सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
मधेश प्रदेश

बजेट ल्याउने अन्तिम तयारीमा मधेस प्रदेश सरकार

सोमबार, २९ जेठ २०८०, १२ : ३५
सोमबार, २९ जेठ २०८०

धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि ल्याउने बजेटको तयारी गर्ने अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउने तयारी गरेको हो ।

प्रदेश सरकार अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले सरकारले आगामी आवका लागि करिब रु ३५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ । “चालू वर्षभन्दा आगामी वर्षमा बजेटको आकार घटेर आउने भएको छ”, उनले भने, “प्रदेश सरकारको रु २० अर्ब र सङ्घीय सरकारले दिने रु १५ अर्ब गरी करिब रु ३५ अर्बको बजेट ल्याउने तयारी भइरहेको छ ।”

सबै मन्त्रालयलाई पठाइएको बजेट सिलिङ र मार्गनिर्देशनको आधारमा बजेट निर्माण हुने उनको भनाइ छ । “अधिकांश मन्त्रालयको बजेट निर्माण अन्तिम चरणमा छ । सङ्घ सरकारले आगामी आवका लागि २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले बजेटको आकार घट्ने भएको हो”, अर्थ सचिव भट्टराईले भने ।
चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले रु ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो । 

गत मङ्गलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभामा एक सय ८९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन संसदमा छलफल भइ गत शुक्रबार सर्वसम्मतिले पारित भइसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप