बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वेल्समा बन्दैछ नेपाली गाउँ

शनिबार, १३ जेठ २०८०, १८ : १६
शनिबार, १३ जेठ २०८०

लन्डन । बेलायतका नेपालीहरू यतिखेर वेल्समा नेपालको झझल्को मेटाउने ‘नेपाली भिलेज’  निर्माणमा जुटेका छन् । 

बेलायतको वेल्सस्थित ब्रेकन नजिकै रहेको टलीवन्टअस्कमा निर्माणाधीन नेपाली भिलेजमा नेपाल झल्किने संरचना निर्माण गरेर नेपाली कला संस्कृति तथा नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्य छ। 

सन् २०२२ मे २१ मा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र स्थानीय सांसद फे एलिसिया जोनसले नेपाली भिलेज यूके परियोजनाको औपचारिक उद्घाटन गरेका थिए ।

chautari

के के बन्दैछ नेपाली भिलेजमा ?

नेपाली भिलेज परियोजना पूरा भएको खण्डमा बेलायतमा मात्र नभई युरोपको पहिलो नेपाली संरचनाको संगमस्थल बन्नेछ । प्रवासमा पनि नेपाल र नेपालीको मौलिक पहिचान तथा कला संस्कृति झल्काउनुका साथै नेपालको आभास दिलाउने नेपाली संरचनाहरू निर्माण गरिनेछ । यसैगरी आफ्नो धर्म, संस्कृति र परम्परालाई जोगाएर राख्नु, पुरातात्त्विक महत्त्वका चाडपर्वलाई निरन्तरता दिएर यसको संवर्द्धन र प्रवर्धन गर्नाले सम्पूर्ण नेपालीलाई एकीकृत गर्न सहयोग पुग्नेछ ।   

तसर्थ नेपाली भिलेजमा नेपालका मौलिकपनलाई झल्काउने खालका संरचना स्थापना गरिनेछ । नेपाली शैली झल्किने नेपाली भिलेजको मूलद्वार (गेट) को निर्माण गरिने, पिपल र वरको रुख रोप्ने, जग्गाको भूवनोट हेरेर देउराली निर्माण गर्ने, भूमेथान, नेपाली सनातन परम्परा अनुसारको विवाह मण्डप, क्याम्पिङ एरिया, ढिकी, जांतो, योग शिविर (मेडिटेसन सेन्टर), पशुपतिनाथ र बौद्धनाथको निर्माण, बास्केटबल र भलिबल कोर्ट, पोखरी, ठेट नेपाली रेस्टुरेन्टका साथै होलिडेका लागि विभिन्न सुविधायुक्त संरचनासमेत निर्माण गरिनेछ ।

करिब डेढ लाख नेपाली रहेको बेलायत नेपाली कला संस्कृति र परम्पराको दृष्टिकोणले निकै धनी मानिन्छ । ‘मिनी नेपाल’ को रूपमा चिनिने हरेक वर्ष आयोजना गरिने नेपाली मेलामा पनि नेपाली मौलिकपनको आभास हुने गर्दछ । यसका साथै बेलायतवासी नेपालीहरूले आयोजना गर्दै आएका विभिन्न सांस्कृतिक कार्यक्रमले नेपालको कला, संस्कृति र परम्परालाई मात्रै हैन पर्यटन प्रवर्धनमा समेत ठुलो टेवा पुगेको छ ।

dharahara

बेलायतको वेल्सस्थित ब्रेकन नजिकै रहेको टलीवन्टअस्कमा निर्माणाधीन नेपाली भिलेजमा गत आइतबार परियोजनाको वार्षिकोत्सव भइरहंदा धरहराको स्वरूप, ढुङ्गेधारा, चौतारी लगायत नेपाली परम्परागत दैनिक प्रयोग हुने सामग्री राखिएको थियो । 

स्थापनाको एक वर्ष पुगेको अवसर पारेर गत २१ मे आइतबार आफ्नो पहिलो वार्षिकोत्सव मनाइएको छ । ब्रेकनबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसद फें जोनस्को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथि जेम्स एभन्स (एमएस वेल्स एसेम्ली) र नेपाली भिलेज यूकेका प्रमुख निर्देशक मेजर रिटायर्ड खुसीमान गुरुङ (एमभीओ) ले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । 

dhungedhara

कार्यक्रममा परियोजनाका सबै डाइरेक्टरहरू, उनीहरूका परिवार, स्थानीय बासिन्दा, बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधि, शेयरधनी लगायतको उपस्थिति थियो ।
 
प्रमुख अतिथि सांसद फें जोनसले परियोजनालाई आफ्नो तर्फबाट हरेक क्षेत्रमा सहयोग रहने बताउँदै आफ्नो क्षेत्रमा ‘नेपाली भिलेज’ बन्न लागेकोमा उत्साहित रहेको बताइन् । संसारकै साहसिक गोर्खालीहरूको संलग्नता रहेकोले अझ सुन माथि सुगन्ध थपिएको भन्दै उनले परियोजनाको सफलताका लागि शुभकामना पनि दिइन् ।

member

कार्यक्रममा परियोजना प्रमुख मेजर खुसीमान गुरुङ (एमभीओ) ले कार्यक्रममा धम्पुस ब्रेकन भगिनी सम्बन्ध समितिका अध्यक्ष, ब्रेकन टाउनका पूर्व मेयर संस्थापक शेयर होल्डर डेविड मेडरीथले नेपाली भिलेज यूके जस्तो ऐतिहासिक परियोजनामा आफू पनि सहभागी हुन पाएकामा खुसी हुँदै परियोजनाका लागी आगामी दिनमा आवश्यक हरेक प्रकारका सहयोग गर्ने वचन दिए ।

नेपाली भिलेज यूकेले परियोजना तीव्र गतिमा अगाडि बढाउने क्रममा दोस्रो चरणको शेयर नेपाली नयाँ वर्ष २०८० वैशाख १ गतेबाट खुलाएको छ ।२२७ शेयरबाट बढाएर ५०० पुर्‍याउने तय गरिएको नेपाली भिलेज यूकेको शेयर आउने अक्टोबर २०२३ को अन्तिमसम्मका लागि ५ हजार पाउन्ड नै राखिएको छ । जब योजना अनुसारको प्लानिङ एप्लिकेशन स्वीकृत हुन्छ त्यसपछि यसको शेयर आकासिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप