एनआरएनएको आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमानमा हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमानमा हुने भएको छ । बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित जुन २८ देखि ३० तारिखसम्म आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आयोजना गरिने जानकारी दिइयो ।
गैरआवासीय नेपाली संघको मध्य पूर्व क्षेत्रीय परिषद्को मुख्य आयोजना र राष्ट्रिय समन्वय परिषद् ओमानको अतिथ्यतामा सम्मेलन ओमानको मस्कटस्थित होटेल मस्कट होलिडेमा सम्मेलन हुनेछ ।
सम्मेलनमा नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारी, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया लगायतको उपस्थिति रहनेछ ।
मुख्यतया मध्यपूर्वमा रहेका नेपाली श्रमिकका सवाल, राष्ट्रिय अर्थतन्त्रमा ओझेलमा परेको उनीहरुको योगदान, श्रमिक र उनीहरुका परिवारको जीवनमा तात्विक परिवर्तन हुन नसकेको परिस्थितिलगायतका एजेन्डामा छलफल हुनेछ ।
सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली माझ स्थानीय भाषा र कानूनमा ज्ञानको कमी तथा सूचना अभावलगायत विविध कारणले जेलजीवन बिताउनुपरेको र काम गर्ने क्रममा गम्भीर दुर्घटनामा परी अंगभंग भएका श्रमिकका समस्या निराकरणका लागि सुझाव दिनेछ । वैदेशिक रोजगारीमा जाने नेपालीको जनचेतना वृद्धि र विदेशमा सिकेका ज्ञान तथा सीपलाई मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि सम्मेलनमा छलफल हुनेछ ।
विदेशस्थित नेपाली नियोगमार्फत विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैंकको स्थापना, कामदार र सरकारी निकायबीच समन्वय, वैदेशिक रोजगारीमा गएकाको लागि सञ्चयकोषको व्यवस्था गर्न पनि सम्मेलनले नेपाल सरकारको ध्यानाकर्षण गराउनेछ । सम्मेलनमा गैरआवासीय नेपाली समुदायको आवाज उठाउने र उनीहरूका समस्याहरूको समाधानका लागि नेपाल सरकारसँग संवाद स्थापित गर्ने उद्देश्यले राखिएको छ ।
श्रमिकका मुद्दा सम्बोधनका लागि नेपाल सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गर्न लागिएको यो सम्मेलन पूर्णतः श्रमिक केन्द्रीत हुने भएकोले उनीहरुका अभिव्यक्ति, अनुभव र विचार व्यक्त गर्ने अवसर समेत प्रदान गरिने एनआरएनएले जनाएको छ । सम्मेलनमा मध्यपूर्वसहित विभिन्न मुलुकका करीब ५०० जना प्रतिनिधिको सहभागिता रहने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वमा समिति गठन
-
एमआरपी कार्यान्वयनमा कडाइ, सुरुमा विरोध भए पनि लागू गर्दै छन् व्यापारी
-
वीरगञ्जस्थित बाल उद्यान अब शङ्खधर साख्वः उद्यान
-
किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
आइतबार कस्ताे रहला तपाईँकाे दिन ? हेराैं आजकाे राशिफल