बयानका आधारमा पूर्वगृहसचिव पक्राउ

काठमाडौँ । भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगी गर्ने गिरोहका सदस्यहरुको बयानका आधारमा पूर्वगृहसचिव पक्राउ परेका छन् । पूर्वगृहसचिव तथा हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत टेकनारायण पाण्डेलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।
परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले सचिव पाण्डेलाई राजधानीको पेप्सिकोलाबाट पक्राउ गरिएको रातोपाटीलाई जानकारी दिए । प्रहरीले बुधबार पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।
उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि पाण्डे गृह मन्त्रालयको सचिव थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको पाण्डेमाथि आरोप छ । आरोपीहरुले बयानका क्रममा उनको नाम पटक पटक मुछेको प्रहरी अधिकारीहरु बताउँछन् ।
प्रहरीको हिरासतमा हुनेहरूले सचिव पाण्डेलाई ५० लाख नगद बुझाएको बयान दिएका छन् । अनुसन्धानबाट पूर्व गृह सचिव महेश्वर न्यौपानेको पनि संलग्नता देखिएको प्रहरीको भनाइ छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘आरोपीहरूले पूर्व सचिव महेश्वर न्यौपानेसँग पनि कुरा भएको बताएका छन्, सो ठगीमा राजनीतिक र उच्च पदस्थ कर्मचारीको मिलेमतो देखिएको छ ।’
सचिव पाण्डे २०७९ भदौमा गृहबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा सरुवा भएका थिए । पाण्डेले भने पक्राउ परेकाहरु आफ्नो सम्पर्कका मानिस नभएको दाबी गर्दै आएका छन् । यसअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा ईन्द्रजित राईलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । नेपालीलाई भुटानी बनाउने गिरोहमा राजनीतिक संलग्नता रहेको प्रहरीले बताउँदै आएको छ ।
यो प्रकरणमा हालसम्म ७ जना पक्राउ परेका छन् । नेपालीलाई शरणार्थीको नाममा अमेरिका पठाउने धन्दामा ४१ करोडभन्दा बढी ठगी भएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् जोखिम न्यूनीकरणको तयारीमा लाग्न प्रचण्डको आग्रह
-
इजरायल–इरान युद्ध : नेपालीहरूको सुरक्षा र उद्धारका विषयमा छलफल
-
बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक
-
नेपालीहरूको उद्धार गर्न परराष्ट्र मन्त्रालयमा युनिट बनाइने
-
ढुण्डिराज लोकतन्त्रमा जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता हुनुहुन्थ्याे : राष्ट्रपति
-
ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने