शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
नीति तथा कार्यक्रम

नीति तथा कार्यक्रममा समेटिएको बुटवल धागो कारखाना सञ्चालन गर्न कति सम्भव ?

सोमबार, ०८ जेठ २०८०, ०८ : ४४
सोमबार, ०८ जेठ २०८०

बुटवल । सरकारले डेढ दशकदेखि बन्द रहेको बुटवल धागो कारखाना चलाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले बुटवल धागो कारखाना सञ्चालन गरिने जनाएको हो ।

२०६४ सालदेखि उत्पादन बन्द रहेको तथा २०६६ असोजदेखि कर्मचारीलाई अनिवार्य अवकाश दिँदै बन्द गरिएको यो कारखाना सञ्चालन गर्ने सरकारको योजना अहिलेमात्र नीति तथा कार्यक्रममा समेटिएको भने होइन ।

गत वर्ष तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पनि यो उद्योग चलाउने घोषणा गरेका थिए । यस अघिका सरकारले कहिले अध्ययन समिति गठन गर्ने, कहिले निजी क्षेत्रलाई दिएर भए पनि उद्योग चलाउने दिशामा विभिन्न योजना ल्याएका थिए ।

बुटवल धागो कारखाना सञ्चालन गर्ने विषय सरकारको नीति तथा कार्यक्रममा परे पनि सञ्चालन हुन्छ भनेर पूर्ण रूपमा विश्वास गर्न कठिन रहेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले रातोपाटीलाई बताए ।

उनले भने, ‘यो कारखाना चलाउने या अर्को निर्णय गरेर जाने भन्ने विषयमा धेरै पटक पहल भएको हो, अहिलेसम्म ठोस काम भएको छैन । त्यसैले अहिले पनि खासै खुसी भइहाल्ने अवस्था छैन ।’

बुटवल धागो कारखानाका निमित्त महाप्रबन्धक डोलराज शर्मा सरकारको नीति तथा कार्यक्रममा कारखाना सञ्चालन गर्ने विषय समेटिए पनि ठोस निर्णय भएको पत्र अझैसम्म नआएको बताउँछन् । स्पष्ट रूपमा सरकारको योजना अझैसम्म केही नआएकाले विगतमा जस्तै चर्चा मात्रै हुने हो कि भन्ने आशङ्का रहेको उनको भनाइ छ ।

२०६४ साल फागुनभन्दा अगाडि ४ सयदेखि ५ सय कर्मचारीहरूको चहलपहल हुने बुटवल धागो कारखानालाई अहिले ४ जना कर्मचारीले कुरिरहेका छन् । डेढ दशक पहिलेसम्म दैनिक तीन सिफ्ट गरी चल्ने कारखानाका मेसिन अचेल सुनसान छन् ।

348355332_1000661304645146_5258472320958875576_n

उद्योगका अधिकांश सामग्री बिग्रिए

१६ वर्षदेखि उद्योग बन्द हुँदा उद्योगका अधिकांश मेसिन बिग्रिएका छन् । धागो कारखानाभित्र माकुराले जालो लगाएको छ । भवन जीर्ण र अँध्यारो छ । यदि सरकारले कारखाना चलाउने हो भने मेसिनहरू खरिद गर्नुको विकल्प रहेको निमित्त महाप्रबन्धक शर्मा बताउँछन् ।

उनले रातोपाटीसँग भने, ‘यहाँका धेरै मेसिन बिग्रेका छन् । चलाउने हो भने केही नयाँ मेसिन थप्नु पर्छ भने पुराना मेसिनको मर्मत गर्नुपर्छ ।’

बुटवल औद्योगिक क्षेत्रभित्र रहेको सो कारखाना १४३ रोपनी क्षेत्रफलमा फैलिएको छ । उद्योगमा ६ वटा ठुला भवन छन् ।

स्वदेशी कपडामा मुलुकलाई आत्मनिर्भर बनाउने भन्दै धागो उत्पादन गर्ने उद्देश्यले ३ चैत २०३९ मा सो कारखाना स्थापना गरिएको थियो । दैनिक १० टन उत्पादन क्षमता रहेको कारखानाले दैनिक सात टन धागो उत्पादन गर्दै आएको थियो ।

eeeeeeeeee

निजी क्षेत्र छैन उत्साहित

बुटवल धागो कारखानासँग बुटवलको व्यापार सिधै जोडिन्छ । १६ वर्ष पुरानो धागो कारखाना सञ्चालन गर्नेबारे सरकारले नीति तथा कार्यक्रममा समेटे पनि यहाँका निजी क्षेत्र भने उत्साहित देखिँदैनन् ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू पुरानै मोडालिटीमा कारखाना सञ्चालन गर्न नसकिने बताउँछन् । कम्पनीको जग्गा र भएका मेसिनहरूलाई भाडामा या कुनै रूपमा निजी क्षेत्रलाई दिएर चलाउने सम्भावना रहने उनको भनाइ छ । तर सरकारले नै यो उद्योग चलाउने सम्भावना आफूले नदेखेको उनी बताउँछन् ।

उनले धागो कारखानाको स्थानमा अन्य उद्योग चलाउन सरकारलाई सुझावसमेत दिए ।

040312421d

रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले पनि सरकारले प्रत्येक वर्ष यो कारखानाका बारेमा कुनै न कुनै रूपमा सञ्चालनको योजना बनाए पनि सफल नभएको बताउँछन् । त्यसैले अहिले पनि उद्योग चल्नेमा विश्वास गर्न नसकिने उनको भनाइ छ ।

उनले बुटवलको धागो कारखाना बुटवलवासीको गहना भएको बताउँदै सरकारले स्पष्ट नीति ल्याएमा निजी क्षेत्र सकारात्मक हुने जानकारी दिए ।

स्थापनाको गौरवमय इतिहास

बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठका अनुसार त्यो बेला सरकारले नेपालगन्जको खजुरामा कपास उत्पादन गरेर बुटवलमा धागो बनाउने अनि हेटौँडास्थित हेटौँडा कपडा उद्योगबाट कपडा उत्पादन गरी बजार पठाउने उद्देश्यले बुटवल धागो कारखाना सञ्चालनमा ल्याइएको हो ।

तत्कालीन राजा वीरेन्द्रको अवधारणा अनुसार मुलुकलाई कपडामा आत्मनिर्भर बनाउन यी उद्योग स्थापना गरिएको हो । हेटौँडा कपडा उद्योगका कपडा सेना, प्रहरी लगायतलाई लक्षित गरेर उत्पादन गर्ने गरिएको थियो । तर ती उद्योग सबै बन्द भएको डेढ दशक भइसकेका कारण विगतका ती योजना अहिले सपनाजस्तै लाग्ने उनको भनाइ छ ।

बुटवल धागो कारखानाबाट उत्पादित धागो हेटौँडामा मात्रै होइन, भारतसम्म पुग्ने गरेको थियो । रामैसँग चलेको कम्पनी एकपछि अर्को कारणले गर्दा बन्द हुन पुग्यो ।

कारखानाका निमित्त महाप्रबन्धक डोलराज शर्मा २०६४ साल फागुनमा बन्द भएको उद्योग खुल्नै नसक्ने गरी थला परेको बताउँछन् । केही मेसिन काम लाग्ने भए पनि थप मेसिन नल्याएसम्म कारखाना सञ्चालन गर्न नसकिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप