शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्खुवासभामा बाढीले बगाएको पुल चाँडो निर्माण गर्न मन्त्रीसमक्ष माग

शुक्रबार, २२ असार २०८०, २२ : ०८
शुक्रबार, २२ असार २०८०

काठमाडौँ । सङ्खुवासभामा आएको बाढीबाट क्षति पुगेको पुल चाँडो निर्माण गर्न माग गरिएको छ । सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज शहरी विकासमन्त्री सीता गुरुङलाई भेटेर यही असार २ गते आएको बाढीले हेवाखोला र पिलुवाखोलामा रहेका दुई वटा पक्की पुल बगाएको भन्दै उक्त पुल चाँडो निर्माण गर्न माग गरेको हो ।

भेटमा सांसद खड्काले बाढीले पक्की पुल बगाउँदा चैनपुर र पाँचखपनमा आवातजावतको समस्या भएको भन्दै चाँडो पुल निर्माणका लागि मन्त्री गुरुङको ध्यानाकर्षण गराएका हुन् । “सङ्खुवासभामा आएको बाढीले पक्की पुल र  झोलुङ्गे पुल बगाउनुका साथै १९ घर विस्थापित भएका छन्, पुल चाँडो निर्माण र विस्थापित जनतालाई चाँडो बासको व्यवस्था होस्”, उनले भने । 

उक्त बाढीपहिराले सङ्खुवासभाका १० वटा जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । भेटमा मन्त्री गुरुङले सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा बाढीपहिराले पुर्याएको क्षतिबारे सरकार जानकार रहेको भन्दै पुल निर्माणका लागि सरकारी टोलीलाई घटनास्थलमा खटाइसकिएको जानकारी दिए । “झोलुङ्गे पुल निर्माणको कामलाई तत्काल अगाडि बढाउँछौँ, बेलिब्रिज निर्माणका लागि आवश्यक निकायसँग सहकार्य गरेर चाँडो काम थाल्छौँ”, मन्त्री गुरुङले भने ।

उनले आगामी वर्षका लागि भैपरी आउने खर्च र बेलिब्रिजका लागि शहरी विकास मन्त्रालयले बजेट विनियोजन गरे पनि चालु आवका लागि भने बेलिब्रिज निर्माणमा केही जटिलता रहेकाले सम्बन्धित मन्त्रालयसँग सहकार्य गरेर काम अगाडि बढाइने बताए ।

भेटमा कांग्रेस सङ्खुवासभाका पूर्वसभापति जनक थापा, दीपनकुमार श्रेष्ठ, क्षेत्रीय सभापति दीपेन्द्रमान शाक्य, महासमिति सदस्य थलकुमार लिङ्खा, महाधिवेशन प्रतिनिधि दीपेन्द्र वान्तवालगायतको उपस्थिति रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप