बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश

लुम्बिनी प्रदेश सरकार विस्तारको गृहकार्य, मन्त्री बन्न कांग्रेसमा हानथाप

आइतबार, २४ वैशाख २०८०, १८ : १८
आइतबार, २४ वैशाख २०८०

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सरकार विस्तारका लागि आन्तरिक तयारी थालेका छन् । वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका उनले पछिल्लो समय सत्ता साझेदार दलसँग औपचारिक तथा अनौपचारिक रूपमा छलफल गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा कांग्रेसकै संस्थापन इतर पक्षसँग पनि सरकार विस्तारका विषयमा छलफल गरेर काठमाडौँबाट फर्किएका उनले दाङ आइपुगेपछि सत्ता साझेदार दलका नेताहरुसँग छलफल अघि बढाएका हुन् ।

वैशाख १९ गते प्रदेशसभाबाट विश्वासको मत लिएका मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिनेतर्फ गृहकार्य थालेको उनको सचिवालयले जनाएको छ । लुम्बिनी प्रदेश सरकार अहिले चार सदस्यीय छ, जसमध्ये तीन मन्त्री बिनाविभागीय छन् ।

lumbini

बिनाविभागीय मन्त्रीका रूपमा माओवादीका धनबहादुर मास्की, जसपाका सन्तोष पाण्डेय, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी छन् । प्रदेशमा नेपाली कांग्रेस र माओवादी सहित सत्तारुढ गठबन्धनमा आबद्ध ८ दल छन् ।

गठबन्धनमा रहेका सबैजसो दल सरकारमा सहभागी हुन इच्छुक रहेकाले मन्त्रालयको संस्था थपेर भए पनि भागबन्डा मिलाउनुपर्ने अवस्था रहेको नेताहरू बताउँछन् ।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले आफ्नो पार्टीले मन्त्रीहरूको नाम टुङ्ग्याएकाले मुख्यमन्त्रीले माग्ना साथ दिने रातोपाटीलाई बताए । उनले भने, ‘हामीले आफ्नो पार्टीका तर्फबाट सरकारमा जानेहरुको नाम करिब टुङ्ग्याएका छौँ, माग्नासाथ एक मिनेटमै दिन सक्छौं ।’

माओवादीबाट अहिले बिनाविभागीय मन्त्री रहेका धनबहादुर मास्कीलाई अर्थमन्त्री बनाउने तयारी छ भने रोल्पाबाट स्वतन्त्र रूपमा जितेर माओवादीमा प्रवेश गरेका दीपेन्द्र पुन र बाँकेबाट जितेकी कृष्ण केसी (नमुना) माओवादीबाट मन्त्री बन्ने निश्चित छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पनि छिटै सरकार विस्तार हुने बताए । सरकार विस्तारका लागि मुख्यमन्त्रीले गृहकार्य गरिरहेको जानकारी दिँदै उनले भने, ‘गठबन्धन दलका  प्रदेशस्तरीय नेताहरूबीच एक दुई चरणको बैठक पनि भइसक्यो ।’

बिना विभागीय मन्त्री सन्तोष पाण्डेयले कांग्रेसको आन्तरिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको रातोपाटीलाई बताए ।

उनले भने, ‘हामी साना दलहरूलाई नाम दिन समस्या छैन । कसलाई कति मन्त्रालय भन्ने कुरामा विवाद हुन सक्छ तर सांसद संख्याको आधारमा भागबण्डा गर्ने हो भने समस्या आउँदैन ।’

मन्त्री पाण्डेयले भनेजस्तै लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसभित्र दुई गुटबाट मन्त्रीका लागि आकांक्षी धेरै भएका कारण समस्या देखिएको छ । नेपाली कांग्रेसबाट अहिले प्रदेश उपसभापति राजु खनाल, पाल्पाका वीरबहादुर राना, रुपन्देहीका अब्दुल रज्जाक, प्रमुख सचेतक जन्मजय तिमिल्सिना, रुपन्देहीका बसिउद्दिन खाँ, बर्दियाका भुवनेश्वर चौधरी, पश्चिम नवलपरासीका बैजनाथ कलवारले मन्त्रीका लागि दाबी गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप