आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

मानव अधिकार आयोगले भन्यो–नक्कली शरणार्थी प्रकरण मानव बेचबिखन र ठगीको अपराध

बुधबार, ०३ जेठ २०८०, १५ : २०
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर गरिएको ठगी प्रकरणमा ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार आयोगको कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष तपबहादुर मगरले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका नेता, उच्च पदस्थ कर्मचारी तथा दलका परिवारसमेतको संलग्नता एवं संरक्षणमा ठूलो रकम उठाएको भनिएको विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । 

अध्यक्ष मगरले यो संगठित अपराधमा संलग्न व्यक्तिहरुविरुद्ध नेपाल प्रहरीले तदारुकताका साथ छानबिन अगाडि बढाएकोमा आयोगले प्रशंसा गरेको बताए । राजनीतिक संरक्षणमा हुने यस प्रकारका आपराधिक क्रियाकलापमाथि आयोगले सदैव खबरदारी गर्दै आइरहेको बताउँदै मल्लले राज्य शक्तिको दुरुपयोगमा भएको यस्तो कृत्य गम्भीर प्रकृतिको भ्रष्टाचारको विषय मात्र नभई मानव बेचबिखन र ठगी जस्तो  अपराध समेत हो भन्ने आयोगको निष्कर्ष रहेको बताए ।  उनले नागरिकको सेवा र रक्षामा खटिएका निकायहरुबाट यस किसिमको कार्य हुनु लोकतन्त्रको लागि चिन्ताको विषय बनेको बताएका छन् । 

आयोगका अध्यक्ष मगरले भने, ‘मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८ को धारा ७, नेपालको संविधानको धारा १८ (१) ले सबै नागरिक कानुनको दृष्टिमा समान हुने उल्लेख गरेको छ । तसर्थ, भ्रष्टाचारका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै उच्च मनोबलका साथ स्वतन्त्र, स्वच्छ र निष्पक्ष अनुसन्धानमार्फत संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन समेत आयोग आग्रह गर्दछ ।’ 

उनले राज्यशक्तिको दुरुपयोग गरी यस्ता निकृष्ट अपराधको अनुसन्धानमा प्रभाव पार्न सक्नेतर्फ सचेत रही कानुन बमोजिम अनुसन्धान तथा अभियोजनको जिम्मेवारी निर्धक्क पालना गर्न समेत आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप