बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

ट्रान्सपार्टीमा लागुऔषध ‘एलएसडी’ : राज गौतम मुख्य व्यवस्थापक

यसरी बरामद गरियो २ करोड २६ लाखको ‘एलएसडी’
आइतबार, १० असार २०८०, २० : १३
आइतबार, १० असार २०८०

काठमाडौँ । स्याङ्जाको चापाकोटमा एक वर्षअघि ट्रान्सपार्टी (लागुऔषधको पार्टी) आयोजना गरियो । ट्रान्सपार्टीमा लागुऔषध प्रयोकर्ताहरुले मात्रै प्रवेश पाउँछन् । सुराक नपाएमा प्रहरीको पहुँचबाट सो पार्टी टाढा हुन्छ ।

चापाकोटपछि काठमाडौंको नारायणस्थान र मकवानपुरको चित्लाङ्गमा ट्रान्सपार्टी आयोजना गरिएको तथ्य लागुऔषध नियन्त्रण ब्यूरोका अनुसन्धान अधिकृतले सुराक पाए । सो सुराक पछ्याउँदै जाँदा असार ५ र ६ मा लागुऔषध नियन्त्रण ब्यूरोले नेपालमा अहिलेसम्मको सबैभन्दा धेरै लागुऔषध ‘एलएसडी’ स्टिकर बरामद गरेको छ ।

एक महिना लामो अपरेशन चलाएर १० हजार १३१ थान लाइसर्जिक एसिड डाइथेरामाइड (एलएसडी) बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी गोविन्द थपलियाले रातोपाटीलाई बताए ।

एलएसडी भ्रम पैदा गर्ने सबैभन्दा शक्तिशाली ड्रग  हो । केमिकलमा घुलाएर स्टिकरमा टाँसेर कारोबार गरिने लागुऔषध ‘एलएसडी’ लाई अन्तर्राष्ट्रिय विमानस्थलमा मा प्रयोग हुने एक्सरे मेशिनले पनि ‘डिटेक्ट’ गर्न सक्दैन ।

‘सुराक आएपछि मात्रै पत्ता लाग्छ,’ ब्यूरोका एसएसपी थपलिया भन्छन्, ‘खान र बोक्न सजिलो हुने भएकाले नेपालमा पछिल्लो सयम सो लागुऔषधको कारोबार बढ्न थालेको देखिएको छ ।’

स्वास्थ्यका लागि निकै हानिकारक मानिने एलएसडीको असर ४८ घण्टासम्म रहन्छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार स्टिकरलाई जिब्रोमा राखेर चुसेर अथवा पसिना आइरहने शरीरको बाहिरी भागमा टाँसेर प्रयोगकर्ताले यसको प्रयोग गर्छन् ।

मुख्य व्यवस्थापक ‘बच्चन’

२०७५–०७६ मा धरानमा थोरै परिमाणमा एलएसडी भेएिको थियो । रेष्टुरेन्ट र रात्रि क्लवमा गएर प्रयोगकर्ताले एलएसडी खाने र नाच्ने गरेको सुनिन्थ्यो । तर, पछिल्लो समय बरामद ‘एलएसडी’ नेपाली बजारमै बेच्न ल्याएको अनुसन्धानबाट थाहा भएको प्रहरीको भनाइ छ ।

लाइसर्जिक एसिड डाइथेरामाइड (एलएसडी)लाई नेपालमा व्यवस्थापन गर्ने मुख्य कारोबारी हुन् राज गौतम उर्फ बच्चन । मोरङको बिराटनगर महानगरपालिका–१२ घर भएका २६ वर्षीय बच्चनले नै स्याङ्जाको चापाकोटमा ट्रान्सपार्टी आयोजना गरेका हुन् ।

बच्चन र चेक रिपब्लिक घर भएकी ३२ वर्षीया मार्टिना सेरना प्रेम सम्बन्धमा थिए । उनीहरुलाई चितवनबाट पछ्याएर पोखरा पुगेपछि पक्राउ गरिएको एसएसपी थपलियाले बताए ।

उनी भन्छन्, ‘बरामद गरिएको एलएसडी स्टिकर नेपालमै खपत गर्नेगरी ल्याएको अनुसन्धानबाट खुलेको छ ।’

बरामद ‘एलएसडी’ नेपाली बजारमा प्रति स्टिकर २ हजारको दरले बिक्री हुने गरेको अनुसन्धानबाट थाहा भएको छ । बरामद एलएसडीको बजार मूल्य २ करोड २६ लाख २ हजार हुन्छ ।

ब्यूरोको टोलीले एलएसडी कारोबार गरेको आरोपमा राज गौतम उर्फ बच्चन, उनकी प्रेमिका मार्टिन सेरना, काठमाडौँ महानगरपालिका–१८ घर भएका मुखिया गुरुङ, इटालियन नागरिक ३४ वर्षीय डेभिड मिनोदेओ र चन्द्रागिरि घर भएका २९ वर्षीय सुगम मैनालीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

कारोबारीहरुले सो लागुऔषध भारतबाट ल्याएको अनुसन्धानबाट खुलेको ब्यूरोका एसएसपी थपलियाले जानकारी दिए ।

७ थान स्टिकरबाट थालिएको अनुसन्धान

असार ५ मा सुगम मैनालीलाई ब्यूरोबाट खटिएको टोलीले नियन्त्रणमा लियो । मैनालीको साथमा ७ पिस एलएसडी भेटियो । त्यही ७ पिसबाट अनुसन्धान सुरु गरिएको एसएसपी थपलियाले जानकारी दिए । 

सुगमको बयानका आधारमा मुखिया गुरुङ पक्राउ परे । ४२ वर्षीय मुखिया काठमाडौँ महानगरपालिका–१८ का स्थानीय हुन् । लागुऔषध मुद्दामा २७ महिना जेल बसेर निस्केका गुरुङ लागु औषध कारोबारीको दुनियाँमा पुराना हुन् । अनुसन्धानमा संलग्न अधिकृतहरु भन्छन्, ‘मुखिया गुरुङ भन्नासाथ लागुऔषध आइस बेच्ने भनेर चिन्दा रहेछन् ।’

अनुसन्धानबाट सुगमलाई ७ पिस एलएसडी स्टिकर बच्चनले दिएको खुलेपछि प्रहरीले बच्चनलाई पछ्याउन थाल्यो । बच्चन र चेक रिपब्लिक घर भएकी ३२ वर्षीय मार्टिना सेरनालाई चितवनबाट पछ्याएर पोखराबाट पक्राउ गरिउको ब्यूरोका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए ।

बच्चनलाई ईटालियन नागरिक ३४ वर्षीय डेभिड मिनादेओले एलएसडी दिने गरेका थिए । कोरोना संक्रमणका कारण सुरु भएको लकडाउन अन्त्य भएपछि नेपाल आएका डेभिड नेपाल र भारत ओहोर दोहोर गरिरहन्थे । डेभिडले भारतबाट एलएसडी ल्याएको प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले रातोपाटीलाई बताए ।

के हो एलएसडी स्टिकर ?

लाइसर्जिक एसिड डाइथेरामाइड (एलएसडी) भ्रम पैदा गर्ने सबैभन्दा शक्तिशाली ड्रग हो । प्रहरीको विधि विज्ञान प्रयोगशालाका डीएसपी पवन ढुंगानाका अनुसार एलएसडी ‘भ्रमात्मक लागुऔषध’ हो । ढुंगाना भन्छन्, ‘एलएसडीले ४८ घण्टासम्म असर गर्छ ।’

‘एलएसडी महँगो लागुऔषध हो,’ डीएसपी ढुंगानाले रातोपाटीसँग भने, ‘एउटा स्टिकरको दुई हजार सम्ममा कारोबार हुन्छ ।’

धेरै वर्ष पहिले धरानमा लागुऔषध प्रयोगकर्ताले सो ड्रग सेवन गर्थे । त्यसबेला थोरै परिमाणमा आउने गरेको भए पनि पछिल्लो समय ठुलो परिमाणमा आउने गरेको भेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप