मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

घट्दै रोपाइँको क्षेत्रफल

सोमबार, १५ असार २०८३, २२ : ५२
सोमबार, १५ असार २०८३

सारांश

  • गण्डकी प्रदेशमा धान रोपाइँको क्षेत्रफल घट्दै गएको छ।
  • जग्गा खण्डीकरण र पूर्वाधार विकासले क्षेत्रफलमा कमी आएको छ।
  • क्षेत्रफल घटे पनि उत्पादकत्व भने वृद्धि हुने अनुमान छ।

गण्डकी । गण्डकी प्रदेशमा धान रोपाइँको क्षेत्रफल बर्सेनि घट्दै गएको पाइएको छ । चार वर्षअघि ९७ हजार ७६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो । त्यसपछिको वर्ष रोपाइँको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टरमा समेटियो ।

गत आवमा ९४ हजार १८२ हेक्टरमा रोपाइँ भएकामा यस वर्ष जम्मा ९३ हजार ६०६ हेक्टरमा रोपाइँ हुने अनुमान प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गरेको छ ।

जग्गा खण्डीकरण, बाँझो छाड्ने प्रवृत्ति र खेतीयोग्य जमिनमा बस्ती तथा पूर्वाधार विकासले गर्दा धान खेतीको क्षेत्रफल घट्दै गएको मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ शशी अधिकारीले बताए । उनका अनुसार गण्डकीमा हालसम्म हालसम्म दशमलव २४.९० प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष यही अवधिमा २८.२० प्रतिशत रोपाइँ भएको थियो । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ ।

क्षेत्रफल घटे पनि समयमै वर्षात् र रासायनिक मलको उपलब्धता, धानमा प्रकोपजन्य रोग नलाग्नु, सिँचाइ सुविधा, उन्न बीउविजन आदि कारणले धानको उत्पादकत्व भने वृद्धि हुने गरेको छ । प्रतिकूल मौसम, मल अभाव, कमसल बीउविजन जस्ता कारणले धानको उत्पादकत्वमा ह्रास आउने कृषि अर्थ विज्ञ अधिकारीले बताए ।

प्रदेशको कूल चार लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धानखेती हुने गरेको छ । नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ ।

गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् ।

पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ । गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप