शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको भारत भ्रमण

सिलुगुढी–चारआली पाइपलाइन निर्माण, अमलेखगञ्जदेखि लोथरसम्म विस्तार गर्ने सम्झौता हुने

आइतबार, १४ जेठ २०८०, १९ : ५०
आइतबार, १४ जेठ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा अन्तर्देशीय पेट्रोलियम पाइपलाइन बनाउने सम्झौता हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको सम्झौताको ड्राफ्टअनुसार नयाँ अन्तर्देशीय पेट्रोलियम पाइपलाइन सम्बन्धी हस्ताक्षर हुने भएको हो ।

आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीका अनुसार भारतले दुई वटा पेट्रोलियम पाइपलाइन निर्माण गरिदिनेछ । भारतले सिलुगुढीदेखि झापासम्म बन्ने पाइपलाइन र अमलेखगञ्ज–लोथर पाइपलाइन भारतले बनाउने गरी सम्झौताको तयारी छ ।

यस्तै, झापाको भण्डारण स्थल समेत भारतीय पक्षले बनाउने छ भने लोथरको भण्डारण स्थलचाँही नेपालले बनाउने सम्झौताको ड्राफ्ट बनिसकेको छ । यी दुई वटा पाइप लाइनको निर्माणमा भारतले १७ अर्ब रुपैयाँभन्दा बढी खर्चने निगमले बताएको छ । चितवनको लोथरमा बन्ने भण्डारण गृहको लागत नेपालले नै बेहोर्ने भएकाले भारतीय पक्षको लगानी १७ अर्ब हाराहारी हुने भएको हो ।

भारतको सिलुगुढीदेखि झापाको चारआलीसम्म बन्ने पाइपलाइन नेपाल र भारतबीच सञ्चालन हुने दोस्रो पाइपलाइन बन्नेछ । यसअघि, भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म पहिलो अन्तर्देशीय पाइपलाइन सञ्चालनमा आइसकेको छ ।

२०७६ सालमा भारतमा सम्पन्न नेपाल–भारत पेट्रोलियम तथा ग्याँस वर्किङ समूहको बैठकमा नेपाली पक्षले दोस्रो अन्तर्देशीय पाइपलाइन अध्ययनको प्रस्ताव राखेको थियो । सो प्रस्तावअनुसार ३५ किलोमिटर लामो पाइपलाइनबाट ल्याइने पेट्रोलियम पदार्थको भण्डारी गर्न चारआलीमा ६० हजार किलोलिटरसम्म क्षमताको भण्डारण स्थल समेत भारतीय पक्षले बनाउनेछ ।

यस्तै, पर्साको अमलेखगञ्जदेखि लोथरसम्म करिब ६२ किलोमिटर लामो पेट्रोलियम पाइप लाइनमा समेत भारतीय पक्षले लगानी गर्ने छ । चितवनको लोथरसम्म पाइपलाइन बिछ्याएर ९० हजार किलोलिटर क्षमतामा इन्धनको भण्डारण गृह बनाउने सम्झौता हुने छ । र, उक्त भण्डारण गृह भने नेपालले नै बनाउनुपर्ने सम्झौता हुने थानीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप