शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
मूल्यवृद्धि

सुदूरपश्चिममा मूल्यवृद्धि चुलियो, उत्पादनमा आत्मनिर्भरताको नारा कागजमै सीमित

शुक्रबार, २९ असार २०८०, २२ : ००
शुक्रबार, २९ असार २०८०

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार र यस प्रदेशका स्थानीय पालिकाहरुले कृषि क्षेत्र लक्षित कार्यक्रम गर्दै आएका छन् । कृषिमा आत्मनिर्भर पालिकादेखि प्रदेश बनाउनेसम्मको अभियान सञ्चालन भए पनि कृषि तथा खाद्य पदार्थको मूल्य अकासिएको छ ।

धनगढीमा अहिले ब्रोइलर कुखुराको मासु प्रतिकिलो ४६० रुपैयाँ पुगेको छ । लोकल कुखुराको मासु प्रतिकिलो ९५० रुपैयाँमा विक्री भइरहेको छ । जिउँदो लोकल कुखुरा ७५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । अण्डा एक क्यारेटको मूल्य ४४० रुपैयाँ छ । मसिनो चामल प्रतिकिलो ११०, मोटो चामल प्रतिकिलो ८० रुपैयाँ पुगेको छ । दुधको मूल्य प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । खसीको मासु एक हजार २५०, बंगुरको मासु ४२०, माछा ४४० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । यो मूल्यदर हालसम्मकै उच्च हो ।

अर्थशास्त्रको सामान्य नियमानुसार वस्तु तथा सेवाको माग बढ्दा मूल्य बढ्छ भने माग घट्दा मूल्य घट्छ । सुदूरपश्चिम प्रदेशमा कृषि उत्पादकत्वमा गिरावट आउँदा स्वाभाविक रुपमा मूल्यवृद्धि भएको अर्थशास्त्रीहरुको भनाइ छ ।

अर्थशास्त्री एवं कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. राजेन्द्रवीर चन्दले सुदूरपश्चिममा मात्रै नभइ मुलुकमै मूल्यवृद्धि अकाशिएको बताए । उनले भने, ‘वास्तवमा हाम्रो आन्तरिक उत्पादन नै भएन । जसको असरले मूल्यवृद्धि भएको हो ।’

आर्थिक वर्षको अन्त्यमा पैसा बजारमा गएका कारण केही समयका लागि क्रयशक्ति बढाए पनि उत्पादकत्व नहुँदा पनि मूल्य बढेको उनको भनाइ छ । ‘यतिमात्रै होइन, यहाँ प्रवाह भएका ऋण पनि अनुपात्दक क्षेत्रमा बढी लगानी छ,’ उनले भने, ‘अर्कोकुरा, बस्तु तथा सेवाको करमा हुने वृद्धिले पनि बजारमा असन्तुलन आएको देखिन्छ ।’

सरकारी संयन्त्रले बजारमा प्रभावकारी रुपमा अनुगमन नगर्दा पनि कृत्रिम मूल्यवृद्धि हुने डा. चन्दले बताए ।

सुदूरपश्चिम सरकारले ‘कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश’ अभियान अन्तर्गत भटमास, ओखर, सुन्तला, स्याउ, अदुवा, खाद्यान्न, बिउ, दुध, मासु र अण्डामा आत्मनिर्भर गराउन सबै जिल्लामा कार्यक्रम सञ्चालन गरेको छ । तर योजना अनुसार काम हुन नसकेपछि त्यस्ता सामानको मूल्य बढेको हो ।

आर्थिक वर्ष २०८०/०८१ को बजेटमा पनि सुदूरपश्चिम सरकारले उत्पादनमूलक क्षेत्रमा सरकारी, निजी र सहकारी क्षेत्रको सहलगानी वृद्धि गरी समतामूलक आर्थिक विकासमार्फत ‘आत्मनिर्भरता उन्मुख समृद्ध सुदूरपश्चिम’को नारा दिइएको छ ।

सुदूरपश्चिममा उत्पादनको अवस्था

सुदूरपश्चिम प्रदेशमा २६ लाख ९४ हजार ७८३ जनसंख्या छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिव्यक्ति प्रतिवर्ष दुध ९१ लिटर, माछा तथा मासु १४ किलो र अण्डा ४८ गोटा आवश्यक पर्छ । तर प्रदेशमा प्रतिव्यक्ति प्रतिवर्ष दुध ८१ लिटर, माछा तथा मासु ११ किलो र अण्डा २२ गोटामात्रै उत्पादन हुने गरेको छ । सुदूरपश्चिम प्रदेशमा गाई र भैंसीबाट वार्षिक सरदर दुई लाख ४४ हजार लिटर दुध उत्पादन हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा ब्रोइलर, लेयर्स, लोकल कुखुरा, हाँस र अन्य जातका गरी पोल्ट्रीमा ३१ लाख ११ हजार विभिन्न जातका अण्डा दिने पन्छीको उत्पादन भइरहेको छ । ब्रोइलरबाट एक लाख ६४ हजार, लोकल कुखुराबाट एक लाख ९८ हजार र अन्य जातका पोथीबाट १७ हजार गरी तीन लाख ७९ हजार अण्डा वार्षिक रुपमा उत्पादन हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा भेडा ९९ हजार, बाख्रा १० लाख ७३ हजार, बंगुर पाँच लाख ७६ हजार, कुखुरा २९ लाख ८३ हजार, हाँस एक लाख २८ हजार, चौरी गाई एक हजार तीन र गधा पाँच हजार पाँच सय पालिएको छ । प्रदेशमा सामानको मूल्य बढ्नुका साथै माग बढे पनि व्यापार घट्दो क्रममा छ ।

आर्थिक सर्वेक्षणले चालु आर्थिक वर्षमा थोक तथा खुद्रा व्यापारको २.९१ प्रतिशतले ऋणात्मक हुने अनुमान गरेको छ । यो दर अघिल्लो वर्ष ७.३९ प्रतिशत थियो । कृषि क्षेत्रको वृद्धिदर समेत घट्दै गएको छ । २०७६/७७ देखि २०७८/७९ सम्म कृषि क्षेत्रको वृद्धिदर क्रमशः ४.५८, ३, २.०१ थियो । निरन्तर ओरालोमा रहेको कृषि क्षेत्रको वृद्धिदर चालु आर्थिक वर्षमा १.६७ प्रतिशत हुने अनुमान गरिएको छ ।

दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धिको प्रत्यक्ष असर निम्न वर्गका नागरिकमा परेको छ । राज्यले जसको समयमै व्यवस्थापन नगरे राष्ट्रिय संकट सिर्जना हुने अर्थशास्त्रीहरुको चेतावनी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप