सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्ज महानगरले ल्याब सेवा विस्तार गर्दै

बिहीबार, ०४ जेठ २०८०, ११ : ०६
बिहीबार, ०४ जेठ २०८०

वीरगञ्ज  । पर्साको वीरगञ्ज महानगपालिकाले ग्रामीण क्षेत्रका चार वडामा बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) र विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग तथा ल्याब सेवा सञ्चालन गर्ने तयारी गरेको छ । गाउँबस्तीमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउन ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ सञ्चालन गरेको महानगरपालिकाले सो कार्यक्रमलाई थप प्रभावकारी र दिगोपनका लागि ग्रामीण क्षेत्रका वडामा बर्थिङ सेन्टर विस्तारसँगै विशेषज्ञ चिकित्सकसहितको बहिरङ्ग सेवा सञ्चालन गर्ने तयारी गरेको हो । 
    
कार्यक्रमलाई दीर्घकालीन रुपमा सञ्चालन गर्नका लागि बर्थिङ सेन्टरमा नै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने भएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका स्वाथ्य अधिकृत रितेश जयसवालले जानकारी दिए । अहिले महानगरको थप चार वडामा बर्थिङ सेन्टरबाट विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग सेवा सञ्चालन गरिने छ । अर्को वर्ष पुनः अन्य स्थानमा स्थापना भएका बर्थिङ सेन्टरबाट सेवा सञ्चालन गरिने जयसवालले बताए ।    
    
हाल महानगरको वडा नम्बर २८ बबै र वडा नम्बर २१ लिपनी विर्तामा बर्थिङ सेन्टर सञ्चालनमा छ । चालु आर्थिक वर्ष २०७९÷८० मै महानगरपालिकाले वडा १८ भवानीपुर, वडा नम्बर १९ को बिन्दवासनी, वडा नम्बर २० को हरपतगज र वडा नम्बर ३० को लालपर्सामा बर्थिङ सेन्टर स्थापना गरी विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा प्रदान गरिने उनले बताए । यसका लागि पाँच विशेषज्ञ चिकित्सक, १० नर्स र पाँच ल्याब टेक्निसियनको छनोट प्रक्रिया अन्तिम चरणमा छ । सो कार्य सम्पन्न भएपछि बर्थिङ सेन्टरबाटै बहिरङ्ग सेवा र ल्याब सेवा सञ्चालन गरिने जयसवाल बताउछन् ।

ग्रामीण क्षेत्रमा पर्ने ती वडामा बर्थिङ सेन्टर र ल्याब सेवा सञ्चालन भएपछि वरिपरिका करिब १६÷१७ वडाका नागरिक लाभान्वित हुने वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए । जनताको स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने भएकाले ग्रामीण क्षेत्रका ती चार वडामा बर्थिङ सेन्टर विस्तार गरी विशेषज्ञसहितको स्वास्थ्य सेवा र ल्याब सेवा सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।  
    
बर्थिङ सेन्टरबाटै विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा प्रदान गर्ने तयारी भएपछि महानगरपालिकाको तत्कालका लागि ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ स्थगित गरेको स्वास्थ्य अधिकृत जयसवालले बताए । गत २०७९ भदौ महिनादेखि सुरु भएको ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ अन्तर्गत हालसम्म १० हजार २३३ जनाले बहिरङ्ग सेवामा स्वास्थ्य परीक्षण गराएको महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाले जनाएको छ ।

महानगरपालिकाको १२ वडामा सञ्चालन गरिएको ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ अन्तर्गत कूल १० हजार आठ सय ८५ जनाले जाँचका लागि नाम दर्ता गराएकामा छ हजार चार सय २१ महिला र तीन हजार आठ सय १२ पुरुषले स्वास्थ्य परीक्षण गराएको जयसवालले बताए । यस्तै वीरगञ्ज–४ विर्तामा पनि ल्याब सेवा सञ्चालन गर्न लागिएको छ ।       
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप