आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

नेकपा ब्युँताउने बहस : कति सम्भव ?

प्रचण्ड र माधव पहल गर्दै, ओली ‘मौन’ !
बुधबार, ३१ जेठ २०८०, १८ : ५१
बुधबार, ३१ जेठ २०८०

काठमाडौँ । सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलाबाट औपचारिक रूपमा विभाजन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनः ब्युँताउन नेताहरूबीच बहस सुरु भएको छ । पछिल्ला केही दिनयता नेताहरू माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रूपमै समाजवादी केन्द्र हुँदै नेकपा ब्युँताउनुपर्ने आशयको अभिव्यक्ति दिएर बहसको थालनी गरेका हुन् ।

‘समाजवादी क्रान्ति सिधा र सरल हुँदैन, यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ । विचार राजनीतिमा व्यापक छलफल, ठुलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ,’ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार दाङ पुगेर भने,  ‘त्यो हाम्रै पहल र हाम्रै नेतृत्वमा हुन्छ ।’

प्रचण्ड त्यतिमा मात्रै रोकिएनन् र थप भने, ‘नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो । त्यो आत्मसमर्पण र विसर्जनको बाटो थिएन । समाजवादको आधार तयार पार्ने महान् उद्देश्यमा आधारित थियो । त्यसका लागि उक्त एकता गरिएको थियो ।’

प्रधानमन्त्रीसमेत रहेका प्रचण्डको यो भनाइले उनी नेकपाको आवश्यकताबोध गरिरहेका छन् भन्ने स्पष्ट बुझिन्छ । नेकपा ब्युँताउने कुरालाई प्रचण्डले समाजवादसँग समेत जोडेका छन् उनले भनेका छन्, ‘जनताको ठुलो हिस्सालाई संगठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न सकिँदैन, यसलाई सबैले गम्भीर रूपमा सोच्न जरुरी छ । देशका सच्चा वामपन्थी र कम्युनिस्टहरूबीच एकताका लागि व्यापक बहस चलाउँछौँ ।’

प्रचण्डले यस्तो आशय व्यक्त गर्नुअघि गत शनिबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि नेकपा ब्युँताउनुपर्नेमा जोड दिएका थिए । ‘हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन । कसैकसैलाई लागेको छ– एमाले ।  एमालेमा त आफैँ रुवावासी चलिरहेको छ । यदि हुन्छ भने हामी पुरानो पार्टी नेकपा फेरि ब्युँताउँछौँ, प्रचण्डजीलाई भन्छु म आउनुहोस्, हामी तयार हुन्छौँ, केपीजी तयार हुन्छन् ? नेपाल कम्युनिस्ट पार्टी नेकपा फेरि ब्युँताऔँ,’ शनिबार एकीकृत समाजवादी भक्तपुरको पहिलो जिल्ला अधिवेशनमा अध्यक्ष नेपालले भनेका थिए । त्यसो त अध्यक्ष नेपालले त्यसअघि पनि नेकपा ब्युँताउन प्रचण्ड र ओलीलाई सार्वजनिक रुपमै आह्वान गर्दै आएका हुन् ।

सार्वजनिक कार्यक्रममा नेताहरूले नेकपाबारे बहस छेडे पनि त्यसका लागि ठोस पहल भने कतैबाट नभएको ती पार्टीका दोस्रो तहका नेताहरूको भनाइ छ । तत्कालीन नेकपा विभाजन भएर बनेका तीनवटा पार्टी हाल अस्तित्वमा रहेका छन् । जसमध्ये नेकपा एमालेको नेतृत्व केपी शर्मा ओलीले गरेका छन् भने नेकपा माओवादी केन्द्रको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीको नेतृत्व माधवकुमार नेपालले गरिरहेका छन् । तीनमध्ये दुई पार्टीका अध्यक्ष प्रचण्ड र नेपालले नेकपा ब्युँताउने आशय व्यक्त गर्दा एमाले अध्यक्ष ओली भने मौन देखिन्छन् ।

‘राजनीतिमा असम्भव भन्ने त हुदैन । तर नेकपा ब्युँताउन तत्कालीन नेकपाका तीन नेताबीच कुरा मिल्नुपर्छ’, एमाले अध्यक्ष ओली निकट एक पदाधिकारी भन्छन्,‘तीन जनाबीच कुरा मिले असम्भव छैन । किनभने विचारमा कुनै नेताहरूबिच भिन्नता छैन । केवल एकले अर्कोलाई स्विकार्ने स्थितिको मात्रै अभाव हो ।’

तत्कालीन समयमा एउटै पार्टी नेकपाबाट फुटेर बनेका दुई पार्टी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी हाल सरकारमा छन् भने नेकपा एमाले प्रमुख प्रतिपक्षको हैसियतमा छ । २०७९ मङ्सिरमा भएको आम निर्वाचनपछि एमालेको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्ड हाल कांग्रेससहित अन्य दलको सहयोगमा सरकार चलाइरहेका छन् । नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सरकारको हिस्सेदारका रूपमा छ । तर सरकारमा एकीकृत समाजवादीको अस्तित्व नगन्यमात्रै रहेको छ ।

एमाले, माओवादी र समाजवादीका नेता के भन्छन् ?

नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ नेताहरूले नेकपा ब्युँताउने कुरा भाषण गरेर मात्रै सम्भव नहुने बताउँछन् । ‘यो भाषण गरेर हुने कुरा होइन । तर नेताहरूको बीचमा के कुरा भइरहेको छ त्यो मलाई थाहा भएन,’ गुरुङले भने, ‘प्रचण्ड र माधव नेपालले नेकपा ब्युँताउने कुरा गरेको मैले पनि सुनेँ । तर त्यसको आधार प्रस्ट छैन ।’

नेता गुरुङले मनैदेखि नेताहरूले नेकपाको कुरा गरेको भए स्वागतयोग्य रहेको पनि बताए । उनले नेताहरूलाई अप्ठेरो पर्दा एकताको कुरा गर्ने र अलि सहज भएपछि एकले अर्कोको खुट्टा तान्ने तथा पार्टी नै विभाजन गर्ने प्रवृत्ति गलत रहेको पनि बताए । ‘हाम्रा नेताहरू समस्या पर्‍यो वा अप्ठेरो भयो भने यसो गर्न पाए हुन्थ्यो भन्छन् तर अलिकति बलियो भएपछि निहुँ खोज्न थाल्छन्,’ गुरुङले नेताहरूको प्रवृत्तिको चर्चा गरे । उनले नेकपा ब्युँताउन तीन नेताबाहेक अन्य नेताहरूको भूमिकाको पनि आवश्यकता पर्ने भन्दै भने, ‘अन्य नेताहरूको भूमिका र शक्ति पनि चाहिन्छ ।’

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल नेकपा ब्युँताउँनु मुलुकको आवश्यकता भएकाले सोही अनुसार पहल भइरहेको र नेताहरूबाट अभिव्यक्ति आएको बताउँछन् । ‘नेताहरूबिच भेटघाट र छलफल भइरहेको छ, यो सकारात्मक कुरा हो,’ पौडेलले भने, ‘कि सक्किन तयार हुनुपर्‍यो होइन भने नेकपा ब्युँताउनुको विकल्प छैन ।’ 

उनले नेकपा ब्युँताउन विभिन्न तहमा कुराकानी भइरहेको पनि खुलाए । ‘विभिन्न तहमा कुराकानी भइरहेको छ । शीर्ष र त्यसबाहेक नेता नेताबीच पनि कुरा भइरहेको छ । ती कुराकानी सकारात्मक रूपमै अघि बढेका छन्,’ पौडेलको भनाइ छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका प्रवक्ता समेत रहेका नेता जगन्नाथ खतिवडा नेकपा ब्युँताउने कुरा सहज नभएको बताउँछन् । यद्यपि खतिवडा नेकपा केपी ओलीका कारण विघटन भएकाले ब्युँताउन पनि उनले साहस देखाउनुपर्ने बताउँछन् । ‘नेताहरूले नेकपा ब्युँताउने भनेको केपी ओलीको वाटर टेस्ट गर्ने भनेको हो । केपी ओलीको नसामा पानी कतिको छ, जाँच गर्ने हो’, खतिवडाले रातोपाटीसँग भने,‘मार्न सक्नेले ब्युँताउन सक्नुपर्छ ।’

नेकपा समाप्त गर्ने गल्ती केपी ओलीले नै गरेको भन्दै कम्युनिस्ट आन्दोलनलाई एक ढिक्का बनाउने रुचि पनि ओलीले नै देखाउनुपर्ने खतिवडाको भनाइ छ ।

एकीकृत समाजवादीका अर्का उपमहासचिव गंगालाल तुलाधर नेताहरूबिच औपचारिक अनौपचारिक रूपमा हुने भेटघाटका क्रममा एकताको चर्चा हुने गरेपनि नेकपा ब्युँताउने ठोस पहल भैनसकेको बताउँछन् । ‘औपचारिक र अनौपचारिक भेटघाटहरूमा मिलौँ भन्ने कुरा स्वाभाविक रूपमा हुने गरेको छ । त्यही अनुसार प्रचण्डजी र माधवजीले आफ्नो अभिव्यक्ति पनि दिनुभएको छ,’ तुलाधरले भने, ‘तर नेकपा ब्युँताउने कुरामा एमालेका साथीहरूले सम्भव नै छैन भन्ने गरेका छन् ।’  

विश्लेषक गौतम भन्छन्– आउँदो चुनावसम्म मिल्छन्

राजनीतिक विश्लेषक प्राध्यापक डा. राजेश गौतम भने केपी ओली, प्रचण्ड र माधव नेपालको पार्टीबीच कुनै पनि बेला एकता हुने विश्लेषण गर्छन् । तीन पार्टीबीच अहिले नै एकीकरण वा एकता नभएपनि आउँदो चुनावसम्म एकता भइसक्ने दाबी गौतमको छ ।

‘नेपालका कम्युनिस्टहरूको विश्वास नै छैन । यिनीहरू कुनै पनि बेला मिल्न पनि सक्छन् र फुट्न पनि सक्छन्,’ प्राध्यापक गौतमले रातोपाटीसँग भने, ‘तीन जना मान्छे भए भने पार्टी बनाई पनि हाल्छन् । त्यसैले अहिलेको स्थितिमा हेर्ने हो भने तीनवटै पार्टी एमाले, माओवादी र समाजवादीलाई पनि घाटा छ ।’ गौतमले तीनवटै पार्टीका नेताको दृष्टिकोण भनेको नेपालका कम्युनिस्ट मिलेर जाने हो भने राज्यसत्ता राम्रोसँग सञ्चालन गर्न सकिने भन्नेमा एकमत रहेको पनि बताए ।

‘यो दृष्टिकोणमा कसलाई के पद चाहिएको छ, फुट्नुको कारण पनि त्यही हो । त्यसैले यी सबै कुरा बुझेर यिनीहरू कुनै पनि बेला मिल्न सक्छन्’, गौतमले भने, ‘अहिले नमिले पनि एक वर्षपछि भए पनि वा आउने चुनावसम्म यिनीहरू मिलेरै जान्छन् भन्नेमा विवाद छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप