गोल्छा ग्रुपले इन्डियन आयलसँगको संयुक्त लगानीमा नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना गर्ने
नयाँ दिल्ली। गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग संयुक्त लगानी गरि नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त ल्युब ब्लेन्डिङ प्लान्ट २०२४ को अन्त्यसम्ममा तयार हुने अपेक्षा गरिएको छ । र यसको लागि दुवै कम्पनीले ५०–५० प्रतिशत संयुक्त लगानी गर्ने सम्झौता भएको छ । यस संयुक्त लगानीको पहिलो चरण अन्तर्गत आधिकारिक पुँजी लगानी लगभग ६० करोड बराबर हुनेछ ।
आरम्भिक उद्योग स्थापना मात्र नभई यस संयुक्त लगानीले नेपालको बढ्दो अर्थतन्त्रको विकासका आवश्यकताहरू पूरा गर्न भविष्यमा विस्तार, रणनीतिक साझेदारी र उत्पादन लाइनहरूको विविधीकरणको परिकल्पना पनि गरेको छ । यस बारेमा बोल्दै गोल्छा ग्रुपका म्यानेजिङ डाइरेक्टर एवम् चेयरम्यान शेखर गोल्छाले भने, ‘भारतकै सबैभन्दा ठुलो कम्पनी इन्डियन आयलसँगको हाम्रो लामो सहयात्राको शुभारम्भ भएको छ ।
यो पहिलो खुड्किला हो र भविष्यमा अन्य थप उद्योग स्थापना गर्ने बृहत् योजना छ । यो सहकार्यले नेपाली उद्योगी र उद्योगको इतिहासमा एउटा महत्त्वपूर्ण कोसेढुंगा थपेको छ । हामी यो साझेदारी र यसले नेपालको औद्योगिक क्षत्रमा ल्याउने परिवर्तनलाई लिएर अत्यन्तै उत्साहित छौँ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण