बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

शिलान्यास गरिएको ठाउँमा अझै बनेन भानुभक्तको सालिक

शुक्रबार, २९ असार २०८०, २० : २२
शुक्रबार, २९ असार २०८०

जनकपुरधाम । जनकपुरको भानुचोकमा आदिकवि भानुभक्त आचार्यको सालिक बनाउन शिलान्यास गरिएको ठाउँमा अझै सालिक बन्न सकेको छैन ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले भानुभक्त आचार्यको सालिक बनाउन शिलान्यास गरेपनि मधेस दल केन्द्रित पार्टीका युवाहरुको विरोधले गर्दा अन्ततः निर्माण हुन सकेन ।

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती शुक्रबार देशभर धुमधामका साथ मनाइए पनि जनकपुरमा भने भानुको सालिक नहुँदा भानुजयन्तीको खासै रौनक देखिएन ।

भानुचोकमा उपमहानगरपालिकाले भानुभक्त आचार्यको सालिक शिलान्यास गर्दा मधेस केन्द्रित दलहरु जसपा, लोसपा र जनमत पार्टीका युवाको भ्रातृ संगठन र विद्यार्थी संगठनहरुले मधेसका सहिद रमेश महतोको सालिक बनाउनुपर्ने माग गर्दै चरणबद्ध रुपमा प्रदर्शन गरेका थिए । तर अहिलेसम्म भानुचोकमा न भानुभक्तको सालिक बन्यो, न त रमेश महतोकै ।

साविकमा आदिकवि भानुभक्त आचार्यको सालिक राखी उक्त स्थानलाई भानुचोक नामकरण गरिएको थियो । तर, मधेस आन्दोलन ताका आक्रोशित आन्दोलनकारीले भानुभक्तको सालिक भत्काएका थिए । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को बजेटमा त्यहाँ पुनः भानुभक्तको सालिक बनाउन योजना तर्जुमा गरी शिलान्यास गरे पनि अवरोधका कारण निर्माण कार्य अघि बढ्न सकेन ।

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, तरुण दल, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका विद्यार्थी संगठनहरुले जनकपुरधाम उपमहानगरपालिकाको मेयरलाई आदिकवि भानुभक्त आचार्यको सालिक बनाउन ध्यानाकर्षण गराएका थिए ।

नेपाली कांग्रेसका युवा नेता रामगुन यादवले मेयरको कमजोरीले आदिकवि भानुभक्त आचार्यको सालिक बन्न नसकेको आरोप लगाए ।

भानु जयन्तीको अवसरमा काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको रथयात्रामा जनकपुरधामका धरोहर वरिष्ठ साहित्यकार डा.राजेन्द्र बिमल र अनुसन्धात्मक लेखक डा. दायाराम श्रेष्ठ सवार थिए । यतिमात्रै होइन, जनकपुरधामका लेखक रोशन जनकपुरी, गायक सुनिल मल्लिक र रुवी कुमारी कर्णलाई सम्मान गरियो ।

ऐतिहासिक रामायणकालीन इतिहाससँग जोडिएको जनकपुरधाममा नेपाली भाषामा रामायणको अनुवाद गर्ने आदिकवि भानुभक्त आचार्यको सालिक नबन्नु दुर्भाय र दुःखद रहेको वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको भनाइ छ ।

उनले नेपाली राजनीतिको घृणा प्रतिकृया स्वरुप जनकपुरधाममा आदिकवि भानुभक्त आचार्यको अपमान भएको बताए । उनले भने, ‘अधिकारको क्षेत्रमा दमन भएको रिसमा र त्यसको भडास स्वरुप जनकपुरधामस्थित भानुचोकमा आदिकवि भानुभक्तको सालिक बन्न सकेन । यो नेपाली राजनीतिको घृणात्मक परिणाम हो ।’

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले भानुचोकमा भानुभक्तको सालिक नबन्दा खल्लो महसुस भएको बताए । उनले आदिकवि भानुभक्तलाई सम्मान दिनु जनकपुरधामको सम्मान र रामायणको सम्मान हुने बताए ।

मेयर साहले भने, ‘रामायणको जसले प्रचार ग¥यो, त्यसमा जनकपुरधामको वर्णन गरिएको छ । अब उनको त्यति ठुलो भूमिकालाई सम्मान गर्नुपर्छ ।’

मधेस आन्दोलनमा ज्यानको आहुति दिने सम्पूर्ण सहिदको सम्मानमा उपमहानगरपालिकाले सिङ्गो सहिदद्वार नै बनाएको उल्लेख गर्दै उनले स्रष्टाको सम्मानलाई पनि कदर गर्नुपर्नेमा जोड दिए ।

मेयर साहले भने, ‘जनकपुरधामको अन्य क्षेत्रमा सहिद रमेश महतोको सालिक बनाउन माग गरेमा म बनाउन तयार छु । तर भानुचोकमा भानुभक्तकै सालिक बन्नुपर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप