मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल ह्याट्रिकको लक्ष्यमा छ : कप्तान शाही

आइतबार, ०७ जेठ २०८०, २१ : २६
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । नेपाली टोलीकी कप्तान अरुणा शाहीले नेपालमा आयोजना हुन लागेको काभा महिला भलिबल च्यालेन्ज कपमा उपाधि ह्याट्रिक गर्ने अवसर भएको बताएकी छन् । नेपाल भलिबल संघले आइतबार खेलअघि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीकी कप्तान अरुणाले तयारी राम्रो गरेको भन्दै उपाधिमा ह्याट्रिक गर्ने अवसर भएको बताएकी हुन् ।   

उनले अघिल्ला दुई संस्करणमा उपाधि उचालिसकेको र यस संस्करणमा घरेलु कोर्टको फाइदा हुने भन्दै ह्याट्रिको अवसर भएको बताइन् । भलिबल इतिहासमा नेपालमा अहिले सम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो । सोमबारबाट आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल भलिबल संघले जनाइसकेको छ ।

नेपाली महिला खेलाडी घरेलु कोर्टको भरपुर सदुपयोग गर्दै राम्रो प्रतियोगिता खेल्ने बताएका छन् । १४ गते सम्म चल्ने प्रतियोगितामा आयोजना हुन पूर्वको पत्रकार सम्मेलनमा अन्य देशका कप्तानले पनि कम्तीमा पनि मेडलका लागि प्रतिस्पर्धा गर्ने बताए । प्रतियोगिताका लागि नेपाली टोली तीन महिनादेखि बन्द प्रशिक्षणमा रहेर तयारी गरेको छ । टोलीलाई  बेल्जियन प्रशिक्षक जान डी ब्रान्टले प्रशिक्षण दिइरहेका छन् । 

प्रतियोगितामा नेपालसहित ८ राष्ट्रले प्रतिष्पर्धा गर्नेछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुनेछ । प्रतियोगितामा सहभागी ८ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र किर्गिस्तान छन् । त्यसतै समूह बी मा श्रीलंका, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन् । प्रतियोगितामा सहभागी हुने टोलीका लागि सबै व्यवस्थापन अन्तिम चरणमा पुगेको हो । 

आयोजक नेपालले उद्घाटन खेलमा किर्गिस्तानसँग खेल्नेछ । सोही दिन उज्वेकिस्तान र श्रीलंका, बंगलादेश र भारत तथा माल्दिभ्स र काजकिस्तानबीच खेल हुनेछ । नेपालले दोस्रो खेल जेठ ९ गते बंगलादेशसँग र तेस्रो खेल जेठ १० गते भारतसँग खेल्नेछ । राउण्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिष्पर्धा गर्नेछन् । 

कुल २० खेल हुने च्यालेन्ज कपमा उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल र समापन युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले गर्ने भलिबल संघले जनाएको छ । २ करोड ७१ लाख अनुमानित बजेट रहेको प्रतियोगिताका लागि आयोजकले विभिन्न समिति बनाएर तयारी गरेको बताइएको छ । यसअघि दुवै पटक बंगलादेश गएर खेलेको नेपाल यस पटक घरेलु कोर्टमा घरेलु समर्थकअघि खेल्न उत्साहित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप