बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

बागमतीमा सत्ता गठबन्धनभित्र भागबण्डा मिलेन

सरकार विस्तारमा कांग्रेसको डेटलाइन सकियो, मुख्यमन्त्रीलाई चर्को दबाब
मङ्गलबार, २६ वैशाख २०८०, १० : ३२
मङ्गलबार, २६ वैशाख २०८०

मकवानपुर । बागमती प्रदेशमा सरकार विस्तारको विषयमा सहमति हुन नसक्दा सत्ता गठबन्धनभित्र खटपट सुरु भएको छ । मन्त्रालयको संख्या र पावर सेयरिङमा सत्ता गठबन्धन दलहरुबीच सहमति हुन नसकेको हो । 

नेपाली कांग्रेसले सरकार विस्तारका लागि दिएको समयसीमा समाप्त भइसकेको छ । यद्यपि मुख्यमन्त्रीले नै सरकार विस्तारका लागि पहल भइरहेको भन्दै कांग्रेसलाई केही समय कुर्न भनेपछि तत्कालका लागि कांग्रेसले थप समय दिएको छ । अर्कोतिर नेकपा एकीकृत समाजवादीले आफूलाई सम्मानजनक स्थान नदिइए सरकार बाहिर बसेरै भूमिका निर्वाह गर्ने चेतावनी दिएको छ ।

प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको चटारो छ भने विगत ४५ दिनदेखि प्रदेशका ५ मन्त्रालय मन्त्रीविहीन अवस्थामा छन् । सरकार गठनको ४ महिना पूरा हुँदासमेत मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको भन्दै सरकारको आलोचना हुन थालेको छ ।

सरकारलाई पूर्णता दिन सत्तारुढ दलहरुबीच भागबण्डा मिल्न सकेको छैन । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलको नेतृत्वमा गत पुस २५ गते सरकार गठन भएको थियो । तत्कालीन गठबन्धनबाट सरकारलाई पूर्णता दिएर अघि बढेका मुख्यमन्त्री जम्कट्टेललाई राष्ट्रपति निर्वाचनपछि बनेको गठबन्धन मिलाउन कठिन भइरहेको हो ।

तत्कालीन अवस्थामा उनको नेतृत्वमा प्रदेशका ११ मन्त्रालयमध्ये नेकपा माओवादी केन्द्रलाई ४, नेकपा एमालेलाई ४ र राप्रपालाई ३ मन्त्रालय भागबण्डा गरेर सरकारलाई पूर्णता दिइएको थियो । राष्ट्रपति निर्वाचनमा उक्त गठबन्धन भत्किन पुग्यो र कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समीकरणमा उनको सरकार टिकिरहेको छ ।

वर्तमान गठबन्धनका दलहरुले बढी मात्रामा मन्त्रालयको दाबी गर्दा भागबण्डाको विषय पेचिलो बनेको छ । सत्ता गठबन्धनबाट कांग्रेसले प्रदेशको ६ मन्त्रालयमा दाबी गरेको छ । कांग्रेसबाट यसअघि २ मन्त्री नियुक्त भइसकेका कारण अब थप ४ मन्त्रालय पाउनु पर्ने उसको दाबी छ ।

यता माओवादी केन्द्रले पनि मुख्यमन्त्री सहित ४ मन्त्रालय आफ्नो भागमा आउनुपर्ने दाबी गरेको छ । माओवादी केन्द्रबाट यसअघि नै ४ मन्त्री नियुक्त भइसकेका छन् भने एकीकृत समाजवादीले पनि २ मन्त्रालयको दाबी सशक्त रुपमा उठाउँदै आएको छ ।

हाम्रो नेपाली पार्टीले भने एक मन्त्रालयको दाबी गरे पनि उसलाई सरकारमा समेट्न प्रमुख दलहरु नै तयार देखिएका छैनन् ।

गत चैत २६ गते मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारमा प्रतिनिधिमुलक रुपमा कांग्रेसका २ मन्त्रीलाई सहभागी गराए । उनले कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बाहदुर सिंह लामा र तीर्थ लामालाई मन्त्री नियुक्त गरे । भागबण्डाको विषय नटुङ्गिएका कारण कांग्रेससहित अन्य दलबाट सरकारमा मन्त्री पठाउन सकिएको छैन ।

सत्ता गठबन्धनका दलहरु दलीय भागबण्डामा लिप्त हुँदा प्रदेश संरचनामाथि नै प्रश्न चिह्न खडा भएको भन्दै सांसदहरुको गुनासो पनि उत्तिकै छ । सोमबार सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफलका लागि आह्वान गरिएको सर्वदलीय बैठकमा मन्त्रिपरिषद विस्तारको विषयले पनि बहसमा स्थान पाएको थियो ।

मुख्य गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रतिनिधिले सरकार विस्तारमा सत्तारुढ दलहरु जिम्मेवार हुन नसक्दा प्रदेशमा थप संकट पैदा भएको भन्दै विरोध जनाएका थिए । सत्तारुढ दलहरु कसले के पाउने भन्ने भागबण्डामा लाग्दा प्रदेश संरचना खारेजीको माग गर्नेहरुलाई नै सरकारले बढावा दिएको बैठकमा सहभागी एमालेका एक सांसदले बताए ।

सरकार पक्षले आफ्ना स्वार्थमात्र हेर्दा नागरिकका मुद्दाहरु ओझेलमा परेको र जनताहरुमा असन्तुष्टि पैदा भएको उनको भनाइ छ ।

सरकार विस्तारमा कांग्रेसको डेटलाइन सकियो, मुख्यमन्त्रीलाई चर्को दबाब

लामो समयसम्म सरकार विस्तार हुन नसकेको भन्दै कांग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई वैशाख २५ गते सोमबारसम्मको डेटलाइन दिएको थियो । उक्त समयभित्र मुख्यमन्त्रीले सरकार विस्तार र पूर्णता गर्न नसके सरकार छाड्नेसम्मको चेतावनी दिएको थियो । उक्त समयसीमा गए रातिदेखि नै सकिएको छ । उक्त चेतावनीपछि मुख्यमन्त्री जम्कट्टेलमाथि चर्को दबाब परेको थियो ।

भागबण्डा मिलाउन नसक्दा केन्द्र गुहारेका उनलाई प्रदेशमै सो विषय मिलाउन भनिएपछि थप संकट परेको थियो ।

कांग्रेसको चेतावनी र दबाबपछि मुख्यमन्त्री जम्कट्टेलले सोमबार साँझ नै सरकार विस्तारको विषयमा आन्तरिक सर्कुलर जारी गरिसकेको बुझिएको छ । मुख्यमन्त्रीको सर्कुलरपछि भने कांग्रेस केही समय कुर्ने मनस्थितिमा पुगेको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले सोमबार साँझ नै मुख्यमन्त्रीले सरकार विस्तारमा सर्कुलर भएको र केही समय होल्ड गर्ने अवस्थामा पुगेको बताए । मुख्यमन्त्रीले सरकारलाई पूर्णता दिने विषयमा थप कदम चालेको र सोही अनुसार सर्कुलर भएको उनले बताए । आन्तरिक तयारी पूरा गरी मुख्यमन्त्रीले मंगलबार वा बुधबारसम्ममा सरकारलाई पूर्णता दिने तयारी गरेको उनको भनाइ छ ।

‘सरकारलाई पूर्णता दिन मुख्यमन्त्रीलाई हामीले सोमबारसम्मको समय दिएका थियौं । उक्त समयमा पनि मुख्यमन्त्रीले काम गर्न नसके हामी सरकारबाट बाहिरिने भनेका थियौं । सो अवधि पनि सकिएको छ,’ उनले भने, ‘हामीले दिएको अवधिमा सरकारले पूर्णता त पाएको छैन । यद्यपि मुख्यमन्त्रीले सरकारलाई पूर्णता दिन एउटा सर्कुलर जारी गरिसक्नु भएको छ । उहाँले मंगलबार वा बुधबार सरकारलाई पूर्णता दिने गरी तयारी गर्नुभएको जानकारी आएको छ । त्यसैले हामी केही दिन होल्ड गर्छौं ।’ त्यसपश्चात पनि सरकारले पूर्णता नपाएको खण्डमा भने थप कदम चाल्ने उनको भनाइ छ ।

यता नेकपा एकीकृत समाजवादीले पनि सरकार विस्तारमा मुख्यमन्त्रीलाई स्वतन्त्र छोडेको बताएको छ । नेकपा एकीकृत समाजवादीका सांसद् कृष्णप्रसाद शर्मा खनालले सरकार विस्तार र पूर्णताको विषय मुख्यमन्त्रीको क्षेत्राधिकार भएको र सबै निर्णय मुख्यमन्त्रीले नै गर्ने बताए । तर, एकीकृत समाजवादीको २ मन्त्रालयमा दाबी बटमलाइन भएको र त्यसको विकल्पको बाटो पनि मुख्यमन्त्रीलाई दिइएको उनको भनाइ छ ।

‘हामीले सबै अधिकार मुख्यमन्त्रीलाई नै छोडेका छौं । सरकार विस्तार र पूर्णताको विषय उहाँको अधिकार क्षेत्रको कुरा हो । सबै निर्णय उहाँले नै गर्नुहुन्छ,’ उनले भने, ‘हामीले २ मन्त्रालयको दाबी नै बटमलाइन भएको जानकारी गराएका छौं । सो दाबी पूरा हुन नसके वैकल्पिक बाटो पनि उहाँलाई दिइसकेका छौं ।’ उनका अनुसार नेकपा एकीकृत समाजवादीलाई दुई मन्त्रालय नदिइए सरकार बाहिर बसेरै समर्थन र सहयोग गर्ने विकल्प मुख्यमन्त्रीलाई दिइएको छ ।

यता मुख्यमन्त्री जम्कट्टेलले मन्त्रालयको संख्या घटाउँदा सरकारलाई पूर्णता दिन समस्या भएको बताए । उनले भागबण्डामै समस्या हुँदा अहिलेको परिस्थिति आएको बताए । केही दिनमै सरकार विस्तार गर्ने गरी काम सुरु भइसकेको उनको भनाइ छ ।

‘हामीले मन्त्रालयको संख्या घटाएका छौं, तपाईहरुलाई थाहा नै होला । मन्त्रालयको संख्या घटाउँदा अहिले सरकारलाई पूर्णता दिन समस्या भइरकेको छ,’ उनले भने, ‘अहिलेको मुख्य समस्या नै भागबण्डा हो । त्यो सबैले बुझेको कुरा नै हो । हामीले त्यसलाई मिलाउने काम गरिरहेका छौं ।’

अब केही दिनमै सरकारले पूर्णता पाउने गरी काम सुरु गरिसकेको पनि उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप