मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

शरणार्थीको नाममा ठग्नेहरूको बयान : तत्कालीन गृह सचिवलाई ५० लाख बुझायौँ

हाइप्रोफाइल नै ठगीमा संलग्न रहेको आशंका
सोमबार, १३ चैत २०७९, १९ : ०६
सोमबार, १३ चैत २०७९

काठमाडौं । भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले आइतबार ३ जनालाई पक्राउ ग¥यो । पक्राउ पर्नेमा मोरङ घर भएका केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुरका सानु भण्डारी छन् । आरोपीहरूले १३ करोड ६३ लाख ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसीका अनुसार ८१ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् । आरोपीहरूले नेपाली नागरिकलाई शरणार्थीको परिचयपत्र बनाएर ‘अमेरिका सपना’ देखाएको अनुसन्धानबाट खुलेको छ ।

सो ठगीको शृङ्खला २०७७ देखि सुरु भएको थियो । रकम लिएपछि झापाको बेलडाँगी शिविर, मोरङको पथरी र चितवनको सफारी होटलमा बोलाएर आरोपीहरूले विभिन्न बहानामा हैरानी दिने तर अमेरिका नपठाएपछि पीडितहरू प्रहरीकहाँ पुगेका थिए । 

आरोपीहरूले तत्कालीन गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डे र महेश्वर न्यौपानेसँग मिलेमतोमा सो काम गरेको प्रहरीलाई बयान छन् । अहिले प्रहरीको हिरासतमा हुनेहरूले सचिव टेक नारायण पाण्डेलाई ५० लाख नगद बुझाएको बयान दिएका छन् । पाण्डे हाल उपराष्ट्रपतिको कार्यालयमा कार्यरत छन् ।

अनुसन्धानबाट पूर्व गृह सचिव महेश्वर न्यौपानेको पनि संलग्नता देखिएको प्रहरीको भनाइ छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘आरोपीहरूले पूर्व सचिव महेश्वर न्यौपानेसँग पनि कुरा भएको बताएका छन्, सो ठगीमा राजनीतिक र उच्च पदस्थ कर्मचारीको मिलेमतो देखिएको छ ।’ 

सचिव पाण्डे २०७९ भदौमा गृहबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा सरुवा भएका थिए । बालकृष्ण खाँण गृहमन्त्री हुँदा अमेरिका जान छुटेका ४ सय ६१ जनालाई प्रक्रिया बनाएर जिम्मा लगाउन झापाका सहायक प्रजिअको नेतृत्वमा समिति गठन गरियो । समितिले काम गरिरहेको तर, टुङ्गिन बाँकी रहेको तत्कालीन गृह–सचिव टेकनारायण पाण्डेले बताए । रातोपाटीसँग कुरा गर्दै सचिव पाण्डेले आरोपीहरूले लगाएको आरोप अस्वीकार गरे । उनले भने,‘पक्राउ परेकाहरु मेरो सम्पर्कका मानिस हैनन्, पैसा लिने कुरै भएन ।’ 

दाङ घर भएका सन्देश शर्माबिरुद्ध गृह मन्त्रालयमा त्यसबेला नै उजुरी परेको पाण्डेले जिकिर गरेका छन् । उनले भने, ‘हामीले प्रहरीलाई भनिरहेका थियौँ ।’ यसबारे रातोपाटीले सम्पर्क गर्दा न्यौपाने भने सम्पर्कमा आएनन् । 

सन्देश शर्मा मुख्य योजनाकार

दाङ घर भएका सन्देश शर्मा ठगीको मुख्य योजनाकार हुन् । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिलमा आबद्ध सन्देश आफू पनि अमेरिका जान्छु भन्थे । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएर धापखेल बस्ने ४९ वर्षीय केशव दुलालसँग मिलेर उनले समूह बनाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

दुलाल पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाको स्वकिय सचिव हुन् । सन्देश शर्माको योजनामा आरोपीहरूले भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा एक जना बराबर २० देखि २४ लाखसम्म रकम असुलेको थाहा भएको छ । पीडितहरूले २०७९ जेठ १८ मा उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका हुन् । ठगीको मुख्य योजनाकार शर्मा फरार रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. केसीले रातोपाटीलाई बताए ।

ठगीमा संलग्नहरूले पीडितहरूलाई बायोमेट्रिक गर्न भनेर बेलडाँगी, विराटनगर र सौराहा बोलाएर हैरानी दिएका थिए । पीडितहरूलाई उनीहरूले विराट मेडिकल कलेजमा बोलाएर मेडिकल गराएका थिए । तर, भनेको समयमा अमेरिका पठाउन नसकेपछि घटना बाहिरियो ।

ठगीमा संलग्न गिरोहले अमेरिका जान छुटेकाहरूलाई समेट्न तत्कालीन सह–सचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको समितिले बुझाएको सुझावमा अनुसूची नै थपेको भेटिएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीसँग भने, ‘आरोपीहरूले सो प्रतिवेदनको अनुसूचीमा पैसा लिएका मान्छेहरूको नाम थप्न सफल भएको अनुसन्धानबाट देखिन्छ ।’

उनीहरुले अमेरिका पठाउने ‘ग्यारेन्टी’को रुपमा ८ करोड बराबरको चेक पीडितहरूलाई दिएको भेटिएको छ । यस्तै ठगी गरेको ६५ लाख विभिन्न व्यक्तिको खातामा डिपोजिट गरिदिएको खुलेको छ । तत्कालीन मन्त्रालयका पदाधिकारी र शरणार्थी समस्या समाधान सम्बन्धी कार्यदलका सदस्यहरूको मिलेमतो रहेको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप