मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

चार दिनको समय दिँदै सरकार गठन गर्न प्रदेश प्रमुखको आह्वान

आइतबार, १७ असार २०८०, १९ : २५
आइतबार, १७ असार २०८०

विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान गरेका हुन् । खापुङले नयाँ सरकार गठनका लागि चार दिनको अर्थात् असार २१ गते अपराह्न ५ बजेसम्मको समय दिएका छन् । 

प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार गत शुक्रबार ढलेको थियो । त्यसपछि कानुनी परामर्शमा रहेका प्रदेश प्रमुख खापुङले सरकार गठनको आव्हान गरेका हुन् । यसअघि एमालेले संविधानको धारा १६८ को उपधारा (२) को प्रयोग भइसकेको भन्दै सोही धाराको उपधारा (३) अनुसार ठुलो दलको नेतृत्वमा सरकार गठनको आव्हान हुनुपर्ने दाबी गर्दै आएको थियो । प्रदेश प्रमुख खापुङलाई नेपाल सरकार महान्यायाधिवक्ताको कार्यालयले पनि संविधानको धारा १६८ को उपधारा २ अनुसार नै सरकार गठन गर्न राय सुझाव दिएको थियो । 

357990227_291978273229593_7037218402454442021_n

प्रदेश प्रमुखबाट सरकार गठनको आव्हान भएसँगै एमाले, काँग्रेस, माओवादीलगायतका दलहरू आफ्नै दलको नेतृत्वमा सरकार बनाउन दौडधुपमा लागेका छन् । कार्की नेतृत्वको सरकार ढलेसँगै एक पक्षीय, दुई पक्षीय छलफलमा रहेका दलहरूले आइतबार दिनभर काठमाडौँमा आ–आफ्ना पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । 

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नै पार्टीका नेताहरूसँग भेटघाट भए पनि अन्य दलका नेताहरूसँग कुनै छलफल र भेटघाट नभएको बताए । ‘भर्खरै सरकार गठनको आव्हान भएको छ,’ उनले भने, ‘अब समयमै नयाँ सरकार गठन गर्नेछौँ ।’

उता, नेपाली काँग्रेस कोशी प्रदेश समितिको पदाधिकारीको बैठक पनि काठमाडौँमा बसेको छ । उक्त बैठकले आफ्नै दलको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको काँग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताए । उक्त बैठकले आफ्नै दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय पनि गरेको उनले बताए । 

यस्तै नेकपा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि पार्टीका शीर्ष नेताहरूसँगको छलफलमा जुटेका छन् । उनले पनि राप्रपा र जसपालाई फकाएर पुनः आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत गरिरहेका छन् ।

हाल विपक्षीमा रहेका काँग्रेस, माओवादी, नेकपा (एस) र जसपाले भने गठबन्धन बनाएर सरकार गठन गर्ने जनाएका छन् । कुन पार्टीको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा भने ठोस निर्णय लिन भने शीर्ष नेतालाई जिम्मा दिएको काँग्रेस नेता राईले बताए । 

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ । माओवादी केन्द्रबाट निर्वाचित भएर सभामुख भएका बाबुराम गौतमलाई नजोड्ने हो भने गठबन्धनसँग जम्मा ४६ प्रदेशसभा सदस्य मात्रै हुन्छ । कांग्रेसका २९, माओवादी केन्द्रका १२ (सभामुख बाहेक), एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टी (जसपा) का एक जना सांसद छन् । प्रदेशसभाको सबभन्दा ठुलो दल एमालेसँग ४० सिट छ भने राप्रपासँग ६ जना सांसद छन् । एमाले र राप्रपा एकातिर र अन्य दल एकातिर भएको अवस्थामा भने नयाँ सरकार गठन भए पनि स्थिर हुने सम्भावना कमजोर छ । जसका कारण प्रदेशसभा विघटनको दिशामा जान सक्ने धेरैले अनुमान गरिरहेका छन् ।

प्रदेश मन्त्रिपरिषद्को गठन सम्बन्धी संवैधानिक व्यवस्था

१६८. प्रदेश मन्त्रिपरिषद्को गठन : 

(१) प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुनेछ । 

(२) उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ । 

(३) प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ । 

(४) उपधारा (२) वा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले त्यसरी नियुक्त भएको तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ । 

(५) उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ । 

(६) उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नु पर्नेछ । 

(७) उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभालाई विघटन गरी छ महिनाभित्र अर्को प्रदेश सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्नेछ । 

(८) यस संविधान बमोजिम भएको प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा मुख्यमन्त्रीको पद रिक्त भएको मितिले पैँतिस दिनभित्र यस धारा बमोजिम मुख्यमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्नु पर्नेछ । 

(९) प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेश सभाका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्री सहित प्रदेश सभाका कुल सदस्य सङ्ख्याको बिस प्रतिशत भन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्नेछ । 

स्पष्टीकरण : यस भागको प्रयोजनका लागि “मन्त्री” भन्नाले मन्त्री, राज्य मन्त्री र सहायक मन्त्री सम्झनु पर्छ । 

(१०) मुख्यमन्त्री र मन्त्री सामूहिक रूपमा प्रदेश सभाप्रति उत्तरदायी हुनेछन् र मन्त्रीहरू आफ्नो मन्त्रालयको कामका लागि व्यक्तिगत रूपमा मुख्यमन्त्री र प्रदेश सभाप्रति उत्तरदायी हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप