आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
पुस्तक समीक्षा

सुखी जीवन जिउने कला सिकाउने कृति ‘धर्मदर्शन’

सोमबार, २९ जेठ २०८०, ०९ : ०१
सोमबार, २९ जेठ २०८०

कमल रिजाल आध्यात्मिक विषयमा कलम चलाउने लेखक हुन् । लामो समय पत्रकारिता क्षेत्रमा समर्पित रिजालको धर्मदर्शन नामक कृति बजारमा आएको छ । यसअघि पनि उनले थुप्रै कृति प्रकाशित गरिसकेका छन् ।  धर्मदर्शन धर्मलाई कर्तव्य, स्वाभाव र मानवतासँग जोड्न र दैहिक एवं मानसिक स्वास्थ रही सार्थक जीवन जिउन अभिप्रेरित गर्ने कृति हो । यसभित्र धर्मदर्शन, स्वास्थ्य दर्शन, स्वाभाव दर्शन, स्वधर्म दर्शन गरी चार खण्ड छन् । 

कृतिको धर्मदर्शन खण्डमा मानव शरीर रचना, शरीरमा लाग्ने रोग र उपचार पद्धतिका बारेमा सङ्क्षिप्त चर्चा छ । त्यस क्रममा रिजालले भनेका छन् ‘शरीर तीन किसिमले बनेको हुन्छ जसलाई स्थूल, सूक्ष्म र कारण भनिन्छ । तिनमा लाग्ने रोग पनि तीन किसिमका छन्, जसमा व्याधि, आधि र अविद्या पर्छन् । उपचार पनि तीन किसिमका छन् जसमा आसन, प्राणायम र ध्यान पर्छन् ।’ 

सपूृर्ण मानिसको मूल लक्ष्य भनेको सुख, शान्ति र आनन्द खोजी नै हो । यसैका लागि मानिस देश विदेश भौँतारिरहेका छन् । त्यस क्रममा उनीहरुले भौतिक सुविधा त पाएका छन् तर आत्मिक सुख पाउन सकेका छैनन् । त्यसका बारेमा यस खण्डमा चर्चा गरिएको छ । तर सुख, शान्ति र आनन्द अलौकिक हुन्छ भन्छन् रिजाल । अलौकिक आनन्द भनेको परब्रह्म परमात्मा हुन्, यो आनन्द क्षणिक हुने उनको तर्क छ । उनी लेख्छन्, “हामी सांसारिक सुखलाई सुख मन्दै आएका छौँ, जसले गर्दा कहिल्यै सुखी र आनन्दित हुन सकेका छैनौँ । किनभने यो क्षणिक हुन्छ तर हामीले खोजेको सुख त्यो होइन ।’ 

कृतिको दोस्रो खण्डमा स्वास्थ्य दर्शनबारे विस्तृत परिचर्चा गरिएको छ । मानिसले जीवनमा कला सिक्न सकेको खण्डमा तमाम दुःखहरूको निवारण गर्न सक्छ । यसमा आध्यात्मिक क्षेत्रबाट नै दुःख निवारण गर्न सकिने कुरा उल्लेख छ । यही आध्यात्मिक चेतनालाई नै उजागर गर्दै मानिसका दुःख निवारणका उपायहरू कृतिमा अध्ययन गर्न पाइन्छ । 

मानव जीवनका दुःख निवारणका लागि विभिन्न उपायहरू यस कृतिमा सुझाइएको छ । तीमध्येमा आसनलाई यस कृतिमा मुख्य मानिएको छ । आशनलाई उनले स्थूल शरीरसित सम्बन्धित विभिन्न रोगको उपचारका लागि अचुक औषधी भनेका छन् । आशनमा पनि उनले शवासनलाई महत्त्वपूर्ण मान्दै भनेका छन्, “शवासन सुतेर गरिने आशन हो । शवासन गर्दा जमिनमा सुतेर गरिने हुँदा यसबाट जीवननऊर्जा तरङ्गित हुँदै शारीरका प्रत्येक अङ्गमा विचरण गर्न थाल्छ, जसका कारण प्राणवायु सक्रिय हुन्छ ।” यस आशनमा शवको सन्देश, शवको सङ्केत, गर्ने विधि, त्यसबाट प्राप्त हुने लाभ आदिका बारेमा चर्चा छ । 

त्यसैगरी सुख प्राप्त गर्ने अर्को उपायका बारेमा उनले प्राणायामको चर्चा गरेका छन् । चर्चाका क्रममा प्राणायामको परिचय, भेद, नामहरू, प्रणायम गर्ने तरिकाका बारेमा बताएका छन् । 

यस्तै कृतिमा अनुलोम विलोम किन आवश्यक छ भनेर पनि चर्चा गरिएको छ । यसका पनि स्वास प्रश्वस गर्दा रेचक, पूरक र कुम्भक जस्ता चरण छन् । सास माथि तान्ने क्रियालाई पूरक, फाल्नेलाई रेचक र बन्द गर्ने क्रियाकलापलाई कुम्भक भनिएको छ ।

अनुलोम विलोमले शरीर स्वच्छ र मन निर्मल अनि बुद्धिलाई तीक्ष्ण बनाई मानिसलाई संसारप्रति सकारात्मक बनाउने कुरा यसमा छ । 

यस कृतिको स्वभाव दर्शन खण्डमा मानवीय स्वभावका बारेमा चर्चा गरिएको छ । काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य मानवीय स्वभाव हुन् । यिनको प्रयोग गर्न जानियो भने जीवन सुखमय हुने र प्रयोग गर्न नजानेमा दुःख पाइने लेखिएको छ । 

स्वधर्म दर्शन खण्डमा धर्मको बारेमा चर्चा गरिएको छ । धर्म समय र परिस्थितिअनुसार फरक फरक हुन्छ तर सामान्य धर्म भने हरसमय संसारका हरमानिसमा लागू हुन्छ त्यो नै स्वर्कम वा स्वधर्म भनिन्छ भनी चर्चा गरिएको छ । 

अतः मानिसले दुःख पाएको मात्र थाहा पाउँछन् । तर किन भनेर खोजी गर्दैनन् । दुःखको कारणबारे जानकारी दिई निराकणका उपायसमेत यस कृतिमा दिइएको छ । 

डा. नवराज लम्सालका अनुसार ‘दुःखको कारण संसार होइन, मन हो । मन बिग्रे बुद्धि बिग्रिन्छ, बुद्धि बिग्रे विचार बिग्रिन्छ, विचार बिग्रेपछि व्यवहार बिगिन्छ ।’ यसरी विचार नै बिग्रिएपछि दुःख पाइन्छ । त्यसैले मनमा आउने अनेक तर्कनालाई व्यवस्थित गरेर लैजान सके मात्र जीवन सुखी बन्ने कुरा यस कृतिमा चर्चा गरिएको छ । साझा प्रकाशनले प्रकाशित गरेको लघु आयामको यो कृतिले जीवनलाई सरल, सहज बनाउन सहयोग गर्छ । १८५ रुपियाँ मूल्यको यो कृति सबैका लागि उपयोगी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप