आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग संगठन मोरङको नवनिर्वाचित कार्य समितिको पदस्थापन

शनिबार, १३ जेठ २०८०, २० : ४३
शनिबार, १३ जेठ २०८०

विराटनगर । उद्योग सङ्गठन मोरङको नवनिर्वाचित कार्य समितिहरूको पदस्थापन भएको छ ।  ५० औँ साधारण सभाबाट निर्विरोध निर्वाचित भएका अध्यक्षलगायत पदाधिकारी र सदस्यहरूको शनिबार पदस्थापना भएको हो । 
निर्वाचन समितिका संयोजक सूर्य विमलीले अध्यक्षलाई तथा अध्यक्षले अन्य पदाधिकारी र सदस्यहरूलाई पद तथा गोपनियताको शपथ गराएका थिए । संगठनको अध्यक्षमा राकेश सुराना निर्विरोध निर्वाचित भएका छन् । 

२६ औँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा नन्द किशोर राठी, वित्तीय उपसभापतिमा राजकुमार गोल्छा, कृषि, ऊर्जा र जलश्रोत उपसभापतिमा भोलेश्वर दुलाल र रोजगार उपाध्यक्षमा विपिन कावरा पनि निर्विरोध चुनिएका छन् । त्यसै गरी कोषाध्यक्षमा सुबोध कोइरालासहित आठ जना सदस्य पनि निर्विरोध छानिएका छन् ।

त्यसैगरी सदस्यमा पारस लुनिया, इन्द्र खत्री, सौरभ सारडा, सुरेन्द्र गोल्छा, सुजन प्याकुरेल, दीपककुमार अग्रवाल र वीरेन्द्र राठी चुनिएका छन् । कार्यसमिति  थप तीन जना सदस्य अध्यक्षले मनोनीत गरेका छन् । जसमा प्रतिभा रिजाल, जयन्त शर्मा र सिद्धार्थ काभरा रहेका छन् ।

सङ्गठनमा वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने परम्परा भए पनि निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका सुपारी कारोबारमा विवादमा मुछिएपछि उनले उम्मेदवारी नदिँदा कार्यसमितिका सबै पदाधिकारी र सदस्य निर्विरोध चुनिएको थियो । 
२०२४ सालमा स्थापना भएको यो संस्थाको संस्थापक अध्यक्ष जुद्धबहादुर श्रेष्ठ हुन् । यो सङ्गठनमा सुनसरी मोरङ औद्योगिक क्षेत्रका २ सय ३५ उद्योग तथा प्रतिष्ठान आबद्ध छन् । 

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष सुरानाले दुई वर्षे कार्यकालमा गर्ने प्रतिवद्धना सुनाउँदै उनले नीजि क्षेत्र भोग्दै आएका उर्जा, वैंक तथा वित्तिय क्षेत्र, औद्योगिक पूर्वाधार, प्रकृयागत जटिलताको समस्या न्यूनीकरणका लागि सरकार र नीजि क्षेत्र वीच सहकार्य गरेर अगाडि बढने बताए ।

उनले वर्तमान समयमा उद्योग व्यवसाय क्षेत्रले सुख्खायाममा लोडसेडिङ तथा अन्य समयमा ट्रिपिङ, लो भोल्टेज, नियमित विद्युत आपूर्तिमा समस्या भोग्नु परिरहेको बताए । ‘औद्योगिक क्षेत्र विद्युत प्राधिकरणको मुख्य उपभोक्ता भएतापनि उपभोक्ता सरह व्यवहार नगरी यस क्षेत्रमा रहेको अत्यधिक समस्या समाधानतर्फ खासै तदारुकता नअपनाउने गरेको  विगतको अनुभव छ,’ उनले भने, ‘आर्थिक विकासको निर्विकल्पका रुपमा रहेका उद्योग क्षेत्रलाई सुख्खायाममा समेत गुणस्तरीय र नियमित विद्युत आपूर्तिका साथै पुराना र जिर्ण अवस्थामा रहेका पूर्वाधारको जिर्णोद्धार लगायतका कार्य गरी समस्या न्यूनीकरण गर्नेछु ।’  संगठनले यस अवधिमा उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरण एवं सरोकारवाला पक्षहरुका साथ विशेष पहल गर्ने उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप