मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी पूरा

सोमबार, ११ असार २०८०, १३ : ४८
सोमबार, ११ असार २०८०

ओमान । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । सम्मेलन बुधबारदेखि जुन ३० सम्म ओमानको राजधानी मस्कटमा हुने तय छ ।  होलिडे मस्कट होटलमा हुने तय भएको सम्मेलनको तयारी पूरा भएको एनआरएनए मध्यपूर्वका संयोजक मनोज गोर्खालीले बताए । उनले यो सम्मेलनलाई उत्कृष्ट र अर्थपूर्ण बनाउन लागिपरेको पनि बताए ।

सम्मेलनमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहित श्रम मन्त्री  शरतसिंह भण्डारी, सरकारी अधिकारी, विश्वभरका एनआरएनए अभियन्ता, सञ्चारकर्मीलगायतको सहभागिता रहनेछ ।  यसपटकको मध्यपूर्व सम्मेलन विभिन्न अर्थमा विशेष रहने बताइएको छ । विशेष गरेर मध्यपूर्वका श्रमिक गैरआवासीय नेपालीहरुले लामो समयदेखि प्रतिक्षा गरेको सामाजिक सुरक्षा कोष नेपाल सरकारले हालैमा कार्यन्वयनमा ल्याएको अवस्थामा यसलाई थप प्रभावकारी बनाएर अघि बढ्ने बारेमा छलफल हुनेछ । यस कोषमार्फत वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुमा आर्थिक एवं सामाजिक सुरक्षाको प्रत्याभूति हुने स्पष्ट रहेको एनआरएनए उपाध्यक्ष आरके शर्माले जानकारी दिए । यस्तो कल्याणकारी योजनाको सफल कार्यान्वयनका बारेमा बृहत छलफल गरेर निष्कर्षमा पुगिने बताइएको छ । सम्मेलनका क्रममा एनआरएनए अभियन्ता र सरोकारवालाबीच अन्तरक्रिया र प्यानल डिस्कसन हुनेछ । यस्तै  सुरक्षित आप्रवासन नीति र अभ्यास प्रवर्द्धन, सामाजिक सुरक्षा कोषको कार्यान्वयन र प्रबर्द्धन,आर्थिक लगानीको वातावरण, अवसर र रेमिट्यान्सको सदुपयोग, बैदेशिक रोजगारीमा रहेकाहरुलाई मतदान अधिकारको प्रत्याभूति जस्ता विषय पनि छलफलको एजेण्डा रहेको छ । 

यस्तै पर्यटन आदानप्रदान कार्यक्रमको प्रवर्द्धन,  गैरआवासीय नेपालीहरुको सामुदायिक संलग्नता र सामाजिक एकीकरण,  मध्यपूर्वमा एनआरएनए अभियानको विकास एवं प्रवर्द्धन जस्ता विषय पनि छलफलको एजेण्डा रहेको छ ।  सम्मेलनका एजेण्डाहरुबाट अधिकतम परिणाम निकाल्नका निम्ति उचित छलफल र सवै अभियन्ताहरुको सक्रिय सहभागिता अति आवश्यक रहेको एनआरएनए मध्यपूर्वले जनाएको छ ।

सम्मेलनलाई ऐतिहासिक रुपमा सफल पार्न एनआरएनए मध्यपूर्वका संयोजक मनोज गोर्खाली, राजेन्द्र अर्याल, एनआरएनए आईसीसी उपाध्यक्ष डीबी क्षेत्री, एनआरएनए ओमानका अध्यक्ष बिकल झालगायत ओमानबासी नेपाली र मध्यपूर्वमा रहेका एनआरएनए अभियन्ताहरु सक्रिय रहेका छन् । सम्मेलनमा सहभागिताका लागि कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिएको छ । यसैबीच मंगलबार एनसीसी कतारले इद विशेष कार्यक्रमको आयोजना गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप