बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
सन्दर्भ : प्रधानमन्त्रीको भारत भ्रमण

उच्चस्तरीय भ्रमणमा खेलकुद किन बन्दैन ‘एजेन्डा’ ?

सोमबार, ०८ जेठ २०८०, १० : ३१
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । गत वैशाखमा नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि जित्यो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले हराउँदै उपाधि चुमेको थियो ।

त्यो उपाधि नेपालका लागि धेरै अर्थमा विशेष थियो । एसीसी प्रिमियर कपको उपाधिसँगै नेपालले यसै वर्ष पाकिस्तानमा आयोजना हुने भनिएको एसिया कप क्रिकेट प्रतियोगिता खेल्ने अवसर पनि पाएको छ ।

एसिया कप क्रिकेटमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानजस्ता टेस्ट राष्ट्रको समेत सहभागिता रहने भएकाले त्यो प्रतियोगिता खेल्न पाउनु नेपालका लागि निकै ठूलो अवसर हो । त्यो प्रतियोगितामा नेपाली खेलाडीले विश्व क्रिकेटका हस्ती राष्ट्रहरूसँग खेलेर आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउने छन् । नेपाली क्रिकेटका लागि यो सुनौलो अवसर पनि हो । भारत, पाकिस्तान र श्रीलंका त एकदिवसीय विश्वकपको उपाधि विजेता विजेता टोली पनि हुन् ।

पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले एकपछि अर्को सफलता हात पार्दै गएको छ । त्यसैले पनि नेपाली खेलाडीको आत्मविश्वास बढेको छ भने घरेलु समर्थक पनि निकै खुसी देखिन्छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले त भारतको विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) समेत खेलिसकेका छन् ।

अर्कोतिर, नेपालका थुप्रै फुटबल खेलाडी भारतमा व्यावसायिक लिग खेलिरहेका छन् । अहिले पनि नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी भारतको गोकुलम केरला एफसीबाट फुटबल खेल्दैछिन् । राष्ट्रिय टोलीकी मिडफिल्डर सुरु लिम्बु र रेनुका नगरकोटी किकस्टार्स एफसीबाट भारतीय महिला लिग खेल्दैछन् । यसका अतिरिक्त महिला फुटबल टोलीकी कप्तान एवं गोलरक्षक एन्जिला तुम्बापो पनि भारतीय महिला लिग क्लब सेथु एफसीमा आबद्ध भएकी छन् ।

भारतमा व्यावसायिक लिग खेल्ने नेपाली पुरुष फुटबल खेलाडीको इतिहास त झनै पुरानो छ । नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने टोलीका सदस्य नरेन्द्रमान सिंह, राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्का, नेपाली फुटबलका सेलिब्रेटी खेलाडीहरु रोहित चन्द, विमल घर्तिमगर, किरण चेम्जोङ, अनिल गुरुङजस्ता थुप्रै खेलाडी भारतमा व्यावसायिक लिग खेलिसकेका छन् ।

विश्व फुटबल महासंघ (फिफा)को पछिल्लो वरीयतामा समेत नेपालभन्दा भारत निकै अगाडि छ । पछिल्लो फिफा वरीयतामा नेपाल १७४औँ र भारत १०१औँ स्थानमा छ । यसदेखि बाहेक भौतिक पूर्वाधार, अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धि, खेलकुद प्रविधिजस्ता हरेक कुरामा नेपालको तुलनामा भारतीय खेलकुद निकै अगाडि छ ।

यस्तो अवस्थामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही जेठ १७ गते मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा जाँदैछन् । यसअघि पनि नेपालका थुप्रै सरकार प्रमुख र राष्ट्र प्रमुख विभिन्न राष्ट्रको औपचारिक भ्रमणमा गएका छन् ।

सदस्यसचिवले आफ्नो स्तरबाट प्रधानमन्त्रीलाई खेलकुदको विषयलाई ‘एजेन्डा’ बनाउन सुझाव दिए पनि त्यसले मूर्तरुप लिन्छ वा लिँदैन, त्यो भविष्यले देखाउला ।

तर, दुर्भाग्य नै भन्नु पर्छ, नेपालका कुनै पनि राष्ट्र प्रमुख वा सरकार प्रमुखको औपचारिक विदेश भ्रमणमा खेलकुद ‘एजेन्डा’ बन्दैन । यस्ता महत्त्वपूर्ण भ्रमणका बेला नेपालमा खेलकुद क्षेत्रको विकास गर्ने कुराहरू कहिले पनि छलफल र संवादको विषय बन्दैन । न त राष्ट्र प्रमुख वा सरकार प्रमुखको भ्रमण टोलीमा खेलकुद क्षेत्रका व्यक्तिलाई समावेश नै गरिएको हुन्छ ।

अहिले फेरि प्रधानमन्त्री प्रचण्ड भारतको औपचारिक भ्रमणमा जाँदैछन् । यसपटक पनि सम्भवतः नेपाली खेलकुदको विकासका कुरा प्रधानमन्त्रीको भ्रमणको ‘एजेन्डा’ बन्ने छैन । यद्यपि, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ आफूले खेलकुदका मुद्दाहरूलाई भ्रमणको ‘एजेन्डा’ बनाउन प्रधानमन्त्रीलाई सुझाव दिएको बताउँछन् ।

‘भारत भ्रमणका क्रममा नेपाली खेलकुदको विकासका मुद्दाहरूलाई पनि एजेन्डाको रूपमा समावेश गर्न मैले प्रधानमन्त्रीलाई सुझाव दिएको छु,’ सदस्यसचिव घिसिङले रातो पाटीसँगको कुराकानीमा भने, ‘सम्भवतः यसपटकको भ्रमणमा खेलकुद क्षेत्रको विकासको कुरा पनि एजेन्डाको रूपमा समावेश हुनेछ ।’

सदस्यसचिव घिसिङले भारत भ्रमणअघि आफूले प्रधानमन्त्रीलाई दुईवटा विषयमा कुरा उठाउन सुझाव दिएको बताए । उनले नेपाली खेलकुदको विकासका लागि राखेप र स्पोर्टस अथुरिटि अफ इन्डिया (एसएआई)बीच ‘लङ् टर्म’ द्विपक्षीय सहयोग आदानप्रदानको विषयमा कुराकानी गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।

‘भारतले विश्व खेलकुदमा निकै ठूलो फड्को मारेको छ । खेलकुद क्षेत्रको विकासमा उनीहरूको इतिहास पनि लामो छ । यस्तो अवस्थामा नेपाल र भारतले खेलकुद क्षेत्रका थुप्रै आयाममा हातेमालो गर्नसक्ने सम्भावना छ,’ सदस्यसचिव घिसिङले भने, ‘खासगरी राखेप र एसएआईबीच लङ् टर्म द्विपक्षीय सहयोग आदानप्रदानको प्रचुर सम्भावना छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यस विषयमा कुरा उठाउन सुझाव दिएको छु ।’

यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउँदा उनले जनकपुर क्षेत्रको विकासका लागि एक अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यो रकमबाट जनकपुरमा ‘राम—जानकी अन्तर्राष्ट्रिय रंगशाला’ निर्माण गर्न प्रस्ताव अगाडि बढाइएको छ । सदस्यसचिव घिसिङले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यो विषयलाई पनि ‘एजेन्डा’का रूपमा समावेश गर्न आफूले सुझाव दिएको बताए ।

सदस्यसचिवले आफ्नो स्तरबाट प्रधानमन्त्रीलाई खेलकुदको विषयलाई ‘एजेन्डा’ बनाउन सुझाव दिए पनि त्यसले मूर्तरुप लिन्छ वा लिँदैन, त्यो भविष्यले देखाउला । तर, अहिलेसम्म यस्ता उच्चस्तरीय भ्रमणमा खेलकुद क्षेत्रको विकास कहिले पनि ‘एजेन्डा’ को रूपमा समावेश भएको छैन ।

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले एकपछि अर्को सफलता हात पार्दै गएको छ । नेपालले यसअघि नै टीट्वान्टी विश्वकप समेत खेलिसकेको छ । फेरि पनि नेपाल विश्वकपको विश्वस्तरीय छनोटको तयारीमा ब्यस्त छ । समर्थकमाझ पनि क्रिकेटको छुट्टै ‘क्रेज’ छ ।

तर विडम्बना, नेपालमा क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन मिल्ने एउटा पनि सुविधासम्पन्न रंगशाला छैन । कीर्तिपुरस्थित क्रिकेट मैदानले नै सबै प्रतियोगिताको भार थेग्नुपर्ने अवस्था छ । कीर्तिपुर रंगशालामा समेत थुप्रै पूर्वाधारको अभाव छ । दर्शकले खुला आकाशमुनि बसेर खेल हेर्नुपर्ने अवस्था छ । एउटा सामान्य डिजिडल स्कोरबोर्डसम्म छैन ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ पनि राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको विदेश भ्रमणका बेला खेलकुद विकासका विषयहरू ‘एजेन्डा’ बन्नुपर्ने धारणा व्यक्त गर्छन् ।

यसको विपरीत भारत विश्व क्रिकेटकै हस्ती राष्ट्रमध्ये एक हो । भारतमा क्रिकेट खेलको इतिहास निकै लामो छ । क्रिकेट पूर्वाधारको मामलामा भारत विश्वकै अग्रणी स्थानमा आउँछ । भारतमा रणजी ट्रफीदेखि लिएर नियमित रूपमा क्रिकेटका थुप्रै प्रतियोगिताहरू आयोजना हुन्छन् । यसअघि नै विश्वकप आयोजना गरिसकेको भारतले आगामी एकदिवसीय विश्वकप पनि आयोजना गर्दैछ ।

यस्तो अवस्थामा हुन लागेको प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालमा क्रिकेटको भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने विषयलाई प्राथमिकताका साथ उठाउन सकिन्छ । नेपाली खेलाडीलाई भारतमा प्रशिक्षण दिने विषयमा समेत कुरा उठाउन सकिन्छ ।

Deepak Shrestha

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ पनि राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको विदेश भ्रमणका बेला खेलकुद विकासका विषयहरू ‘एजेन्डा’ बन्नुपर्ने धारणा व्यक्त गर्छन् । उनी निकट भविष्यमा हुन लागेको प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पनि खेलकुदलाई ‘एजेन्डा’को रूपमा समावेश गरिनुपर्ने बताउँछन् ।

‘हामी अहिले पनि अनुभव सँगाल्न ओलम्पिक खेल्छौँ । भारतले ओलम्पिकमा पदक नै जित्दै आएको छ । विश्व खेलकुदमा भारत पावर हाउसका रूपमा उदाउँदै छ । प्रधानमन्त्रीको स्तरबाट कुरा उठ्यो भने भारतले नेपाली खेलकुद क्षेत्रको विकासमा महत्त्वपूर्ण सहयोग गर्न सक्छ,’ श्रेष्ठ भन्छन् ।

नेपालबाट हुने उच्चस्तरीय भ्रमणका बेला राखेप र नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरुले खेलकुदलाई पनि ‘एजेन्डा’ का रूपमा उठाउन सुझाव दिनुपर्ने उनको धारणा छ । ‘यस्ता उच्चस्तरीय भ्रमणबाट देशको खेलकुद क्षेत्रले पनि लाभ लिनसक्नु पर्छ । तर, हाम्रा खेल पदाधिकारीहरू सुझाव दिन हिच्किचाउँछन्,’ श्रेष्ठको भनाइ छ ।

श्रेष्ठको विचारमा खासगरी अहिले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा प्रशिक्षण, प्रविधि र पूर्वाधारको सहयोग आदानप्रदानका लागि विषयमा कुरा उठाउन सकिन्छ । ‘अहिले नेपाली खेलकुदलाई आवश्यक भनेको पूर्वाधार, प्रविधि र प्रशिक्षणको हो । यसमा भारतले सहयोग गर्न सक्ने पर्याप्त सम्भावना छ,’ उनी भन्छन् ।

खेलाडी संघका अध्यक्ष श्रेष्ठका अनुसार, पछिल्लो समय एसिया कप क्रिकेटको विषयलाई लिएर भारत र पाकिस्तान आ—आफ्नो अडानमा कायम देखिन्छन् । राजनीतिक सम्बन्धका कारण भारत आफ्नो खेल टोली पाकिस्तान पठाउन चाहँदैन । भारतले प्रतियोगिता ‘न्युट्रल भेन्यू’ मा खेलाउनु पर्ने माग राख्दै आएको छ । अत्यधिक गर्मीका कारण सहभागी राष्ट्रहरू यूएईमा पनि खेल्न तयार देखिँदैनन् ।

यस्तो स्थितिमा नेपालमा क्रिकेट खेलको स्तरीय पूर्वाधार भएको भए यस्ता प्रतियोगिताको लागि नेपाल उपयुक्त गन्तव्य हुने थियो । नेपालको हावापानी पनि उपयुक्त छ । ‘दुर्भाग्य भन्नुपर्छ, नेपाली खेलकुद पूर्वाधारमै ठगिएको छ,’ श्रेष्ठ भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप