बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एलोन मस्कद्वारा चीनको ‘जीवन्तता’को प्रशंसा

बुधबार, १७ जेठ २०८०, २२ : ४२
बुधबार, १७ जेठ २०८०

बेइजिङ । विश्व प्रसिद्ध विद्युतीय कार कम्पनी टेस्लाका प्रमुख लगानीकर्ता एलोन मस्कले बुधबार चीनको ‘जीवनशक्ति र प्रतिज्ञा’ को प्रशंसा गरेका छन् । उनले चीन भ्रमणका क्रममा धेरै सरकारी अधिकारीहरूलाई भेटेका छन् र चीनमा आफ्नो व्यवसाय विस्तार गर्ने घोषणा गरेका छन् । 

विश्वका सबैभन्दा धनी व्यक्तिमध्येका एक खर्बपति तीन वर्षपछि पहिलो पटक चीन भ्रमणमा आएका हुन् । उनले बुधबार बेइजिङमा वाणिज्यमन्त्री वाङ वेनताओलाई भेटेर ‘चीनको विकासको जीवन्तता र सम्भाव्यता’को प्रशंसा गरेका थिए ।

मस्कले चीनको बजारमा पूर्ण विश्वास व्यक्त गर्दै पारस्परिक लाभकारी सहयोगलाई अझ गहिरो बनाउन इच्छुक रहेको बताएका छन् । उनले कोभिड–१९ महामारीको समयमा टेस्लाको साङ्घाई कारखानालाई प्रदान गरिएको सहयोग र ग्यारेन्टीका लागि चीनप्रति आभार प्रकट गरेका छन् ।

मस्कले मङ्गलबार विदेशमन्त्री किन गाङलाई आफ्नो कम्पनीले ‘चीनमा आफ्नो व्यापार विस्तार जारी राख्न इच्छुक रहेको’ बताएका थिए । मस्क र टेस्लाले यस यात्राको बारेमा कुनै औपचारिक जानकारी (विज्ञप्ति) जारी गरेका छैनन् । 

चिनियाँ सञ्चारमाध्यमका अनुसार टेस्लाले आफ्ना प्रमुख कार्यकारी अधिकृतलाई मङ्गलबार बेइजिङमा स्वागत गरेको थियो । मस्कले बुधबार बेइजिङमा उद्योगमन्त्री जिन झुआङलोङलाई भेटेर ‘नयाँ विद्युतीय सवारी साधन र ‘इन्टेलिजेन्ट कनेक्टेड भेहिकल’को विकास’ बारे छलफल गरेको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बुधबार साँझ उनी बेइजिङको राजधानीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो निजी विमानमार्फत् साङ्घाईका लागि प्रस्थान गरेका छन् । चिनियाँ स्रोतलाई उद्धृत गर्दै ब्लुमबर्गले भनेको छ, ‘बेइजिङपछि उहाँले साङ्घाईस्थित आफ्नो कारखानाको भ्रमण गर्नुहुन्छ र चिनियाँ प्रधानमन्त्री ली कियाङसँग भेटवार्ता गर्नुहुनेछ ।’ 

चीन विद्युतीय सवारी साधनका लागि विश्वको ‘सबैभन्दा ठूलो’ बजार हो । सन् २०१९ मा चीनमा कार उत्पादनका लागि लगानी गरेसँगै यसै बर्षको अप्रिलमा टेस्लाले साङ्घाईमा आफ्नो दोस्रो ठूलो कारखाना निर्माण गर्ने घोषणा गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप