आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

प्रचण्डलाई माओवादी नेताहरुको सुझाव : भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउनुस्

मङ्गलबार, २६ वैशाख २०८०, २० : ११
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भुटानी शरणार्थी प्रकरणसहित अन्य भ्रष्टाचारमा मुछिएकालाई कार्वाही गर्न खुट्टा नकमाउन सुझाव दिएका छन् । 

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा हाइप्रोफाइल नेताहरु तानिन थालेपछि पार्टीका नेताहरुले प्रचण्डलाई अघि बढ्न सुझाव दिएका हुन् ।

भुटानी शरणार्थी प्रकरणमा सत्ता गठबन्धनबाटै काँग्रेस नेता बालकृष्ण खाण, मञ्जु खाण, आरजु राणाको समेत संलग्नता भएको आउन थालेपछि आमजनताले कारबाही नहुने हो कि भनी चिन्ता गर्न थालेका छन् । 

प्रधानमन्त्री प्रचण्ड निकट केन्द्रीय सदस्य राजन दाहालले पर्याप्त प्रमाण पुगेकालाई कारबाही र प्रमाण नपुगेकालाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए । 

‘सरकारले भ्रष्टाचार अनियमितताका विरुद्ध फाइल खोलेको हैन, फायरै खोलेको हो । भ्रष्टाचार अन्त्य नहुँदासम्म फायर रोकिँदैन,’ दाहालले भने, ‘अरु राजनीतिक विषयमा सम्झौता गर्न सकिन्छ । भ्रष्टाचार  र आपराधिक विषयमा सम्झौता गर्न सकिँदैन ।’ 

भ्रष्टाचार र अनियमिताको निरुपण कानुनद्वारा मात्रै छिनोफानो गरिनुपर्ने दाहालले जिकिर गरे । मानव तस्करी र भ्रष्टाचार अपराध भएकाले कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुने उनको भनाई छ । 

‘भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्न सरकार निर्भिकतापूर्वक अघि बढ्नुपर्छ’ दाहालले भने, ‘सरकार जोगिन्छ कि ढल्छ कि भन्नेगरी हिसाब किताब गर्नु हुँदैन ।’ 

यस्तै माओवादी स्थायी समिति सदस्य धर्मशिला चापागाईंले भुटानी शरणार्थी प्रकरणमा सरकारले पहलकद्मी छोड्न नहुने जिकिर गरिन् । 

‘भुटानी शरणार्थी प्रकरणमा सरकारको कुनै हालतमा पहलकद्मी नघटाओस् । कसैको धम्की, कसैको त्रासमा पर्नु हुँदैन’ चापागाईँले भनिन्, ‘हिजो जसरी चर्चा थियो । आज आएर कारबाही नहुने हो कि भनेर स्वर मधुरो हुँदै गएको छ । आमनागरिकले सरकारले गर्न सक्दैन कि भनेर आशंका गर्न थालिसकेका छन् । कारबाही कुनै हालतमा रोकिनु हुँदैन ।’ 

यसैगरी, माओवादी सचिव राम कार्कीले माओवादी नेतृत्वको सरकार निर्माण भएपछि भ्रष्टाचारको प्याण्डोरा बक्स खुलेको बताए । अब प्याण्डोरा बक्सबाट जस्तो खालको भ्रष्टाचार,अनियमितता, घुसखोरी निस्कन्छ, त्यस्तालाई कारबाही गरेरै छाड्नु पर्ने उनको भनाई छ । नेताहरुको भनाई जस्ताको तस्तैः

भ्रष्टाचारको प्याण्डोरा बक्स खुल्योः राम कार्की

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने विषय पीडितबाट बाहिर आयो । यसमा कुनै पार्टी विशेषबाट बाहिर आएको होइन । पीडितहरु जब कराउन, चिल्लाउन थाले त्यसपछि बाहिर आयो । यो आर्थिक अनियमितता पचाउन सक्ने अवस्था रहेछ । 

घाम पूर्वबाट उदाउँछ, पश्चिमबाट अस्ताउँछ भनेर दश चोटि भन्यो भने शंका गर्नुपर्छ । यो शास्वत सत्य हो । अपराध गर्ने नछुटुन्, निर्दोषकोही नपरुन् भनेर जोडजोडले मान्छेहरु बोलिराखेका छन् । त्यसमै केही शंका गर्ने ठाउँ छ । सूर्य पश्चिम गएर अस्ताउँछ भनेर दश चोटी किन भनिराख्नुप¥यो ? यो सत्य कुरा हो नि ? यसको मतलब केही गडबड हुन सक्छ । 

निर्दोष पर्न हुँदैन भनिँदैछ । त्यसो भए निर्दोष को प¥यो ? भन्नुप¥यो । दलहरुको चालामाला ठिक देखिँदैन । माओवादीको नेतृत्वको सरकार भएको बेला प्याण्डोराको बक्स खुलेको छ । त्यो बक्सबाट जे जे निस्कन्छ, त्यो सबै मिल्काउनुपर्छ । गलत काम गर्ने जुनसुकै पार्टीका भएपनि कारबाही गर्नुपर्छ । नेपालीलाई शरणार्थी बनाएर विदेश लग्नु यो जत्तिको ठुलो अपराध अर्को हुन सक्दैन । यस्तो गर्नेलाई छोड्नै हुँदैन ।

सुशासनको लडाई सुरु भयो रोकिन हुँदैनः राजन दाहाल

नेपालमा बेरोजगारीको फाइदा उठाएर भुटानी शरणार्थीबनाएर लग्ने ठुलो गिरोहको पर्दाफास भएको छ । हामीले सरकारको तर्फबाट फाइल खोल्दै गर्दा लहरो तान्दा पहरो थर्किएको छ । उच्चस्तरका हाइप्रोफाइल नेताहरुको संलग्नता देखिएको छ । 

टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी नै जारी भइसकेको छ । उहाँ फरार हुनुहुन्छ । उहाँ आफैले समेत स्वीकार गरी सक्नु भएको छ । मैले अन्जानवश सहयोग गर्न पुगेछु भन्नु भएको छ । 

पीडकको बयान, मोबाइल, चेकबुक र लिखत डकुमेन्टका आधारमा जो जो संलग्न छन्, उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । बालकृष्ण खाणजी प्रहरीसँगै सम्पर्कमा हुनुहुन्छ । सत्य तथ्य बयान दिन्छु भन्नु भएको छ । 

पर्याप्त प्रमाण पुगेकालाई पक्राउ पुर्जी जारी गरेर पक्राउ गर्नुपर्छ । प्रमाण नपुगेकालाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ । सरकारले भ्रष्टाचार अनियमितताका विरुद्ध फाइल खोलेको हैन, फायर खोलेको हो । भ्रष्टाचार अन्त्य नहुँदासम्म फायर रोकिँदैन । यो अभियान रोकिँदैन । 

अरु राजनीतिक विषयमा सम्झौता गर्न सकिन्छ । यस्ता भ्रष्टाचार  र अपराधिक विषयमा सम्झौता गर्न सकिँदैन । भ्रष्टाचार र अनियतमाको निरुपण कानुनबाट मात्रै गरिनुपर्छ । 

यस्ता गम्भीर अपराधको विषयमा सरकारले खुट्टा कमाउनु हुँदैन । भ्रष्टाचारी र अपराधीहरुको पार्टी हुँदैन । यदि भ्रष्टाचार अनियमिततामा हाम्रै शीर्ष नेतृत्व जोडिनुभयो भनेपनि कानुनको दायरामा आउनुपर्छ र दण्डित गरिनुपर्छ । 

भुटानी शरणार्थी प्रकरणमा छानबिन रोकिन्छ भन्ने विषयमा कहीँ आशंका गर्नु हुँदैन । सरकार निर्भिकतापूर्वक अघि बढेको छ । सरकार जोगिन्छ कि ढल्छ कि भन्नेगरी हिसाब किताब गर्नु हुँदैन । प्रचण्डको नेतृत्वमा सुशासनको लडाई सुरु गरेका छौं । यसको मुख्य बाधक भ्रष्टाचार हो । भ्रष्टाचार नियन्त्रण नहुँदासम्म यो लडाई जारी रहन्छ ।

कसैको दबाबमा परेर अपराधीलाई छोड्न हुँदैनः देवेन्द्र पौडेल

सरकार नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लग्नेलाई कारबाही गर्न दृढतापूर्वक अघि बढेको छ । अरु यस्ता भ्रष्टाचार र अनियमिततामा जोडिएका जुनसुकै व्यक्तिलाई नछोड्ने नीति लिएको छ । सरकारले कसैको प्रेसर वा दबाबमा नपरेर निष्पक्षपूर्वक छानबिन गर्नुपर्छ । यदि दोषी प्रमाणित भए कारबाही गर्न कुनै हिच्किचाउन हुँदैन । 

सरकार यस्ता अनैतिक कार्य गर्नेसँग डराउन हुँदैन । भुटानी शरणार्थी प्रकरणमा देशको सार्वभौम सत्तासँग सम्बन्धित छ । अर्को देशका नागरिकसँग जोडेर यो देशका नागरिकलाई अर्को देशमा लग्नु क्षम्य हुने विषय होइन । 

भ्रष्टाचार फरक फरक प्रकृतिका हुन्छन् । यो देशका नागरिकलाई अर्को देशको बनाउने प्रत्यन्त गरियो । यो गम्भीर खालको अपराध हो । यस्तालाई कारबाही गर्दा सरकारले आफू जोगिने कुरा गर्नुहुँदैन । सरकार नागरिक जोगाउनेतिर लाग्नुपर्छ ।  कसैको दबाब वा प्रभावमा परेर अपराध गर्नेलाई छोड्न हुँदैन ।

ओलीजीले टोपबहादुरलाई लुकाई दिएर फिल्म रोकियोः खगराज भट्ट 

सरकारले राम्रो काम गर्दा प्रोत्साहन हुनेगरी मिडियाले लेख्नुपर्छ । यसले सरकारलाई थप सकारात्मक काम गर्न सहयोग पुग्छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लग्नेदेखि लिएर भ्रष्टाचार नियन्त्रणमा सरकार दृढतापूर्वक लागेको छ । यसमा मिडियाले साथ र सहयोग दिनुपर्छ । 

प्रधानमन्त्री ज्यूले भ्रष्टाचार र अनियमितता गर्नेलाई कारबाही गर्ने भनिसक्नु भएको छ । हामीलाई आशा छ, सकारात्मकढंगले पुरा फिल्म जनताले हेर्न पाउनेछन् । फिल्मको रिल ओलीजीले टोपबहादुरलाई लुकाई दिएर फिल्म रोकिएको छ । ओलीले सहयोग गरे पुरै फिल्म हेर्न पाइन्छ । 

सरकार भ्रष्टाचार अनियमिततामा निर्मम नभएसम्म मूलधारका राजनीतिक दलहरु टिक्नै मुस्किल भइसक्यो । दलहरुले जनतालाई डेलिभरी दिने काम गर्न सकेनन् भने पुराना दल हौं भनेर रहेन स्थिति छैन । 

सरकारले भ्रष्टाचार र अनियमितकाको सवालमा क्रान्तिकारी कदम चाल्नैपर्छ । प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रणमा दृढतापूर्वक लाग्नु हुन्छ भन्नेमा ढुक्क छौं । 

भुटानी शरणार्थी प्रकरणको कारबाही प्रक्रिया नरोकियोस्ः धर्मशिला चापागाईँ

यो जुन नक्कली भुटानी शरणार्थीको कुरा आयो । यो विषयमा केही समय अघि थाहा पाइराखेका विषय हो । हामीले यो गलत हो भनेर प्रतिवादगरी राखेका थियौं । यसो गर्नुहुँदैन भनेर भन्दै आएका थियौं । यो विषय बाहिर आएर जसरी छानबिन हुँदैछ । अपराधमा मै जोडिए पनि कारबाही रोकिन हुँदैन । दोषीलाई हदैसम्मको कारबाही हुनुपर्छ । 

अहिले जसरी फाइल ओपन हुँदै छ । अरु भ्रष्टाचारका कुराहरु आइराखेका छन् । यदि कुनै क्षेत्रमा भ्रष्टाचार भएका छन् भने छोड्न हुँदैन । नेपाली जनता भ्रष्टाचारबाट वाक्क दिक्क भइसकेका छन् । 

उता देशको आर्थिक संकट गहिरिएको छ । सरकारले जसरी कारबाही प्रक्रिया अघि बढाई राखेको छ । यो कारबाही प्रक्रिया कुनै हालतमा रोकिनुहुँदैन । यसद सरकारका विरुद्ध कुनै परिघटना आए बरु बेहोर्नुपर्छ । जनताको बीचबाट सरकार बनेको छ । त्यसैले, जनताको मन जित्नेगरी काम गर्नुपर्छ । 

भुटानी शरणार्थी प्रकरणमा सरकारको कुनै हालतमा पहलकद्मी नघटाओस् । कसैको धम्की, कसैको त्रासमा सरकार नपरोस् । हिजो जसरी दोषीलाई कारबाही हुन्छ भन्नेगरी चर्चा थियो । आज आएर त्यो स्वर मधुरो हुँदै गएको छ । आमनागरिकले सरकारले केही गर्छ कि भन्ने आशा गरेका थिए । त्यो आज आएर किन धमिलो हुँदै गएको छ । कारबाही प्रक्रिया कुनै हालतमा रोकिनु हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप