सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

खोटाङमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने तयारी

बुधबार, ०३ जेठ २०८०, ०९ : ०१
बुधबार, ०३ जेठ २०८०

खोटाङ । यही जेठ ५ गतेदेखि खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ । कोभिड–१९ खोप समन्वय समितिको बैठकले कोभिडविरुद्धको कुनै पनि वा दुवै खोपको मात्रा लगाइ छ महिना म्याद नाघेकालाई बुस्टर डोज लगाउने निर्णय गरेको छ ।

दुई नगरपालिका र आठ गाउँपालिकाका गरी दुई सय ५० खोप केन्द्रमार्फत जेठ ७ गतेसम्म १४ हजार तीन सय ४० जनालाई बुस्टर डोज लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए । यसअघि बुस्टर डोज खोप लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, १२ वर्षमाथिका दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई लगाइने कार्यालयले जनाएको छ ।

गत चैत २४ गतेबाट वैशाख १९ गतेसम्म जिल्लाका छ हजार जनालाई यही खोप बुस्टरका रूपमा दिइएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार दुई लाख छ हजार तीन सय १२ जना जनसङ्ख्या रहेको खोटाङमा एक लाख सात हजार ४२ जनाले यसअघि नै पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण खोटाङमा १५ जनाको मृत्यु भएको थियो । दश स्थानीय तह रहेको जिल्लामा एक थान भेन्टिलेटर, सातवटा एम्बुलेन्स, दुई सय थान अक्सिजन सिलिन्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर तयारी अवस्थामै रहेको प्रमुख सिग्देलले जानकारी दिए । 

महामारीको समयमा जिल्लामा स्थापना गरिएका अधिकांश कोभिड अस्पताल भने बन्द भएका छन् । हलेसी तुवाचुङ नगरपालिका तथा रावाबेँसी र साकेला गाउँपालिकामा यसअघि स्थापना गरिएको कोभिड अस्पताललाई सामान्य (अन्य अस्पताल सरह) परिवर्तन गरेर नियमित बिरामी उपचार गर्नेगरी सञ्चालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप