मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
समाजवादी मोर्चा निर्माण अभियान

समाजवादी मोर्चामा बाबुराम र वामदेव किन समेटिएनन् ?

आइतबार, ०३ असार २०८०, १४ : १९
आइतबार, ०३ असार २०८०

काठमाडौँ । समाजवादी मोर्चामा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नसमेटिने भएका छन् । नेकपा माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र नेत्रविक्रम चन्द‘ विप्लव’ नेतृत्वको नेकपा गरी चार पार्टी मात्रै समेटिने भएका हुन् । चार पार्टी सम्मिलित समाजवादी मोर्चाको घोषणा सोमबार दिउँसो १ बजे राष्ट्रियसभामा हुने भएको छ । 

समाजवादी मोर्चा बनाउनुपर्ने वकालत गर्दै आएका बाबुराम र वामदेव गौतम नसमेटिने भएको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए । मोर्चा घोषणा भएपछि बाबुराम र वामदेवलाई समेत समेट्न सकिने श्रेष्ठको भनाई छ । बाबुरामलाई मोर्चामा ल्याउन जसपाका अध्यक्ष उपेन्द्र यादव अनुदार भएकाले समेट्न नसकिएको बैठकमा सहभागी अर्का एक नेताले बताए । ‘बाबुरामजीलाई समेट्न सबै सहमत हुनुहुन्थ्यो । उपेन्द्र जीले मान्दै मान्नुभएन’ ती नेताले भने, ‘अन्तमा बाबुरामलाई मोर्चामा समेट्न सकिएन । वामदेवले आफैँ चासो नदिएकाले समेटिनुभएन ।’ मोर्चा घोषणा भएपछि जोडिन  आह्वान गरिने भएकाले त्यतिबेला बाबुराम र वामदेव समेटिन सक्ने ती नेताले बताए ।  

भट्टराईलाई समाजवादी मोर्चामा समेट्न नेसपा र माओवादी केन्द्रका नेताहरू जोडतोडका साथ अझै लागेका छन् । तर, भोलिको मोर्चा घोषणा कार्यक्रममा बाबुराम समेटिने सम्भावना कम देखिएको छ । यदि मोर्चामा बाबुराम नसमेटिए माओवादीसँग एकता गरेर भए पनि बाबुरामलाई समेट्नु पर्ने माओवादीका एक नेताले बताए । ‘हामीले बाबुराम दाइ मोर्चामा नसमेटिए माओवादीसँग एकता गरेर भए पनि समेट्नुपर्छ भनेर सुझाव दिएका छौँ’ ती माओवादी केन्द्रका नेताले भने, ‘त्यसो भएमा दुबै पार्टीका नेता एक ठाउँमा हुने मोर्चामा समेत बाबुराम दाइ समेटिनुहुन्छ ।’

नेसपाका नेताहरूले माओवादी केन्द्रसँग एकता गरेरै भए पनि समेटिनुपर्ने भन्दै दबाब दिएका छन् । त्यसमा बाबुराम आफैँ तयार नहुँदा नेसपा नेता कार्यकर्ता अलमलमा परेका छन् । गत असार १ गते प्रधानमन्त्री प्रचण्डलाई भेटेर बाबुरामले समाजवादी मोर्चामा समेटिने बताएका थिए । प्रचण्डलाई भेटेर फर्किएपछि सामाजिक सञ्जाल ट्विटरमा लेख्दै बाबुरामले समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम र सङ्गठनात्मक विधि निर्माणमा लाग्ने बताएका थिए ।

‘प्रम पुष्पकमल दाहाल प्रचण्डसँग हालैको भारत भ्रमण, सङ्घीय बजेट, टीआरसी, लगायतका शान्ति प्रक्रियाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा विहङ्गम कुराकानी भयो’ बाबुरामले ट्विटरमा लेखेका थिए, ‘देशमा हालसम्म प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि वृहद समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, सङ्गठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भयो ।’  समाजवादी मोर्चाका विषयमा बाहिर चलेका हल्लामा नबग्न बाबुरामले सबैमा आग्रह गरेका थिए । समाजवादी मोर्चामा ल्याउन प्रचण्डसहित सबै नेता तयार भए पनि उपेन्द्र सहमत नभएपछि बाबुराम मोर्चा बाहिर हुने भएका हुन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप