मुगुका स्थानीय तहले ल्याए दुई अर्बको बजेट
मुगु । जिल्लामा रहेका स्थानीय तहले रू दुई अर्ब बढीको बजेट सार्वजनिक गरेका छन् । मुगुका चारवटा स्थानीय तहले सङ्घीय, प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान र स्थानीय राजश्व सङ्कलन सहितको बजेट सार्वजनिक गरेका हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक वर्ष असार १० देखि स्थानीय तहले नीति तथा कार्यक्रमसहित बजेट अधिवेशन सुरु गरी मसान्तसम्ममा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ । सोही ऐन अनुसार यहाँका स्थानीय तहले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रस्तावित बजेटबारे गाउँरनगरसभामा छलफल अघि बढाएका छन् ।
खत्याड गाउँपालिकाको गाउँसभाले असार ८ गते १२ औँ गाउँसभा बैठकमा गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले प्रस्तुत गरेका नीति तथा कार्यक्रम पास गदै उपाध्यक्ष सरिता रोकायाले सार्वजनिक गरेको बजेटमाथि छलफल अघि बढाइएको छ । गाउँपालिकाका उपाध्यक्ष रोकायाले आर्थिक वर्ष २०८०–८१ का लागि रू ५४ करोड ५० लाख ६४ हजार चार सय ३२ बजेट गाउँसभामा प्रस्तुत गरेकी थिइन् । बजेटमाथि गाउँसभा बैठकमा छलफल भइरहेको र आगामी २७ गते बस्ने गाउँसभाले बजेट पास गर्ने उपाध्यक्ष रोकायाले जनकारी दिइन् ।
छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका र मुगुम कार्मारोङ गाउँपालिकाले असार १० गते नगर–गाउँसभा बैठक गरी नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका छन् । छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कामर भामले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सोही नीति तथा कार्यक्रममा रहेर उपप्रमुख ऐश्वर्या मल्लले आगामी आर्थिक वर्षका लागि १३ औँ नगरसभामा बजेट प्रस्तुत गरिन् । उपप्रमुख मल्लले आगामी आर्थिक वर्षका लागि रू ६० करोड ६९ लाख ४१ हजार चार सय ७२ बजेट प्रस्तुत गरेकी थिइन् ।
विकासका योजना, नगरपालिकाका नियमित योजना र गौरवका योजनामा बजेट बाँडफाँड गरिएको भन्दै बजेटमाथि छलफल भइरहेको उनले बताइन् । उनका अनुसार असार मसान्त अघि नै बजेट पास हुनेछ । सोरु गाउँपालिकाको १२ औँ गाउँसभामा अध्यक्ष धर्मबहादुर शाहीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् भने उपाध्यक्ष केशरबहादुर शाहीले आगामी वर्षका लागि बजेट प्रस्तुत गरेका थिए । गाउँसभामा उपाध्यक्ष शाहीले रू ४६ करोड ४६ लाख ४७ हजारको बजेट ल्याएका थिए ।
मुगुम कार्मारोङ गाउँपालिकाले नीति तथा कार्यक्रमका साथै बजेटसमेत बाँडफाँट गरी पास गरिसकेको छ । गाउँपालिकाको १२ औँ गाउँसभामा आगामी आवका लागि अध्यक्ष छिरिङ क्याप्ने लामाले ल्याएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उपाध्यक्ष छिरिङ फुटी लामाले प्रस्तुत गरेको रू ३८ करोड ४१ लाख ३७ हजार चार सयको बजेट सर्वसम्मत पारित गरेको छ । गाउँसभा बैठक असार १० र ११ गते चलेको थियो ।
विद्युतको पहुँचमा बाँकी रहेको वडा नं १ डोल्फु गाउँलाई सौर्य विद्युत्मा जोडी उज्यालो गाउँपालिका घोषणा गर्ने, ‘उत्प्रेरित शिक्षक जागरुक अभिभावक कार्यक्रम’ सञ्चालन गर्ने, प्रशासनिक भवन विस्तार, रैथाने बाली उत्पादन, प्रर्वद्धन र किसानलाई प्रोत्साहनका लागि बीउ दिने, स्वास्थ्य संस्थाको स्तरोन्नति, पर्यटकीय क्षेत्रको प्रचार र विकास, स्थानीय कला, सभ्यता, संस्कृती, भाषा, साहित्यको संरक्षण, मुगुम कार्मारोङ प्रज्ञा प्रतिष्ठानको संरचनागत सुरुवात, श्रम बैंकमार्फत सीप भएका बेरोजगार युवालाई एक सय ८० दिन रोजगारीको सुनिश्चता, स्थानीय बाल सरक्षण कोष स्थापना, सामाजिक सुरक्षा भत्ता घरदैलोमै बैंकिङ सेवा सुरु, वडा नं १, ३ र ४ मा इन्टरनेट सेवा विस्तार गर्नेलगायत विषयलाई प्राथमिकतामा राख्दै गाउँसभा सम्पन्न भएको सूचना सञ्चार तथा प्रविधि अधिकृत सोवेन्द्र मल्लले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा उपमहानगरको उपलब्धि : ४ वर्षमा १० किलोमिटर कालोपत्र सडक
-
नेदरल्यान्ड्स र मोरक्कोबिच प्रतिस्पर्धा सुरु
-
सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
-
मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण